रेडक्रस सोसाइटीको जग्गा खरिदमा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, मध्यपुर थिमी-१ बस्ने उदयपुरका ७० वर्षीय सञ्जीव थापा र चाँगुनारायण नगरपालिका-५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु रहेका छन् ।

त्यस्तै, काठमाडौं बस्ने नुवाकोटका ५७ वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौँको बालाजु बस्ने ६७ वर्षीय इन्द्रबहादुर केसी पनि पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा नेपाल रेडक्रस सोसाइटीका लागि गोदाम घर सञ्चालन गर्न भक्तपुर नगरपालिका-४ मा खरिद गरिएको जग्गा बोलपत्रमा उल्लेखित सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत खरिद गरेको आरोप उनीहरूमाथि लागेको प्रहरीले जनाएको छ।

उक्त जग्गा खरिदका क्रममा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रुपैयाँ भुक्तानी गरिएकोमा त्यसबाट १ करोड ९३ लाख ७ सय ५० रुपैयाँ मध्यस्थकर्ता (बिचौलिया) ले लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, ५-१३-३-० क्षेत्रफलको जग्गा खरिद गरिएको भनिए पनि नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल यकिन गराउँदा फिल्डमा ५-६-२-१ मात्र रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।