जागिर खोजिदिने भन्दै जापानमा नेपालीमाथि बढ्दै छ ठगी, सिन्धुपाल्चोकका प्रज्वल पण्डितले ८० लाख ठगेको आरोप

मदन ढुङ्गाना

काठमाडौँ । जापानको ‘ब्याचलर भिसा’ नेपाली कामदारका लागि एउटा सुनौलो अवसरका रूपमा हेर्ने गरिन्थ्यो । स्किल्ड म्यानपावरको रूपमा ‘बिजनेस म्यानेजर भिसा’ भनी जापान पुगेका नेपालीहरू यतिबेला बेरोजगारीको चपेटामा मात्रै छैनन्, बरु जापान पुगेर पनि ठगिने क्रम बढ्दो छ ।

नेपालमै करिब २१ लाख रुपैयाँसम्म तिरेर कमाउने आसमा जापान पुगेका युवायुवतीहरू बेरोजगारी र ठगीको सिकार मात्रै भइरहेका छैनन्, कतिपय त कानुनी समस्यामा समेत फस्न थालेका छन् । यो ठगीको शृङ्खलामा कन्सल्टेन्सीदेखि जापानमै बस्ने नेपाली दलालहरूसम्म जोडिएका छन् ।

यस्तै ठगीको शृङ्खलामा जोडिएका व्यक्तिको नाम हो प्रज्वल पण्डित उर्फ कुल बहादुर पण्डित, जो यति बेला जापानमै बसेर ठगीको धन्दा चलाइरहेका छन् ।

‘प्रज्वल पण्डित’ को ठगी कथा

सिन्धुपाल्चोकका कुल बहादुर पण्डित उर्फ प्रज्वल पण्डितले जापानमा काम लगाइदिने नाममा ठुलो रकमको ठगीको धन्दा चलाउँदै आएको पाइएको छ । आफूलाई ‘प्रज्वल पण्डित’ भनेर चिनाउने उनले विभिन्न कन्सल्टेन्सी र व्यक्तिहरूबाट करिब ८० लाख रुपैयाँ ठगी गरेको जापानमै बस्ने केही नेपाली र नेपालका कन्सल्टेन्सीका सञ्चालकहरूले दियोपोस्टसँग गुनासो गरेका छन् ।

प्रज्वलको ठगीको सिकार बनेकामध्ये एक हुन्, जापानमै रहेका विकल लामा । लामो समयदेखि जापानमै बसेर आफ्नो पेसा तथा व्यवसाय गरिरहेका विकलले सुरुमा प्रज्वल जापान पुग्दा उनैलाई निःशुल्क काममा लगाएका थिए । तर पछि प्रज्वलले विकलसँग आफूले विभिन्न कम्पनीहरूमा काममा लगाइदिने गरेको बताएका थिए । यही क्रममा कोही मान्छे छन् भने भन्नुहोला, म काममा लगाइदिन्छु, तर केही रकम लाग्छ भनेका थिए ।

आरोपित प्रज्वल पण्डित भन्ने कुल बहादुर पण्डित

विकलले दियोपोस्टसँग भने, ‘त्यो भाइलाई पहिले म आफैँले काममा लगाएको हो । उसले ‘दाइ, मैले नेपालबाट मान्छे धमाधम आइरहेका छन्, उनीहरूको दुई-चार जनालाई कम्पनीमा हालिदिऊँ न’ भन्यो ।’

त्यसपछि विकलले आफ्नो साथीहरूको बनेपामा रहेको इन्स्टिच्युटबाट आएकाहरूलाई काममा लगाइदिन भन्दै प्रज्वललाई करिब ७ लाख ५० हजार नेपाली रुपैयाँ (८ मान जापानी येन) दिए । विकलले दियोपोस्टसँग भने, ‘मैले ५० मान त एकैचोटी दिएको हो । त्यो प्रमाण म सँग छँदै छ, त्यसबाहेक पनि पटक पटक गरेर मैले ८० मान दिएको छु । अझै मैले नै भनेर तेजेन्द्र कार्की भन्ने साथीबाट पनि १० मान हाल्न लगाएको छु ।’

तर प्रज्वलले काममा नलगाइदिएपछि विकलले पैसा फिर्ता माग्दा सम्पर्कमै नआउने गरेको विकलले गुनासो गरे । विकलले गुनासो गरे, ‘उसले मलाई धोका दियो । अहिले फोन पनि उठाउँदैन, सम्पर्कविहीन छ । उसको बुढीको पनि नम्बर छ, त्यो नम्बरमा फोन गर्दा बुढीले पनि फोन नै उठाउन छाडेको छ ।’

प्रज्वल पण्डितलाई पीडितहरुले पठाएका रकमका केही स्कृनसटहरु ।

विकल अब इमिग्रेसनमै उजुरी गर्ने कि नेपालमै ठगीको कसुरमा मुद्दा दिने भनेर अन्योलमा छन् । विकलले भने, ‘अब नेपाली भाइ हो, किन डिपोर्ट गराउनु भनेर उजुरी नगरेको । तर अब त उपाय नै छैन, अब कि इमिग्रेसनमा उजुरी गर्ने, कि नेपालमै मुद्दा हाल्ने गरी तयारी भएको छ ।’

प्रज्वलको ठगीको अर्को पीडित हुन्, दाङका नवीन शर्मा (परिवर्तित नाम) । नवीन पहिले जापानमै बसेर पछि दाङमा पुगेर कन्सल्टेन्सी चलाइरहेका व्यक्ति हुन् । आफ्नो कन्सल्टेन्सीबाट जापान जान लागेका व्यक्तिहरूलाई काममा लगाइदिने भनी प्रज्वलले आश्वासन दिएपछि नवीनले ती व्यक्तिहरूमार्फत नै प्रज्वललाई पैसा पठाइदिएका थिए ।

तर प्रज्वलले न नवीनले जापान पठाएका व्यक्तिलाई काममा लगाए, न त रकम नै फिर्ता गरे । बरु यो वा त्यो बहाना बनाएर टार्दै टार्दै आइरहेको नवीनले गुनासो गरे । नवीनले दियोपोस्टसँग भने, ‘काममा लगाइदिन्छु भनेपछि मैले रकम पठाएँ, तर उसले न काम दियो, न रकम नै फिर्ता गर्‍यो । एक जनासँग मुस्किलले २ लाख नाफा होला, तर काममा लगाइदिन्छु भन्ने व्यक्तिले नै तीन लाख खाइदिएपछि कहाँबाट नाफा हुनु ।’

नवीनले भने, ‘रकम फिर्ता गर्नु भन्दा गर्दिन भन्दैनन्, तर अधिकांश समय सम्पर्कविहीन नै हुन्छन् । पहिले पहिले उनको श्रीमतीसँग पनि कुरा हुन्थ्यो, अब त उनको श्रीमतीले पनि फोन उठाउन छाड्नुभएको छ । अब उपाय भनेको कानुनी प्रक्रियामै जाने मात्रै होला ।’

एक पीडितले प्रज्वलको बैंक खातामा पठाएको रकमको स्कृनसट र आरोपित प्रज्वल ।

त्यसै गरी दाङबाटै रोजगारीका लागि जापान पुगेकी उर्मिला विकलाई पनि प्रज्वलले ठगी गरे । काममा लगाइदिन्छु भनेर पहिले नै रकम लिएका प्रज्वलले काममा नलगाइदिएको र रकम फिर्ता माग्दा गाली गर्दै धम्कीसमेत दिने गरेको उर्मिलाले बताइन् ।

पीडितहरूका अनुसार प्रज्वलले जापानमै रोजगारीका लागि भनेर मात्रै होइन, ‘ब्याचलर भिसा’मा जापान जानेहरूलाई कामको ग्यारेन्टी भन्दै नेपालमै पनि आफन्तको हातमा नगद र बैंक खातामा समेत रकम जम्मा गर्न लगाएको बताएका छन् । तर रकम लिनेहरू पनि अहिले सम्पर्कविहीन भएको उनीहरूको आरोप छ । पीडितहरूले नेपालमै रहेकी प्रज्वलकी श्रीमती अम्बिका पण्डितको बैंक खातामा समेत रकम पठाएको बताउँदै रकम पठाएको प्रमाणहरूसमेत दियोपोस्टलाई पठाएका छन् ।

आफूलाई प्रज्वल पण्डित बताउने कुल बहादुर पण्डितको पासपोर्टको प्रति (पीडितबाट प्राप्त) ।

यस सम्बन्धमा जापानमा रहेका प्रज्वल पण्डित भनिने कुल बहादुर पण्डितसँग कुरा गर्न खोज्दा पटकपटक ब्यस्त भएको भन्दै एकछिनमा फोन गर्छु भनेपनि सम्पर्कमा आएनन् ।

‘ब्याचलर भिसा’को वास्तविकता ?

‘ब्याचलर भिसा’ नामले नेपालमा चिनिए पनि जापान सरकारको क्याटेगोरीमा यस्तो कुनै भिसा छैन । यो वास्तवमा ‘बिजनेस म्यानेजर भिसा’ हो, जुन जापानमा व्यवसाय सञ्चालन वा प्रबन्ध गर्न आउने विदेशी उद्यमीहरूका लागि हो । जापानी भाषामा यसलाई ‘गिजिनकोकु भिसा’ पनि भनिन्छ, जुन विशेष सीप वा दक्षता भएका व्यक्तिहरूलाई दिइन्छ ।

तर यस भिसाको अहिले व्यापक दुरुपयोग भइरहेको छ । जापानमा नेपाली समुदायलाई काममा लगाउने एक व्यक्तिका अनुसार, ‘ब्याचलर भिसा भनेर जापानमा आउने अधिकांशले एसएलसीसम्म मात्रै पास गरेका हुन्छन् । कति मान्छे त ८ कक्षा मात्रै पढेका पनि हुन्छन् । तर उनीहरूले नक्कली सर्टिफिकेट र कागजात बनाएर जापान जाने भएकाले उनीहरूले कानुनीरुपले उजुरी गर्न पनि सक्दैनन्, जसको कारण उनीहरू ठगीमा पर्दासमेत कानुनी उपचारको बाटो बन्द हुने गरेको छ ।

जापान पुगेकी एक नेपाली युवतीको एआईबाट निर्मित तस्बिर ।

जापानमा काम नै पाउन गाह्रो भने होइन, तर त्यसका लागि भाषा र सीप भने हुनै पर्छ । कम्तीमा ब्याचलर पास गरेको भनिएको व्यक्तिले क राम्रोसँग जापनिज भाषा बोल्न जानेका हुन्छन्, न त कस्टोमर डिलिङ नै राम्रो हुन्छ, जसका कारण उनीहरूले काम पाउन मात्रै होइन, पाएको काम पनि चाँडै नै गुमाइरहेका हुन्छन् ।

त्यसबाहेक ब्याचलर भिसा प्राप्त गरेकाहरू मध्ये ३ वर्षको भिसा प्राप्त गरेकाको ३ वर्ष बसेर काम गर्न पाउने अवस्था भए पनि एक वर्षको मात्रै भिसा प्राप्त गरेकाहरू एक वर्षमै फर्कनुपर्ने अवस्थामा पुगेका छन् । जापानमा रोजगारी दिने संस्था चलाइरहेका एक नेपाली भन्छन्, ‘भाषा, सीप र दक्षता केही नभएपछि काममा लगाएको एक सातामै कामबाट निकालिदिने समस्या छ । त्यसबाहेक नक्कली कागजात बनाएर नेपालीहरूलाई जापान पठाइन्छ, जसले पछि भिसा नवीकरणमा गम्भीर समस्या पैदा गर्न थालेको छ ।’

जापानको टोकियोमा रहेर नेपाली समुदायलाई काममा लगाउने ती एक एजेन्ट भन्छन्, ‘यहाँ त सक्कली कागजात हुँदाहुँदै पनि नक्कली सर्टिफिकेट बनाइन्छ किनभने सक्कली भयो भने पछि कानुनी झन्झट हुन्छ, नक्कली भयो भने उनीहरूले केस गर्न मिल्दैन ।’ यसले ठगीको जालो कति गहिरो छ भन्ने देखाउँछ ।

जापानमा बढ्दो छ ठगी

‘ब्याचलर भिसा’ को नाममा हुने ठगी मात्र होइन, नक्कली कागजात बनाएर ठुलो रकम लिएर जापान पठाउने गिरोह पनि सक्रिय छ । नेपाल प्रहरीले म्याग्दीकी दुर्गा भट्टचन र कास्कीकी लक्ष्मी जिसीलाई १७ लाख ५० हजार रुपैयाँ लिएर जापान पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । यी दुई महिलाले पीडितहरूलाई जापानमा आफ्नो रेस्टुरेन्ट रहेको र १२ लाखमा जापान पठाइदिने प्रलोभन देखाएका थिए ।

यस्तै अर्को घटनामा, गोरखाका केदारनाथ ढकालले जापान पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको थियो ।

त्यस्तै जापानमा रोजगारीमा लगाइदिने भनेर यसअघि नै ठगीको आरोप लागिसकेका नुवाकोटका प्रदीप भट्टको सम्बन्धमा समेत यसअघि नै सञ्चारमाध्यममा उजुरी आइसकेको थियो । यद्यपि उनले आफू पनि ठगीमा परेको बताउँदै आएका छन् ।

नयाँ नियमले थप्यो संकट

जापान सरकारले ‘बिजनेस म्यानेजर भिसा’को दुरुपयोग रोक्न अहिले केही कडा नियमहरू लागू गर्न थालेको छ । नयाँ नियम अनुसार अब अनिवार्य रूपमा जापानी भाषाको लेभल टु (जेएलपीटी लेभल २) वा सो सरहको भाषा परीक्षा पास गरेकै हुनुपर्ने नियम बनाएको छ । जबकि पहिले यस्तो भिसा प्राप्त गर्न एन फाइभ भाषा परीक्षा उत्तीर्ण गरे हुने थियो । साथै, कम्पनी सञ्चालनका लागि ३ करोड नेपाली रुपैयाँको लगानी भएकै हुनुपर्ने नियम बनाइएको छ । यसले गर्दा धेरै नेपालीको भिसा नवीकरणमा अब समस्या उत्पन्न हुने जोखिम छ । साथै जुन कम्पनीका लागि भनेर ल्याइएको हो, सोही कम्पनीबाटै तलब दिएको बैंक स्टेटमेन्टसमेत अनिवार्य गर्न खोजिएको छ र अन्य कम्पनीमा काम गर्नका लागि रोक लगाउन खोजिदैँछ । यसले अब नेपाली रेस्टुरेन्टमा रोजगारीका लागि भन्दै लैजाने बाटो पनि बिस्तारै बन्द हुन लागेको छ ।

कन्सल्टेन्सीबाटै सुरु हुन्छ ठगी धन्दा

विकल लामा जस्ता पीडितहरू मात्र होइनन्, जापानको ‘ब्याचलर भिसा’ को नाममा ठगिएका अन्य धेरै पीडितहरू छन् । काठमाडौँकै एक महिला सोह्रखुट्टेमा रहेको एक कन्सल्टेन्सीलाई २१ लाख रुपैयाँ तिरेर जापान आएकी थिइन्, तर उनी लामो समय बेरोजगार नै बस्नुपर्‍यो । उनले दियोपोस्टसँग भनिन्, ‘हामीलाई सुरुमा १२ लाख रुपैयाँ मात्र लाग्छ भनिएको थियो । तर पछि ३ वर्षको भिसा आएपछि वकिलको खर्च बढ्यो भन्दै १८ लाख मागियो । प्लास्टिक कम्पनीमा बिजनेस म्यानेजरको काम भनिएको थियो, तर रिसाइकल कम्पनी रहेछ । अत्यधिक श्रम गर्नुपर्ने काम भएकाले सबैका लागि सहज थिएन । मैले पनि उक्त काम गर्न सकिन ।’ त्यसपछि म लामो समय बेरोजगार नै बस्नुपर्‍यो । जापान आउँदा लिएको २१ लाख ऋणको ब्याजसमेत तिर्न सकिरहेको छैन ।’

त्यस्तै सोह्रखुट्टेको सोही कन्सल्टेन्सीबाट जापान पुगेकी श्रेष्ठ थरकी महिलाको हालत पनि उस्तै छ । उनलाई जुन कामका लागि भनेर पठाइएको थियो, उनले उक्त कम्पनीमा सोही काम नै पाइनन् । रोजगारीसमेत दिने भनेर पठाएको भए पनि कन्सल्टेन्सीले रोजगारी दिन सकेन, त्यसपछि उनले उक्त कन्सल्टेन्सीका सञ्चालकविरुद्ध नै प्रहरीमा ठगीको कसुरमा जाहेरी दिइन् । अहिले ती कन्सल्टेन्सी सञ्चालक नेपालबाट भागेर दुबईमा बसिरहेका छन् ।

ती पीडित महिलाले दियोपोस्टसँग भनिन्, ‘हाम्रो पैसा लुटेर त्यो मान्छे दुबईमा मस्ती गरिरहेको छ, यहाँ हामीहरू मर्नु न बाँच्नुको अवस्थामा छौँ ।’

सहज छैन जापान

जापानमा मासिक २ लाख रुपैयाँ कमाउन सकिने भए पनि महँगो जीवनशैली र खर्चका कारण कमाइको ठुलो हिस्सा दैनिक खर्चमै सकिन्छ । टोकियोको न्यूनतम तलब प्रतिघण्टा करिब १ हजार २२६ जापानी येन रहेको छ । तर महिनाभरको खाना, बास, यातायात र मोबाइल खर्च कटाएपछि धेरैको बचत न्यून हुन्छ । होस्टेलमा बस्नेहरूले मासिक कम्तीमा ४५ हजार येन (करिब ४५ हजार रुपैयाँ) खर्च गर्छन् । कमाई र खर्चको यो अन्तरले सपना बोकेर जापान आउने धेरैलाई निराश बनाइदिएको छ । मासिक २ लाख कमाउने व्यक्ति यदि होस्टेलमा बसेको भए बढीमा ७० हजार र एक्लै कोठामा बस्ने भए बढीमा ५० हजार रुपैयाँ मात्रै बचाउन सक्छन् । त्यस कारण कमाई ठुलो देखिए पनि खर्चका कारण बचत कठिन छ ।

सम्बन्धित खबर

सिफारिस