अख्तियारका तत्कालीन एसपीको मनपरी: संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर !

दियोपोस्ट संवाददाता

 

काठमाडौँ। २०८२ मंसिर ९ गते कथित उग्रवादी समूह नेपाल (ईजिएन) का प्रमुख प्रकाश पाठकले अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्की दिएका थिए। यही धम्की प्रकरणमा अख्तियारकै संस्थागत जाहेरीका आधारमा फिलिपिन्सबाट पक्राउ परेपछि जिल्ला अदालत काठमाडौंले पाठकलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

तर, तत्कालीन अख्तियारमै कार्यरत एक प्रहरी अधिकृतका कारण यो मुद्दामा असम्बन्धित पात्र, राज्यका उच्च ओहोदामा रहेका व्यक्ति, जेनजी अभियानकर्ता र प्रहरीकै उच्च अधिकारी विवादमा तानिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत तत्कालीन प्रहरी उपरीक्षक (एसपी) मोहन थापाको अनावश्यक हस्तक्षेपका कारण संगठित अपराधजस्तो गम्भीर कसूरको मुद्दामा अर्थसचिव, प्रहरीकै एसपी, जेनजी अभियानकर्ता र एक पत्रकारको मोबाइल नम्बर मिसिलमा संलग्न भएका छन्। घटनाका मुख्य अभियुक्त भनिएका प्रकाश पाठकले जिल्ला अदालतसमक्ष ‘अख्तियारको प्रहरीले समेत बयान लिने क्रममा करकापमा पारेको’ बताएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन एक अधिकारीका अनुसार थापाले बयानका लागि प्रश्नसमेत अख्तियारबाटै ड्राफ्ट गरेर पठाउने गरेका थिए। घटनामा संलग्न नभएका व्यक्तिको कल डिटेल र सीडीआर रिपोर्ट निकाल्न थापाले नै निर्देशन दिने गरेका थिए।

थापाको प्रत्यक्ष निर्देशनमा काठमाडौं प्रहरीले जिल्ला अदालतमा बुझाएको मिसिल तथा अभियोगपत्रमा अर्थसचिव घनश्याम उपाध्यायको मोबाइलबाट घटनामा संलग्न नै नभएको व्यक्तिलाई सम्पर्क गरेको विषयलाई समेत चार्ट बनाएर राखिएको छ। त्यस्तै, नेपाल प्रहरीका एक वरिष्ठ उपरीक्षकको मोबाइल नम्बर पनि मिसिलमा अपराधमा संलग्न भए जसरी नै राखिएको छ।

कान्तिपुर दैनिकका पत्रकार सुरज कुँवर र तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बीचको सम्पर्कलाई समेत संगठित अपराधको चार्टमा उपयोग गरिएको छ। तर, प्रहरीले कुँवरको बयान भने लिएको छैन। उनको मोबाइल नम्बर मात्रै राखेर संगठित अपराधमा संलग्न भएजसरी व्याख्या गरिएको छ। संगठित अपराधजस्तो गम्भीर कसूरमा संलग्न नै नभएका अन्य व्यक्तिको मोबाइल नम्बरसमेत अभियुक्तसरह अनुसन्धानको मिसिलमा संलग्न गरिएको देखिएको छ।

अर्थसचिव घनश्याम उपाध्यायको मोबाइल नम्बरबाट अन्य नम्बरमा पटक-पटक कल गरेको देखाइएपछि, उक्त नम्बर कुनै अपराधमा संलग्न नभए पनि उपाध्यायको नम्बर संगठित अपराधमा प्रयोग भएको जसरी मिसिलमा चार्ट बनाइएको छ। हाल लुम्बिनी प्रदेशमा कार्यरत तत्कालीन काठमाडौं प्रहरीका एसएसपी रमेश थापाको एकै ब्याची तथा प्रतिस्पर्धी अर्का एसएसपीको मोबाइल नम्बर पनि सोही सिलसिलामा जोडिएको देखाइएको छ। तर, उक्त नम्बरबाट संगठित अपराधको घटना घटाइएको पुष्टि नहँुदै प्रहरी अधिकारीको बदमासीले गर्दा उक्त नम्बरलाई मिसिलमा राखिएको देखिन्छ।

 

प्रदीप अधिकारी, घनश्याम उपाध्याय र जेनजी अभियानकर्ता अर्जुन शाहीबीचको संवादलाई पनि संगठित चार्टमा राखिएको छ। तर, उनीहरूबीच के कुराकानी भयो भन्ने उल्लेख छैन। त्यस्तै, प्रदीप अधिकारी, पत्रकार सुरज कुँवर र राइजिङ नेपालबीचको संवादलाई पनि प्रहरीले विश्लेषणमा राखेको छ, तर संवादको विषयवस्तु खुलाइएको छैन। केवल कुराकानी हुनुलाई मात्र अपराधको रूपमा पुष्टि गर्न खोजिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राहदानी खरिद-छपाईसम्बन्धी ठेक्काको छानबिनका क्रममा लापरबाही गरेको र अभियुक्तलाई भगाएको आरोपमा प्रहरी हेडक्वार्टर तानिएका थापा काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा रहँदा पनि विवादित थिए। उनले एक व्यवसायीलाई नक्कली जाहेरी र फर्जी मिसिल खडा गरेर फसाएको विषयमा उकेरा डटकममा भिडियो रिपोर्टसमेत प्रकाशित छ।

त्यस्तै, कास्कीको बाटुलेचौरस्थित लिची बगानको जग्गा अदालतको फैसलाअनुसार पीडित पक्षको नाममा ल्याउन सक्रिय पीडितहरूलाई नै थापाको समूहले प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको थियो। घुस लिन प्रत्यक्ष संलग्न रहेका तत्कालीन एमाले नेता बलराम अधिकारीलाई उन्मुक्ति दिएर मुद्दा अभियोजन गर्न थापाको प्रत्यक्ष भूमिका थियो। उनै थापाको संलग्नता भएपछि अख्तियारकै प्रमुख आयुक्तमाथि ज्यान मार्ने धम्की दिने व्यक्तिमाथि छानबिन मुद्दा नै विवादित बन्न पुगेको छ।

उपाध्यायकाे नम्बर प्रयाेग भएकाे जानकारी पाएपछि उनले तत्कालिन एसएसपी रमेश थापामाथि खनिएका थिए ।

सिफारिस