जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘सट गन’ सहित युवक पक्राउ

दियोपोस्ट संवाददाता

झापा । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ घर भई हाल दमक नगरपालिका-२ रतुवा बस्ने २० वर्षीय सुमन कर्ण रहेका छन् । उनलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा कर्णले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका-४ त्रिवेणी चोकस्थित खैरबारी क्षेत्रमा लुकाएर राखेको खुलेको प्रहरीले जनाएको छ।

सो स्थानमा रहेको अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका कर्णलाई पक्राउ गरी खोजतलास गर्दा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारी लुकाएर राखिएको अवस्थामा एक थान सट गन बरामद गरिएको हो।

प्रहरीका अनुसार उक्त सट गन कहाँबाट लुटिएको हो र आन्दोलनका क्रममा हतियार कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।