शवबाट सुनको मुन्द्रा तान्ने दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

चितवन ।  नदीको बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार अपराह्न सो घटनामा संलग्न दुई जना आरोपितलाई पक्राउ गरेको हो ।

भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिको विपत्तिमा बगेर आएका शवको उद्धार नगरी कानमा लगाएको सुनको मुन्द्रा मात्र लुटपाट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि चितवन प्रहरीले उक्त घटनामा संलग्नको खोजी सुरु गरेको थियो ।

खोजीमा क्रममा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका १ स्थायी ठेगाना भई हाल चितवनको भरतपुर महानगरपालिका १, लीला चोकमा रहेको मामाघरमा बसोबास गर्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका ५ स्थायी ठेगाना घर भई हाल चितवनको भरतपुर महानगरपालिका २ पोखरा बसपार्कमा बस्ने ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

पक्राउ परेका आरोपितहरु ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले दुवै जनालाई पक्राउ गरिएको पुष्टि गर्दै भने, ‘भिडियोको आधारमा प्राविधिक र स्थलगत अनुसन्धान गर्दै जाँदा आज उनीहरूलाई भरतपुरको पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिइएको छ ।’

प्रहरीले भिडियोमा देखिएकै व्यक्तिहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

एसपी पौडेलले विपत्तिमा परेका पीडित र मृतकप्रति यस्तो अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्ने बताउँदै भने, ‘शवको उद्धार नगरी गहना निकाल्ने कार्य अत्यन्त निन्दनीय छ। यस घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइनेछ।’