
काठमाडौँ । बुद्ध एयरले विपद्को अवधिभर हवाई भाडामा कुनै परिवर्तन नगर्ने जनाएको छ । बुद्ध एयरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विपद्को अवधिभर भाडा वृद्धि नगर्ने बरु ३ सय रुपैयाँ छुट दिने बताएको हो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको विषम परिस्थितिलाई हेरेर हवाई भाडामा कुनै वृद्धि नगरिएको बताए । बरु पहिलेकै भाडामा बुद्ध एयरकै मोबाइल एप वा वेबसाइटबाट टिकट खरिद गरेमा ३ सय रुपैयाँ छुट पाइने कर्णले बताए ।
सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरले राहतको सामाग्री निशुल्करुपमा ढुवानी गर्ने व्यवस्था मिलाएको बताएका छन् । अन्य जिल्लाबाट काठमाडौं लगायतका स्थान हुँदै राहतका सामाग्री ल्याउनुपरेमा निशुल्करुपमा हवाई ढुवानी हुने समेत कर्णले बताए ।
पहिलेकै सस्तो भाडामा टिकट उपलब्ध
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले हवाई भाडा विपद्अघिकै भाडा दरमा कायम राखिएको बताएका छन् । यद्यपि रिफन्डेबल र नन रिफण्डेबल टिकटको हकमा भने मूल्यमा फरक पर्न सक्ने उनले बताए ।
बुद्ध एयरको यसअघिको काठमाडौं-भरतपुरको हवाई भाडा ५ हजार ७३१ रुपैयाँ थियो । अहिले त्यहाँ कुनै क्लास नै नराखी सबै टिकटहरू ५ हजार ७३१ रुपैयाँमै विक्री भइरहेको छ । भरतपुरको टिकट खरिद गरेका ग्राहकले कुनै कारणवश जान नपाएमा उक्त रकमसमेत फिर्ता हुने गरी अर्थात् रिफण्डेबल टिकट जारी हुनेछ । साथै बुद्ध एयरकै मोबाइल एप्लिकेसन्स वा वेभबाट टिकट खरिद गरेमा ३ सय रुपैयाँ छुट हुनेसमेत बताइएको छ । यसरी बुद्ध एयरकै सिस्टमबाट भरतपुरको टिकट खरिद गरेमा ५ हजार ४०० रुपैयाँमै टिकट प्राप्त हुनेछ ।
त्यसै गरी काठमाडौं-पोखराको उडानको नियमित भाडा सस्तोमा ५ हजार ७०० रुपैयाँ कायम गरिएको छ भने महँगो अर्थात् रिफण्डेबल टिकटको भाडा ८ हजार २०० रुपैयाँ कायम गरिएको छ । यो मूल्य विपद्अघिकै मूल्य भएको एयरलाइन्सले जनाएको छ ।
बुद्ध एयरको वेभ पेजमा रहेको व्यवस्था अनुसार काठमाडौं-पोखरा रुटमा विभिन्न क्लास निर्धारण गरिएको छ जहाँ इको, चार्ली र डेल्टा क्लासका हवाई टिकट नन रिफण्डेबल रहेका छन् जसको भाडा न्यूनतम ५ हजार ७०० रुपैयाँबाट सुरु हुन्छ ।
केही रकम कटाएर फिर्ता हुने ब्राभो क्लासको भाडा ७ हजार ४५० कायम गरिएको छ भने अल्फा श्रेणीको भाडा ७ हजार ९४० रुपैयाँ राखिएको छ । पूरै फिर्ता हुने यांकी श्रेणीको भाडा भने ८ हजार २७६ रुपैयाँ कायम गरिएको छ ।
त्यसै गरी विपद्पछि बढी चाप भएको काठमाडौं-भैरहवा उडानको हवाई भाडामा पनि कुनै परिवर्तन नगरिएको एयरलाइन्सले जनाएको छ । भैरहवाको उडानमा पहिले पनि एकतर्फी भाडा ६ हजार २०० रुपैयाँ रहेको र अहिले पनि त्यही भएको एयरलाइन्सले जनाएको छ । तर श्रेणी अनुसार मूल्यमा फरक हुने सूचना अधिकारी कर्णले बताए । भैरहवाका लागि पूरै रकम फिर्ता हुने यांकी क्लास अर्थात् महँगो भाडा भने १० हजार ५९० रुपैयाँ कायम छ ।

अहिले वेभसाइटहरुमा सस्तो टिकटदेखि महँगो टिकटसमेत उपलब्ध भइरहेको कम्पनीले जनाएको छ । सस्तो टिकट काटेर कुनै व्यक्ति उडान भर्न नसकेमा उसले एयरपोर्ट सर्भिस चार्ज मात्रै फिर्ता पाउने हुन्छ । सबैभन्दा महँगो टिकट खरिद गरेको अवस्थामा भने उडान भर्न नसक्दा सबै रकम फिर्ता पाउने हुन्छ ।
बुद्ध एयरले आफ्ना सबै गन्तव्यमा उडान भर्दा कम्पनीकै मोबाइल एप वा वेभ भर्सनबाट टिकट खरिद गरेमा ३ सय रुपैयाँ छुट रहेको जनाएको छ ।
विपद्पछि बुद्ध एयरले धेरै माग भएको गन्तव्यहरू भरतपुर, पोखरा र भैरहवामा अतिरिक्त उडानको समेत व्यवस्था गरेको जनाएको छ ।
सरकारले कर हटाए वा घटाए भाडा अझै सस्तो हुन्छ: कर्ण
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले तत्कालका लागि निश्चित गन्तव्य वा सबै गन्तव्यमा सरकारले एयरपोर्ट सर्भिस चार्ज हटाएमा कम्तीमा ५ सय रुपैयाँ सस्तो पर्नेछ । किनभने अहिले सरकारले आन्तरिक हवाई उडानका लागि एयरपोर्ट सर्भिस चार्ज भनेर प्रति प्यासेन्जर ५ सय रुपैयाँ लिइरहेको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विपद्को समयमा सरकारले कम्तीमा विमानस्थल सेवा शुल्क हटाइदिएमा भाडा सस्तो हुने बताए । कर्णले दियोपोस्टसँग भने, ‘अहिले सबैले भाडा महँगो भयो भनिरहनुभएको छ । वास्तवमा भाडा त बढाएको होइन, तर बाध्यतामा जहाज चढ्नुपर्दा बसको तुलनामा भाडा महँगो नै छ । त्यस कारण सरकारले तत्कालका लागि विमानस्थल सेवा शुल्क मात्रै निलम्बन गर्दा पनि कम्तीमा ५०० रुपैयाँ भाडा सस्तो पर्छ, सरकारले त्यतातिर ध्यान दिन जरुरी छ ।’
कर्णका अनुसार सरकारले तत्कालका लागि फ्यूल सर चार्ज र अन्य शुल्कहरूमा छुट दिन सके भाडा निकै कम हुनेछ । विपद्को समयमा सरकारले हवाई इन्धन सहज सुलभ दर, ल्यान्डिङ, पार्किङ लगायतका शुल्क घटाइदिने हो भने भाडा धेरै सस्तो हुनेछ । तर महँगो हवाई इन्धन, महँगो शुल्कहरू तिर्नुपर्दा अहिले भाडा महँगो नै लाग्ने गर्छ ।’
कर्णले अगाडि भने, ‘बाहिर कसले कतिमा टिकट विक्री गरिरहेको छ, हामीलाई थाहा नै हुँदैन । बरु कसैले महँगोमा टिकट बेचेको छ भने हामीलाई खबर गरिदिनुहोस्, हामी नै कारबाही गराउँछौँ ।’
कर्णका अनुसार अहिले सस्तो मूल्यमै सबै टिकट खरिद गर्नसमेत सकिने व्यवस्था छ । तर कसैले रिफन्डेबल टिकट लिन चाहेको अवस्थामा मात्रै टिकट महँगो हुने र सस्तो टिकट सीमित गरेर महँगो टिकट किन्न बाध्य पारिएको कुरामा कुनै सत्यता नभएको बताए ।
कर्णले दियोपोस्टसँग भने, ‘तपाईँले न्यूनतम मूल्यमै टिकट पाउनुहुनेछ, तर त्यो नन रिफण्डेबल टिकट हुनेछ । कसैलाई रिफण्डेबल टिकट चाहिन्छ भने त्यसमा थप शुल्कहरू भने तिर्नुपर्नेछ । तर हामीले सस्तो टिकट हटाएर महँगो टिकट राख्ने छैनौँ । बरु ७२ वटै सिटमा सस्तो मूल्यकै टिकटसमेत उपलब्ध हुनेछ ।’
बुद्ध एयरका एटीआर ७२ सिरिजका विमानमा ७२ सिट रहेको हुन्छ ।