रसुवा बाढी : मृतकको सङ्ख्या ६१६ पुग्यो, २,३१३ सम्पर्कविहीन

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । नेपाल प्रहरीका अनुसार भदौ १३ गते बिहान ७ बजेसम्मको तथ्यांक अनुसार मृतकको सङ्ख्या ६१६ पुगेको हो ।

नेपाल प्रहरीले जारी गरेको अद्यावधिक विवरण अनुसार भोटेकोशी र त्रिशूली नदीले बगाएर ल्याएका शवहरूमध्ये चितवनमा मात्रै २२३ शव फेला परेको छ ।

त्यसै गरी नवलपरासी पूर्वमा १५८ जना, गोरखामा ४८ जना, नवलपरासी पश्चिममा ४७ जना, धादिङमा ४५ जना, नुवाकोटमा ४१ जना, तनहुँमा ३१ जना र रसुवामा १३ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म २ हजार ३०१ जना घाइते तथा समस्यामा परेकाको उद्धार गरिएको छ । जसमा नुवाकोटबाट १ हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जनाको उद्धार भएको हो ।

प्रहरी प्रवक्ता डिआइजी अबि नारायण काफ्लेका अनुसार हालसम्म २ हजार ३१३ जना सम्पर्कविहीन भएको जानकारी आएको छ । सम्पर्कविहीन भएकाहरू मध्येबाटै भेटिएका शवहरू समेत हुन सक्ने भएकाले अहिले नै सम्पर्कविहीन हुनेको सङ्ख्या कति हो भन्ने यकिन नभएको काफ्लेले बताए ।

फेला परेका शवहरूमध्ये ११ जनाको शव आफन्तले बुझेर लगेका छन् भने एक जनाको शव बुझ्ने तयारीमा रहेको छ । अन्य शवहरू पहिचान हुने क्रममा रहेको प्रवक्ता काफ्लेले दियोपोस्टलाई बताए ।

सम्बन्धित खबर

सिफारिस