टनेलमा फसेकाहरूको उद्धारमा बिहानैदेखि खटियो सेना, शुक्रबार भएको थियो १५० जनाको उद्धार

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाहरूको टनेलमा फसेकाहरूको शनिवार बिहानैबाट पुनः उद्धार कार्य सुरु गरेको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार शनिवार बिहानबाट पुनः उद्धारको काम सुरु भएको हो ।

नेपाली सेनाले शुक्रबार मात्रै त्रिशूली थ्री ए जलविद्युत आयोजनाको टनेलमा फसेका १५० जनाको उद्धार गरेको थियो । सहायक रथी बस्नेतका अनुसार शुक्रबार बिहानै त्रिशूली थ्री एको टनेल भित्रैबाट चार जनाको उद्धार गरिएको थियो । त्यसबाहेक टनेलका वरिपरि रहेका समेत गरेर कुल १५० जनाको शुक्रबार नै उद्धार गरिएको थियो ।

बस्नेतका अनुसार शनिवार पनि बिहानैबाट सर्च एन्ड रेस्क्युको काम सुरु भइसकेको छ । अहिले पनि १४ वटा हेलिकोप्टरबाट सर्च एन्ड रेस्क्यु अपरेसन सुरु गरिसकेको बस्नेतले दियोपोस्टलाई बताए ।

नेपाली सेनाले शुक्रबार मात्रै ५६ जना विदेशी नागरिकसहित १ हजार २६५ जनाको विभिन्न स्थानबाट उद्धार गरेर त्रिशूलीमा रहेको नेपाली सेनाको ब्यारेकमा ल्याइएको थियो ।

बस्नेतका अनुसार सेनाले आफ्नो पहिलो प्राथमिकतामा घाइते भएका र जीवित रहेकाहरूको उद्धारमै ध्यान केन्द्रित गरिरहेको छ । सम्पर्क भएको स्थानमा गएर खोज्ने र सम्पर्क नभएको स्थानमा सर्च एन्ड रेस्क्यु टोली परिचालन गरेर खोजीको काम भइरहेको छ ।

बस्नेतका अनुसार शनिवार बिहान मौसम केही बिग्रिएकाले खोजीमा कठिनाइ भएको भए पनि अहिले मौसम केही सफा भएपछि खोजी कार्य पुनः सुरु भएको छ । अहिले त्रिशूली थ्री ए को टनेलमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको ६२ जना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीसमेत गरी कुल ८४ जना रेस्क्यु टोली त्रिशूली थ्री ए को टनेल नजिकै रेस्क्युमा खटिएका छन् । उनीहरू अब टनेलभित्रै गएर उद्धारको प्रयास सुरु गर्न लागेको बस्नेतले बताए ।

बस्नेतले त्रिशूली थ्री ए लगायत अन्य टनेलमा जीवित रहेका र घाइते भएकाहरूको खोजी पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

सिफारिस