
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पुगेको छ । नेपाल प्रहरीका अनुसार भदौ १४ गते बिहान ८ बजेसम्मको तथ्यांक अनुसार मृतकको सङ्ख्या ७३४ पुगेको हो ।
नेपाल प्रहरीले आइतबार बिहान ८ बजे जारी गरेको अद्यावधिक विवरण अनुसार भोटेकोशी र त्रिशूली नदीले बगाएर ल्याएका शवहरूमध्ये चितवनमा मात्रै २५९ शव फेला परेको छ ।
त्यसै गरी नवलपरासी पूर्वमा १८४ जना, नवलपरासी पश्चिममा ८२ जना गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, तनहुँमा ३६ जना र रसुवामा १३ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म २ हजार ६९९ जना घाइते तथा समस्यामा परेकाको उद्धार गरिएको छ । जसमा नुवाकोटबाट २ हजार २० जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जनाको उद्धार भएको हो ।
प्रहरी प्रवक्ता डिआइजी अबि नारायण काफ्लेका अनुसार हालसम्म २ हजार ३१३ जना सम्पर्कविहीन भएको जानकारी आएको छ, जसमा प्रहरी कर्मचारी मात्रै २५ जना सम्पर्कविहीनको अवस्थामा छन् ।
सम्पर्कविहीन भएकाहरू मध्येबाटै भेटिएका शवहरू समेत हुन सक्ने भएकाले अहिले नै सम्पर्कविहीन हुनेको सङ्ख्या कति हो भन्ने यकिन नभएको काफ्लेले बताए ।