अवैध सम्बन्धको शंकापछि सङ्खुवासभामा गोली हानेर शिक्षकको हत्या

दियोपोस्ट संवाददाता

काठमाडौँ । सङ्खुवासभामा गोली प्रहार गरेर एक शिक्षकको हत्या गरिएको छ । जिल्लाको मकालु गाउँपालिका १ चिर्खाङको एक विद्यालयमा शिक्षकमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी कुमार मैनालीले दियोपोस्टलाई बताए । राई स्थानीय कालिका आधारभूत विद्यालयका शिक्षक थिए ।

घटना बिहीबार साँझ करिब ७ बजेको रहेको डिएसपी मैनालीले दियोपोस्टलाई बताए । हत्यामा भरुवा बन्दुक प्रयोग भएको पाइएको छ । घटनास्थलमा यसअघि नै इन्स्पेक्टरको कमान्डमा टोली पुगिसकेको छ भने डिएसपी मैनालीको टोलीसमेत घटनास्थलतर्फ जाँदै गरेको छ ।

हत्या गरिएका शिक्षकको स्थायी ठेगाना सङ्खुवासभाको तिलिचोङ गाउँपालिका वडा नम्बर ५, याखु भन्ने स्थानमा रहेको प्रहरीले जनाएको छ । उनी सोही विद्यालयमा बस्ने गरेका थिए ।

स्थानीय एक व्यक्तिका अनुसार हत्या बिहीबार साँझ करिब ७ बजे विद्यालय परिसरमै भएको हो । शिक्षक राईको हत्या हुँदा सोही विद्यालयमा अध्यापन गर्ने एक महिला शिक्षिका पनि सँगै रहेको पाइएको छ ।

महिला शिक्षिका र शिक्षक राई सँगै रहेको समयमा शिक्षक राईमाथि भरुवा बन्दुकबाट गोली प्रहार भएको थियो । घटना शिक्षकको अवैध सम्बन्धसँग जोडिएको हुनसक्ने ती स्थानीयले दियोपोस्टलाई बताए ।

प्रहरीले ती महिला शिक्षिकालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । स्कुल परिसरमै गोली प्रहार गरी हत्या भएपछि शवको मुचुल्का गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ ।

बिहीबार साँझ ७ बजेको घटना भए पनि प्रहरीलाई भने राति ९ बजे मात्रै जानकारी आएको थियो ।

आधारभूत विद्यालय भएकाले विद्यालयमा ५ जना मात्रै विद्यार्थी र ३ जना शिक्षक रहेको बुझिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

सिफारिस