संखुवासभा शिक्षक हत्या प्रकरणः भरुवा बन्दुक प्रहार गरि हत्या, एक जना आरोपी पक्राउ

दियोपोस्ट संवाददाता

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

बिहीबार साँझ करिब ७ बजे मकालु गाउँपालिका-१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षक नरकुबिर खम्बु राई मृत अवस्थामा फेला परेका हुन् । सिलिचोङ गाउँपालिका-५ याफु घर भएका करिब ३६ वर्षीय राई सोही विद्यालयमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका राईमाथि अचानक भरुवा बन्दुक प्रहार भएको थियो । बन्दुक पड्किएको आवाज सुनेपछि विद्यालयमै बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्किएर हेर्दा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका-१ सिउँडीबारीका करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर घटनाको कारण तथा घटनामा उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस