
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबरालाई शनिवार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले जबरालाई महाराजगन्जस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
उनी विरुद्ध के कस्तो उजुरी परेको वा आरोप लागेको हो, खुलेको छैन । यद्यपि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी विरुद्ध उजुरी परेको बताइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारका अनुसार जबरालाई शनिवार राती करिब १२ बजे नियन्त्रणमा लिइएको हो ।
जबरा २०७५ पुस १८ गतेदेखि प्रधान न्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
उनी विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पारित वा अस्वीकृत नै नभई संसद्को कार्यकाल सकिएको थियो । त्यसपछि उनको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको थियो । महाभियोग निष्क्रिय बनेको भन्दै उनी सर्वोच्च अदालत फर्कन खोजेको भएपनि उनले पुनः हाजिर हुन भने पाएका थिइनन् ।