
काठमाडौं । शनिवारदेखि आएको भारी वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका-३, भैसेकट्टामा पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । आइतबार बिहान करिब ४ बजेको समयमा पहिरो गएको हो ।
अविरल वर्षाका कारण पहिरो जाँदा स्थानीय लिल बहादुर घर्ती मगरको घर र गोठ पुरिएको थियो । आइतबार उद्धारका क्रममा ७५ वर्षीय लिल बहादुर घर्ती मगरको शव फेला पारेको छ भने निजका छोरीहरू १७ वर्षीय दिना घर्ती मगर र १५ वर्षीय झरना घर्ती मगर बेपत्ता छिन् ।
पहिरोले ३ जना हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म, नेपाल प्रहरी र स्थानीय सरकारले खोजी र उद्धार कार्य जारी राखेका छन् । सोही स्थानका अन्य केही घरसमेत जोखिममा परेको कारण स्थानीयलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बलेका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
अहिले पहिरो गएको स्थानमा जेसीबी लगायतका उद्धार सामग्रीबाट उद्धारको कार्य भइरहेको छ ।