काठमाडौं, १८ भदौ । सर्वोच्च अदालतको संवैधानिक ईजलाशमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको संवैधानिक नियुक्तीका विषयमा बहस सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि तत्कालिन केपी ओली नेतृत्वको सरकारले दोस्रो पटक संसद विघटन गरेपछि गरेका संवैधानिक नियुक्ती खारेजीको चर्चा समेत छ ।
ओली सरकारले जेठ ८ पछि नियुक्त गरेका मध्ये प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको पद पनि धरापमा छ । उनी यतिबेला पद जोगाउन दौडधुपमा लागेको पाइएको छ । बस्नेतले आफ्नो पद जोगाइदिन भन्दै माधव नेपाल निकट काउन्सिलकै पूर्व बोर्ड सदस्यलाई प्रयोग गरेर माधव नेपाललाई भेटेको पाइएको छ । उनको दौडधुप नेपाली कांग्रेसका नेताहरु रिझाउन समेत क्रियाशिल रहेको पाइएको छ ।
बस्नेतले बोर्ड सदस्य ठाकुर बेलबासे मार्फत कांग्रेसलाई मिलाउने कोशिस गरेको स्रोतले जनायो । बस्नेतलाई लिएर माधव नेपालकोमा पुग्ने व्यक्ति भने तत्कालिन केपी ओलीलाई प्रतिगामी भन्दै सडकसंघर्षमै आएका व्यक्ति हुन् । तत्कालिन कार्याबाहक अध्यक्ष किशोर श्रेष्ठले कानुनी सल्लाहाकारमा नियुक्त गरेका अधिवक्ता बोर्ण बहादुर कार्की यतिबेला विरामी भएर अस्पतालमा छन् ।
अस्पतालमा रहेका कार्कीलाई हटाएर नेपाली कांग्रेस निकट जगदिश दाहाललाई कानुनी सल्लाहाकारमा नियुक्त गर्दा कांग्रेसमा समेत सकारात्मक छवि जाने र आफ्नो पद जोगिने भन्दै बस्नेतले दाहाललाई नियुक्त गर्ने वचन दिएका छन् । दाहालले पनि आफ्नो नियुक्ती किन नभएको भन्दै बस्नेतलाई फोन गर्ने गरेको उच्च स्रोतले बतायो ।
बेलबासेले नै बस्नेत र दाहालबीचको भेटघाटको समय मिलाएको स्रोतले जनाएको छ । सरकारले पूर्णता नपाउँदै प्रेस काउन्सिलमा भने भागबण्डा भएपछि एकाथरी काउन्सिलकै बोर्ड सदस्य भने असन्तुष्ट छन् ।
काउन्सिल अध्यक्ष बस्नेतले नेपाली कांग्रेसमा मिलाउनका लागि प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीलाई समेत गुहार मागेको उनी निकटस्थहरु बताउँछन् ।
तर, आगामी असोजमा हुने वार्षिकोत्सवमा सिवाकोटीलाई गोपालदास पत्रकारीता पुरस्कार दिनुपर्ने शर्त सिवाकोटीले राखेको स्रोतले बतायो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले ‘तपाईंलाई प्रतिक्रिया दिन्न’ भन्दै पञ्छिए । ‘प्रवक्ता हुनुहुन्छ दिपक खनाल उहाँलाई फोन गर्नुस् । आउनुस् यहाँ बसेर सल्लाहा गरौँ । तपाईंले बाहिर बाहिर कुरा सुनेर फोन गर्नुहुँदो रहेछ,’ उनले भने,‘प्रवक्तालाई कुरा गर्नुस् । म प्रतिक्रिया दिन्नँ ।’