
काठमाडौँ । २०८२ वैशाख ३० गते दिनको करिब २ बजे । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ मा रहेको आहार क्याफे ।
दीपेन्द्र सिंह गोले, गणेश लामा, रोशन आचार्य र अमृत आचार्य, यी चार जना युवाहरू खाजा खानका लागि उक्त क्याफेमा पुगेको केही समय मात्रै भएको थियो । उनीहरूले खाजा अर्डर गरेर कुराकानी गरेर बस्दै गरेका थिए ।
त्यही समयमा क्याफेको अगाडि तीन वटा मोटरसाइकल आएर रोकियो । मोटरसाइकलबाट पाँच जना व्यक्तिहरू ओर्लिए । पाँच जना व्यक्तिहरू मोटरसाइकलमा आएकामा तिघ्रे, सरोज क्षेत्री भन्ने सरोज घिमिरे, लड्डु भन्ने मिलन लामा र सुमन भन्ने सोनाम मगर क्याफेभित्र पसे भने अन्य दुई जना व्यक्तिहरू क्याफेको बाहिर नै बसे ।
भित्र छिरेका तीन जनामध्ये सुमन मगरले योनेक्स कम्पनीको ब्याडमिन्टनको खोलभित्र खुँडा, खुकुरी लगायतका धारिलो हतियार समेत बोकेका थिए । सुमन, सरोज र सोनामले ब्याडमिन्टनको र्याकेट भित्रबाट खुँडा र खुकुरी निकालेर क्याफेभित्र रहेका दीपेन्द्र सिंह गोले, गणेश तामाङ, रोशन आचार्य र अमृत आचार्यमाथि अन्धाधुन्ध आक्रमण गर्न थाले ।

यो भयानक दृश्य क्याफेभित्रको सिसिटिभी फुटेजमा पनि कैद भइरहेको छ र आक्रमणकारीहरूले मार मार भन्दै आक्रमण गरिरहेका छन् । सरोज घिमिरे, सुमन मगर र राजकुमार घलान समेतले ती चार युवालाई आक्रमण गरिरहेको देख्न सकिन्छ । भिडियोमा खुँडाबाट आक्रमण गर्ने व्यक्ति सरोज घिमिरे नै रहेको स्पष्टरूपमा चिनिन्छ । आक्रमणपछि रगताम्मे अवस्थामा रहेका उनीहरूले हारगुहार गरेपछि स्थानीय मानिसहरू घटनास्थलमा आए । त्यसपछि आक्रमणकारीहरू आक्रमण गर्न ल्याएको हतियार घटनास्थलमै छाडेर भागे ।
आक्रमणका क्रममा दीपेन्द्रको बायाँ हातको नाडीको हड्डीसमेत काटियो । गणेशको बायाँ खुट्टाको घुँडामा २२ टाँका, तिघ्रामा ८ टाँका, हातको नाडी र कुहिनोमा ९ टाँका गरी कुल ३९ टाँका लगाउनु पर्यो । यता गम्भीर घाइते बनेका दीपेन्द्रको शरीरमा ४६ टाँका लगाउनु पर्यो । अमृत र रोशनमाथि पनि आक्रमण भए पनि कम मात्रै आक्रमण भएको कारण उनीहरूको भने सामान्य उपचारले मात्रै काम चल्यो ।
घटना लगत्तै प्रहरीले अनुसन्धान सुरु गर्यो । त्यसपछि घटनामा प्रत्यक्ष संलग्न रहेका आयुष घले भन्ने राजकुमार घलान र प्रभात तामाङ पक्राउ परे । उनीहरूले अधिकार प्राप्त अधिकारी समक्ष बयान दिँदा घटनामा को कसको संलग्नता रहेको र किन आक्रमण गरेको सबै कुरा बताइदिए ।
अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा प्रभात तामाङले भनेका छन्, ‘हाम्रो पुरानो रिसिइबी थियो । सुजन स्याउ भन्ने हर्क बहादुर तामाङको निर्देशनमा योजना बनाई गणेश लामा, दीपेन्द्र सिंह गोले, रोशन आचार्य र अमृत आचार्यलाई ज्यानै मार्ने उद्देश्यले खुँडा प्रहार गरेका हौँ ।’
त्यसै गरी पक्राउ परेका अर्का प्रतिवादी आयुष घले भन्ने राजकुमार घलानले पनि घटनामा आफूसहितका व्यक्तिहरूको संलग्नताबारे साबिती बयान दिँदै किन र कसरी आक्रमण गरियो भनी बयान दिएका छन् ।
घलानको बयानमा भनिएको छ,
‘मैले साथमा भिरेको योनेक्स कम्पनीको ब्याडमिन्टनको ¥याकेट राख्ने खोल हातमा लिई क्याफेभित्र प्रवेश गर्नासाथ उक्त खोलबाट २ वटा खुकुरी र १ वटा खुँडा झिकी खुँडा तिघ्रे, सरोज क्षेत्री भन्ने सरोज घिमिरेले हातमा लिए, मैले र सोनाम भन्ने सुमन मगरले १÷१ वटा खुकुरी हातमा लिई गणेश लामा समेत बसेको कोठाभित्र प्रवेश गर्नासाथ सुरुमा तिघ्रे, सरोज क्षेत्री भन्ने सरोज घिमिरेले गणेश लामालाई प्रहार गरे, मैले र सोनाम भन्ने सुमन मगरले हातमा बोकेको खुकुरीले दीपेन्द्र सिंह गोले, अमृत आचार्य र रोशन आचार्यलाई ज्यानै मार्ने उद्देश्यले शरीरका विभिन्न भागहरूमा प्रहार गरेका हौँ ।’
यस घटनाका मुख्य योजनाकार सुजन स्याऊ भन्ने हर्क बहादुर तामाङ घटनाको ११ महिनापछि सुटुक्क जिल्ला अदालतमा हाजिर भएका थिए । २०८२ चैत २२ गते चितवन जिल्ला अदालतमा उपस्थित भएर बकपत्र गरेपछि न्यायाधीश केदारनाथ पौडेलको इजलासले एक लाख धरौटमा रिहा गर्ने आदेश दिएको थियो । तामाङले ८ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेर र नियमित उपचार गरिरहनु पर्ने कारण देखाउँदै अदालतले हर्कलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएका थिए ।
त्यसपछि नै मुख्य आक्रमणकारी सरोज घिमिरे, खड्क बहादुर, विकास बिक, सोनाम भन्ने सुमन मगर, प्रितम भन्ने पृथ्वी वाइबा, विशाल लामा तामाङ, राजु लामा भन्ने चन्द्र बहादुर थिङ र लुल्ठुङ दावा लामा भन्ने अजय तामाङ लगायतका फरारहरू एकाएक अदालतमा उपस्थित हुन थाले ।
२०८३ असार १ गते ।
लामो समय फरार रहेका सरोज घिमिरे एकाएक चितवन जिल्ला अदालतमा उपस्थित भए । प्रहरीको फरार सूचीमा रहेका उनी अदालतमा उपस्थित भएर बकपत्र दिन्छन् । न्यायाधीश उदवीर नेपालीको इजलासमा पूरक पेसीबाट चढेको निवेदनपछि बकपत्र र थुनछेक प्रयोजनका लागि सुनुवाइ हुन्छ ।
बकपत्रमा सरोज घिमिरेले दाबी गरे, ‘म उक्त दिन घटनास्थलमा थिइनँ । भोलिपल्ट बुवाको श्राद्ध भएको कारण म घरमा नै थिएँ ।’
तर अदालतमा पेस भएको सिसिटिभी फुटेजमा खुँडा प्रहार गरिरहेका व्यक्ति सरोज घिमिरे नै रहेको स्पष्ट देखिन्छ । अन्य प्रतिवादीहरूले पोल बयान गर्दा पनि आक्रमण गर्ने मुख्य व्यक्ति सरोज घिमिरे नै रहेको बताएका छन् । सरोजसँगै सोही दिन सुमन मगर पनि अदालतमा उपस्थित भएका छन् । सुमनले पनि घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर गरिएका प्रतिवादीहरू, जो करिब एक वर्ष फरार भएर एकाएक अदालतमा उपस्थित भएका छन्, अदालतले उनीहरूसँग केवल २/२ लाख रुपैयाँ मात्रै धरौटी लिएर छाड्ने आदेश दिएको छ । सुनुवाइपछि चितवन जिल्ला अदालतका न्यायाधीश उदवीर नेपालीको इजलासले अति गम्भीर प्रकृतिको अपराधमा प्रत्यक्ष संलग्न देखिएका सरोज घिमिरे र सुमन मगरलाई जनही २ लाख रुपैयाँ धरौटी लिएर छाडिदिने आदेश दिएका छिन् ।

आफ्नो आदेशमा न्यायाधीश नेपालीले आक्रमण गर्दै गर्दाको सिसिटिभी फुटेजमा देखिएको कुरामा स्वीकारोक्ति छ । अन्य प्रतिवादीले पोल बयान गरेको कुरा पनि न्यायाधीशले आफ्नो आदेशमा उल्लेख गरेका छन् ।
तर थुनछेक आदेश गर्ने क्रममा न्यायाधीश उदवीर नेपाली एकाएक उदार देखिएका छन् । आदेशमा नेपालीले अहिले नै निर्दोष भन्न नसकिने भने पनि ‘मुद्दा पुर्पक्षका लागि थुनामा नै राख्नु पर्ने सम्मको अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादीहरू सरोज क्षेत्री भन्ने सरोज घिमिरे र सुमन मगरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम जनही नगद रु. २,००,०००।– (दुई लाख रुपैयाँ) वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई पुर्पक्षका लागि तारेखमा राख्नु ।’

यो आदेशसँगै मुख्य आक्रमणकारी सरोज घिमिरे र सुमन मगर धरौटी बुझाएर रिहा भए ।
त्यसपछि अन्य प्रतिवादीहरू पनि त्यसै गरी अदालतमा उपस्थित भए र अधिकांश थुनछेकमा न्यायाधीश उदवीर नेपालीकै इजलासबाट सुनुवाइ भई प्रतिवादीहरू धरौटीमै रिहा भएका छन् ।
घटनामा मुख्य घाइते भएका दीपेन्द्र सिंह गोलेको बायाँ हातको नाडीको हड्डीसमेत काटिएको थियो । निकै गम्भीर अवस्थामा पुगेका उनको लामो समय उपचार गरेर पछि डिस्चार्ज भएका थिए । यद्यपि अहिले पनि उनको हातमा जाडो समयमा समस्या हुने गरेको छ, कुनै गह्रुँगो सामान उचाल्न सक्दैनन् । त्यसै गरी गणेश लामाको शरीरमा ३९ टाँका लगाउनु परेको थियो । अमृत आचार्य र रोशन आचार्य पनि घाइते भएका थिए ।
तर मार्नकै लागि आक्रमण गरेका र समयमै उपचार पाएर बाँचेका व्यक्तिका आक्रमणकारीलाई अस्वभाविकरूपमा चितवन जिल्ला अदालतले सामान्य धरौटीमै रिहा गरिएको छ । चितवन जिल्ला अदालतको यही आदेशलाई उच्च अदालत पाटनको हेटौँडा इजलासले पनि लाहाछाप लगाइदिएको छ ।
घटनाका पीडित घाइते गणेश लामा भन्ने गणेश तामाङले मुख्य आक्रमणकारीसहित अन्य व्यक्तिहरू धरौटीमा छुट्दा न्यायमा गम्भीर प्रश्न खडा भएको गुनासो गरे । उच्च अदालतमा थुनछेक प्रयोजनमा आफू समेत उपस्थित भएर आफ्नो पीडा सुनाउँदा न्यायाधीशसमेत हाँसेर बसेको र पीडक अर्थात् आक्रमणकारीकै पक्षमा आदेश दिएको बताए ।

साथै यति बेला आफूहरू त्रसित अवस्थामा रहेको र गुण्डागर्दीमा संलग्न आक्रमणकारीहरू खुलेआम हिँडिरहेको भन्दै आफूहरू बाहिर निस्कन समेत सक्ने अवस्थामा नरहेको गणेशले सुनाए ।
गणेशको आरोप छ, ‘जिल्ला अदालतमा न्यायाधीश, कर्मचारी, सरकारी वकिल आदिको मिलेमतोमै सुटुक्क अदालतमा उपस्थित गराएर धरौटी मागिएको छ ।’
गणेशले आफूहरूमाथि आक्रमणकारीले मात्रै होइन, जिल्ला र उच्च अदालतले समेत अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा न्यायका लागि याचना गर्ने बताए ।
मंगलबार काठमाडौँमा भेटिएका गणेशले दियोपोस्टसँग भने, ‘पहिले त हामीहरू खुलेआम हिँड्न पनि आक्रमणकारी जेलभित्रै हुनुपर्छ । त्यसपछि मात्रै न्यायको बाँकी अध्याय सुरु हुन्छ । हामीमाथि अन्याय भएको सबैले देखेका छन्, त्यसमाथि थप अन्याय गर्ने सबै विरुद्ध हामी कानुनी उपचार खोज्ने नै छौँ, चाहे त्यो अभियोजक होस् या निर्णय गर्ने व्यक्ति र पदाधिकारी ।’
प्रहरीको अनुसन्धान, घटनास्थलको सिसिटिभी फुटेज, मुख्य योजनाकार रहेका सुजन स्याउ भन्ने हर्क बहादुर तामाङको कल डिटेल रिपोर्ट आदि सबै हेर्दा घटनामा खुँडा प्रहार गरिरहेका व्यक्ति तिघ्रे, सरोज क्षेत्री आदि भनिने सरोज घिमिरे नै रहेको पुष्टि समेत भइसकेको छ र आक्रमण मार्ने उद्देश्यबाट नै भएको घाइतेको घाउको अवस्था समेतबाट स्पष्ट हुन्छ ।
प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले चितवन जिल्ला अदालतमा दायर गरेका अभियोगत्रपमा भनिएको छ ।
‘प्रतिवादीहरू लड्डु, मिलन, प्रताप भन्ने प्रभात तामाङ समेतको मिलेमतोमा पुरानो रिसिईबी राखी घटनास्थलबाहिर रही आयुष घले भन्ने राजकुमार घलान, तिघ्रे, सरोज क्षेत्री भन्ने सरोज घिमिरे, सोनाम भन्ने सुमन मगर, प्रितम भन्ने पृथ्वी वाइबा र विशाल लामा तामाङ समेत ५ जना घटनास्थलमा उपस्थित भई पुरानो रिसईबी साध्नको लागि घाइते मध्येका दीपेन्द्र सिंह गोले र गणेश लामालाई भरतपुरस्थित कारागार कार्यालयतर्फ जान लागेको देखि सुजन स्याउ भन्ने हर्क बहादुर तामाङको निर्देशन एवं योजनामा निजले प्रतिवादीहरू प्रभात तामाङ र विकाश विकलाई रेकी गर्न लगाई अन्य प्रतिवादीहरू सुमन मगर, सरोज क्षेत्री भन्ने सरोज घिमिरे, राजकुमार घलान, प्रितम भन्ने पृथ्वी वाइबा, विशाल लामा तामाङलाई निर्देशन दिई सुमन मगरले आफूले योनेक्स लेखेको ब्याडमिन्टनको खोलमा ल्याएको धारिलो हतियार खुँडा र खुकुरी लिई आएको जानकारी गराए पश्चात् राजकुमार घलान, विशाल लामा तामाङ, सोनाम भन्ने सुमन मगर, सरोज क्षेत्री भन्ने सरोज घिमिरे र प्रितम भन्ने पृथ्वी वाइबा समेत ५ जना ३ वटा मोटरसाइकलमा चढी खैरहनी स्थित पीडितहरू बसेको आहार क्याफेमा गई पृथ्वी वाइबा र विशाल लामा तामाङले बाहिर मोटरसाइकल स्टार्ट गरी बसेको र सुमन मगर, सरोज घिमिरे र राजकुमार घलानले पीडित दीपेन्द्र सिंह गोले, गणेश तामाङ, रोशन आचार्य र अमृत आचार्यलाई संगठित रूपमा योजना बनाई खुँडा एवं खुकुरी जस्तो घातक हतियारले मार्ने नियतले प्रहार गरेको पुष्टि हुन आयो ।’
सोही आधारमा सरकारले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ को उपदफा १ मा रहेको ‘कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन’ भन्ने कसुर गरेको र सोही दफाको उपदफा २ मा रहेको व्यवस्था अनुसार १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी लिएको थियो ।
साथै उनीहरूले संगठितरुपमा अपराध गरेको भन्दै संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को क बमोजिम कुल सजायको थप ५० प्रतिशत कैद सजाय र जरिबाना गर्न माग गरिएको थियो ।