
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि बिचौलियाका काम गरेको आरोप लागेका इनम सापकोटा हाल जिल्ला प्रहरी परिसर, काठमाडौँकै हिरासतमा रहेको खुलेको छ । यसअघि गत बुधबार प्रहरीको विशेष ब्युरोले इनमलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।
ब्युरोले करिब २४ घण्टा आफ्नो नियन्त्रणमा राखी आवश्यक सूचना र प्रमाण संकलन गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार सापकोटाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिरहेको बताए पनि उनीमाथि बिचौलियाको भूमिका रहेको, दीपक भट्ट लगायतका व्यक्तिसँग सम्बन्धमा रहेको पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि रकमको लेनदेन गरेको आरोप लागेको छ ।
प्रहरी स्रोतका अनुसार सापकोटा अमेरिकी ग्रिन कार्डसमेत लिइसकेका व्यक्ति हुन् । उनलाई विशेष ब्युरोले पक्राउ गर्नुअघि नै उनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि बिचौलियाको काम गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भइसकेको थियो । सुरुमा व्यवसायी दीपक भट्टका लागि काम गरिरहेको सूचना पाएको प्रहरीले सापकोटामाथि निगरानी बढाएको थियो । सोही क्रममा उनको सम्पर्क चोलेन्द्र शमशेरसँग समेत देखिएको थियो ।
सापकोटालाई पक्राउ गरी उनको मोबाइल नियन्त्रणमा लिएपछि मात्रै सशस्त्र प्रहरी बलका एआईजी वंशी दाहालको सम्बन्धमा केही महत्त्वपूर्ण सूचना प्रहरीले फेला पारेको थियो । सोही आधारमा सशस्त्र प्रहरीका एआइजी वंशी दाहाल निलम्बनमा परेका थिए । अब इनमसँग सम्बन्ध देखिएका नेपाल प्रहरीका दुई अधिकारीलाई समेत कारबाहीको तयारी गरिएको स्रोतको दाबी छ ।
सापकोटाको मोबाइलमा बिचौलियाको काम गरेको केही प्रमाण भेटिएको र कम्तीमा ५० लाख रुपैयाँको कारोबार भइसकेको प्रमाण रहेको स्रोतको दाबी छ । उनी पक्राउ पर्दा थुनामा रहेका एक व्यापारीको परिवारका सदस्यलाई भेट्न भारत जाँदै गरेको अवस्थामा विमानस्थलबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।