
काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर युवासँग रकम असुली ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवालाई विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै लामो समयसम्म झुलाउने, रकम असुल गरेपछि विदेश नपठाउने तथा सम्पर्कविहीन हुने गरेको भन्दै पीडितबाट प्राप्त जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ का ३३ वर्षीय कविराज चौलागाईं, सुनसरी इटहरी उपमहानगरपालिका-९ का ३४ वर्षीय गोपाल भण्डारी, अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ का २९ वर्षीय गोविन्द घिमिरे र उदयपुरको बेलका नगरपालिका-३ का २८ वर्षीय रमेश मल्ल रहेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ मा बस्दै आएका चौलागाईंले इटाली पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनलाई असोज १९ गते काठमाडौं महानगरपालिका-२१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, काठमाडौँ महानगरपालिका-२१ मा बस्दै आएका गोपाल भण्डारीले मलेसिया पठाइदिने भन्दै एक लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनलाई पनि असोज १९ गते काठमाडौँ महानगरपालिका-२१ बाट पक्राउ गरिएको हो ।
गोविन्द घिमिरेले दक्षिण कोरिया पठाइदिने भन्दै दुई जनाबाट ६ लाख ४५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । ललितपुर महानगरपालिका-१४ मा बस्दै आएका घिमिरेलाई असोज १९ गते सोही क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-५ मा बस्दै आएका मल्लले स्वीडेन पठाइदिने भन्दै २ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनलाई असोज २० गते महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सहजै विदेश पठाइदिने प्रलोभन देखाउने व्यक्तिबाट सचेत रहन तथा रकम बुझाउनुअघि सम्बन्धित निकायबाट आवश्यक जानकारी लिन आग्रह गरेको छ ।