
काठमाडौँ । पूरै संयन्त्र नै लाग्यो भने कसरी संस्था वा व्यक्तिको रकम कुनै व्यक्ति विशेषका नाममा लैजान सकिन्छ भन्ने उदाहरण हो, हिमालयन रिइन्सुरेन्स, यलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि र दीपक भट्ट प्रकरण । हिमालयन रिइन्सुरेन्स लिमिटेडबाट २८ करोड रुपैयाँ यलियन्टमा पठाएर करिब करिब २४ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरियो र हिमालयनलाई कसरी २४ करोड रुपैयाँ हानी पुराइयो भन्ने उदाहरण हो यो ।
बिहीबार मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट लगायतका व्यक्तिहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र बीमा कोषको रकम दुरुपयोग गरेको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । १८ जना व्यक्ति र दुई कम्पनीविरुद्ध दायर मुद्दामा कसुर भएको रकमलाई नै जनही बिगोका रूपमा मागदाबी लिइएको छ ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो हिसाब मिलान खातामा आर्थिक वर्ष २०७९।०८० मा १३ करोड ३४ लाख ६२ हजार ६८१ रुपैयाँ १४ पैसा र आर्थिक वर्ष २०८०।०८१ मा १० करोड ५७ लाख ४२ हजार ३८२ रुपैयाँ ८६ पैसा गरी कुल २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा ‘पुनर्बीमा ब्रोकर कमिसन खर्च’ भनेर तिरेको छ ।
तर उक्त कमिसन कसले बिजनेस ल्याएर कसरी दिइएको हो, स्पष्ट खुलाइएको छैन । विभिन्न २० वटा बीमा कम्पनीहरूबाट व्यापार ल्याएको भन्दै त्यसको कमिसनबापतको रकम भुक्तानी गरिएको भनिएको छ । तर १४ वटा बीमा कम्पनीका सिइओहरुसँग कुराकानी गर्दा उनीहरू सबैले यलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिसँग आफूहरूको कुनै सरोकार र सम्झौता नभएको र व्यापार आफूहरूले डाइरेक्ट दिएको दाबी गर्दै लिखित जवाफ दिएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्बन्धित जीवन बीमा कम्पनीहरूसँग लिखित जवाफ माग गर्दा उनीहरू कसैले पनि यलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिमार्फत व्यवसाय नगरेको बताए । अर्थात्, जुन व्यवसायको कमिसन भनियो, त्यो व्यवसाय भएको नै थिएन ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अभियोगपत्रमा भनिएको छ, ‘वास्तविक सम्झौता, रकमान्तरको स्लिप, जोखिम बहनको प्रमाण, भुक्तानीकाे स्लिप आदि पुष्टि गर्ने कागजातहरू कहीँ कतैबाट हालसम्मको अनुसन्धानका क्रममा पेस हुन सकेको छैन । जीवन बीमा तर्फको जोखिम प्लेसमेन्ट गर्न ब्रोकर कम्पनी आवश्यक नपर्ने ब्यहोरा सम्बन्धित बीमकहरूबाट खुल्न आएको छ ।’
विभागले यसलाई कृत्रिम तथा काल्पनिक र झुटा वित्तीय प्रविष्ट भएको ठहर गरेको छ ।
एलियन्ट इन्स्योरेन्स ब्रोकर्सकी अध्यक्ष तथा ९६ प्रतिशत सेयरकी धनी अञ्जना नेपालले आफ्नो बयानमा भने कारोबारबारे आफूलाई केही पनि थाहा नभएको बयान दिएकी छिन् ।
अञ्जनाले विभागसमक्षको बयानमा भनेकी छिन्, ‘म एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिको अध्यक्षको रूपमा रहे पनि सम्पूर्ण कम्पनीको कार्य प्रमुख कार्यकारी अधिकृतले गर्ने हो । यसरी लाभांशबाट प्राप्त गरेको रकम मेरो खातामा प्राप्त गर्दैमा मैले सम्पत्ति शुद्धीकरणको कसुर गरेको भन्न मिल्दैन ।’
उनले थप भनेकी छिन्, ‘हिमालयन रिइन्स्योरेन्सबाट कुन मितिमा के कति रकम भुक्तानी भयो भन्ने मलाई जानकारी छैन । साधारण शेयरधनीको हैसियतले कम्पनीको के÷कति रकम कृत्रिम खर्च लेखांकन गरी बीमक हिमालयन रिइन्स्योरेन्सको रकम अपचलन भएको हो मलाई कुनै जानकारी भएन ।’
तर, अभियोगपत्रमा भने अञ्जना नेपालको भूमिकालाई हिताधिकारी र तहकीकरण गर्ने कार्यमा संलग्न भनेको छ । अभियोगत्रपमा भनिएको छ, ‘अञ्जना नेपालको नाममा रहेको कम्पनी संरचना तथा वित्तीय कारोबारबाट वास्तविक लाभग्राही दीपक भट्टको हित सुरक्षित गरिएको देखिन्छ ।’ अञ्जना नेपालले लाभांशबाट प्राप्त गरेको २१ करोड १५ लाख रुपैयाँ महालक्ष्मी विकास बैंकको खातामार्फत छोरी आयुष्मा नेपाल भट्टको सिद्धार्थ बैंकको खातामा पुर्याएकी छन् ।
विभागको छानबिन र अनुसन्धानका क्रममा १५ भन्दा बढी जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग लिखित जवाफ मागिएको थियो । उनीहरू सबैको एउटै जवाफ थियो, ‘हामीले एलियन्ट इन्स्योरेन्स ब्रोकर्समार्फत कुनै व्यवसाय गरेका छैनौँ ।’
क-कसले के भने ?
हिमालयन लाइफ इन्स्योरेन्सका कपिल कुमार दाहाल : ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिसँग कुनै सम्झौता वा कारोबार नगरेको, जीवन बीमाको व्यवसायको रिइन्स्योरेन्स गर्न यस कम्पनीलाई कुनै पनि ब्रोकेजको आवश्यकता नपर्ने ।’
पाल लाइफ इन्स्योरेन्सका प्रवीण रमण पराजुली : ‘एलियन्टसँग कुनै सम्झौता र कारोबार नभएको । जीवन बीमाको व्यवसायको रिइन्स्योरेन्स गर्न यस कम्पनीलाई कुनै पनि ब्रोकेजको आवश्यकता नपर्ने ।’
एसियन लाइफ इन्स्योरेन्सका दिनेशलाल श्रेष्ठ : ‘एलियन्टसँग कुनै सम्झौता र कारोबार नभएको ।’
सिटिजन लाइफ इन्स्योरेन्सका पोषक राज पौडेल : ‘एलियन्टसँग कुनै सम्झौता वा कारोबार नगरेको ।’
राष्ट्रिय जीवन बीमा कम्पनीका सुन्दर पन्थी : ‘एलियन्टसँग कुनै सम्झौता वा कारोबार नगरेको ।’
सन लाइफ इन्स्योरेन्सका कवि फुयाँल : ‘एलियन्टसँग कुनै सम्झौता वा कारोबार नगरेको ।’
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका शिवनाथ पाण्डे : ‘एलियन्टसँग कुनै सम्झौता वा कारोबार नगरेको ।’
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सन्तोष प्रसाई : ‘कम्पनीको पुनर्बीमा नीतिमा नै पुनर्बीमा गर्दा कुनै ब्रोकरको प्रयोग नगर्ने स्पष्ट उल्लेख गरिएको हुँदा एलियन्टसँग कुनै सम्झौता वा कारोबार नगरेको ।’
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका दिपेश बाबु तिवारी : ‘कम्पनीको पुनर्बीमा नीतिमा नै पुनर्बीमा गर्दा कुनै ब्रोकरको प्रयोग नगर्ने स्पष्ट उल्लेख गरिएको ।’
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री : ‘एलियन्टसँग कुनै सम्झौता वा कारोबार नगरेको ।’
सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री : ‘एलियन्टसँग कुनै सम्झौता वा कारोबार नगरेको ।’
नेशनल लाइफका सुरेश प्रसाद खत्री : ‘कम्पनीको पुनर्बीमा नीतिमा नै पुनर्बीमा गर्दा कुनै ब्रोकरको प्रयोग नगर्ने स्पष्ट उल्लेख गरिएको ।’
आईएमई लाइफ इन्स्योरेन्सका पवन कुमार खड्का : ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्ससँग कुनै सम्झौता र कारोबार नगरेको ।’
यलियन्टमा ४ प्रतिशत सेयर होल्ड गरेकी सेयरधनी निता अग्रवालले समेत आफ्नो बयानमा हिमालयनसँग कमिसन लिनु स्वार्थको द्वन्द्व देखिएको स्वीकार गरेकी छिन् । निताले भनेकी छिन्, ‘मेरो श्रीमान् हिमालयन रिइन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालक सदस्य रहेको, म साधारण शेयरधनी भएको एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिको कुनै आर्थिक कारोबार गर्ने पदमा नभएको हुँदा स्वार्थको द्वन्द्व –कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट) को अवस्था सृजना हुने देखिन्छ ।’
विभागले दायर गरेको अभियोगपत्रमा स्पष्ट रूपमा यो सरासर वित्तीय अपराध भएको भनिएको छ । अभियोगपत्रमा भनिएको छ, ‘सम्बन्धित जीवन बीमा कम्पनीहरूले एलियन्टसँग कुनै सम्झौता, कारोबार वा पुनर्बीमा ब्रोकरको आवश्यकता नै नरहेको भनी लिखित रूपमा जनाएको अवस्थाले उक्त रकम वास्तविक सेवा बापत नभई गैरकानुनी वित्तीय कारोबार मार्फत सिर्जना गरेको देखिन्छ ।’
एलियन्टले हिमालयन रिइन्स्योरेन्सबाट अग्रिम पेस्की लिएको २८ करोड रुपैयाँमध्ये ४ करोड रुपैयाँ फिर्ता गरिएको थियो । बाँकी २४ करोडमध्ये २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा ‘ब्रोकेज कमिसन’ शीर्षकमा समायोजन गरिएको थियो । यो समायोजन गर्दा कुनै वास्तविक व्यवसाय नभएको, कुनै बीमकले व्यवसाय नदिएको, कुनै जोखिम प्लेसमेन्ट नगरिएको तथ्य स्थापित भएको छ ।
एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई सम्पत्ति शुद्धीकरणको लागि मार्गका रूपमा प्रयोग गरिएको छ । कम्पनीको संरचना, कारोबारको स्वरूप तथा रकमको अन्तिम लाभग्राहीको अवस्थाले उक्त कम्पनी सम्पत्ति शुद्धीकरणको साधनको रूपमा प्रयोग भएको अभियोगत्रपमा उल्लेख छ ।
अभियोगत्रपमा भनिएको छ, ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिले वास्तविक सम्झौता, कारोबार, जोखिम बहन र दलालको काम नगरी वा व्यावसायिक औचित्य पुष्टि गर्ने कुनै पर्याप्त आधारबिना हिमालयन रिइन्स्योरेन्स लिमिटेडबाट करोडौँ रुपैयाँ प्राप्त गरेको देखिन्छ । एलियन्टको कानुनी शेयरधनी वा सञ्चालक अन्य व्यक्ति देखिए तापनि कम्पनीबाट प्राप्त आर्थिक लाभ, कारोबारको उद्देश्य, रकमको अन्तिम उपयोग तथा वित्तीय प्रवाहको विश्लेषण गर्दा वास्तविक धनी दीपक भट्ट रहेको तथ्य पुष्टि हुन आयो ।’
कर तिरेर शुद्धीकरण गर्ने प्रयास
एलियन्टले आफ्नो फर्जी आम्दानी देखाएर ३ करोड ५८ लाख ८० हजार ७५९ रुपैयाँ ६० पैसा करसमेत बुझाएको छ । आन्तरिक राजस्व कार्यालयमा आर्थिक वर्ष २०७९।०८० मा २६ करोड २८ लाख ३७ हजार ८०२ रुपैयाँ ३२ पैसा देखाइएको थियो, जसमध्ये हिमालयन रि–इन्सुरेन्सको मात्रै १३ करोड ३४ लाख ६२ हजार ६८१ रुपैयाँ १४ पैसा थियो । त्यसै गरी आर्थिक वर्ष २०८०।०८१ मा २५ करोड ५९ लाख २ हजार ६४२ रुपैयाँ ७७ पैसा आम्दानी देखाएकामा हिमालयन रि इन्सुरेन्सको मात्रै १० करोड ५७ लाख ४२ हजार ३८२ रुपैयाँ ८६ पैसा रहेको थियो ।
बीमा प्राधिकरणको प्रतिवेदनमा भनिएको छ, ‘कर भुक्तानीले केवल राज्यलाई राजस्व प्राप्त भएको अवस्था जनाउँछ । तर सम्पत्तिको मूल स्रोतको वैधता प्रमाणित गर्दैन ।’
प्राधिकरणको प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार मुख्य अभियुक्त दीपक भट्ट विरुद्ध बीमा ऐन, २०७९ को दफा १४०(१)(छ) बमोजिमको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३(१)(क, ख, ग) तथा दफा ३०(१) बमोजिमको कसुरमा मुद्दा दायर भएको छ ।
उक्त कसुरमा बीमा कसुरतर्फ २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा कायम गरिएको छ जसमा जनही सोही रकम बिगो कायम गरी हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासहितका सञ्चालक समिति, तत्कालीन प्रमुख कार्यकारी अधिकृतहरू चन्द्रशेखरन रामामूर्ति र उपासना पौडेल, कार्यकारी निर्देशक मनिष कुमार, एलियन्ट इन्स्योरेन्स ब्रोकर्स, अञ्जना नेपाल, सुधीर कुमार मल्लिक र मृदुला सरियासम्मलाई प्रतिवादी बनाइएको छ ।
त्यसै गरी सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १५ लाख बिगो कायम गरी दीपक भट्ट, अञ्जना नेपाल, आयुष्मा नेपाल भट्ट, सुधीर कुमार मल्लिक र मृदुला सरियालाई प्रतिवादी बनाइएको छ । मनोज कुमार अग्रवाल र बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध जनही २ करोड ४० लाख रुपैयाँको बिगो दाबी लिइएको छ ।