अपरेसन ब्राभो गल्फ : सुन तस्करीको अपुष्ट सूचनाले बरामद गर्‍यो ५४ करोडको सुन

मदन ढुङ्गाना

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका मा रहेको माथिल्लो भंगाल । अनि त्यहाँ रहेको दुई तले घर । घर हेर्दा पार्किङसहितको स्थान भएकाले केही फरक त देखिन्थ्यो तर शंका गर्नुपर्ने खासै केही कारण भने थिएन ।

तर यही साधारण घरभित्रै चलिरहेको थियो, अवैध सुन प्रशोधनको कारखाना । चिनिया नागरिकहरूको समूहले त्यहाँ तस्करी गरी ल्याइएको धुलो सुनबाट सुनका बिस्कुट बनाउँथे । त्यहाँ घर भित्रैबाट धुलो सुनलाई प्रशोधन गरेर बिस्कुट आकारका ढिक्का बनाउँथे र तोकिएको ठाउँमा पुर्‍याउँथे । सुन कहाँ कसलाई दिने भनेर चीनबाटै वीच्याटमा निर्देशन आउँथ्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको विवरणअनुसार यो घटना नेपालको इतिहासकै ठुलो सुन तस्करीको घटनामध्ये एक हो । कार्यालयले ‘अपरेसन ब्राभो गल्फ’ नाम दिएर चलाएको यो विशेष अभियानले २१ किलो ७५० ग्राम सुन बरामद गरेको छ, जसको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको छ ।

… त्यो सूचना, यो अपरेसन

काठमाडौँ उपत्यकाका जघन्य प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रहरी कार्यालय हो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय । यही कार्यालयले यसअघि २५ करोड नेपाली रुपैयाँ बराबरको डलरसमेत टोखा क्षेत्रबाट बरामद गरी मुद्दा चलाएको थियो ।

यही कार्यालयको प्रहरी टोलीलाई केही दिनअघि एउटा सूचना आयो, बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकले अवैध कारखाना सञ्चालन गरी तस्करीको सुन कारोबार गरिरहेका छन् । सूचना वा जानकारी पाए पनि प्रमाण भने प्रहरीले पाउन सकेको थिएन । तर यस्तो गम्भीर सूचना पाएपछि प्रहरी टोली सक्रिय बन्यो र निगरानी बढाउन थाल्यो ।

सूचनाअनुसारै तस्करीको सुनको कारोबार भइरहेको हुनसक्ने यथेष्ट प्रमाण संकलन गरी कार्यालयको पिल्लर नम्बर ४ ले अपरेसनको तयारी गर्‍यो । अपरेसनको कमान्डरका रुपमा डिएसपी अनिल कुमार घिमिरे रहने भए भने नेतृत्व एसएसपी सन्तोष खड्का आफैले गर्ने भए । अनि अपरेसनलाई ‘ब्राभो गल्फ’ नाम दिइयो । सामान्यतया ठुला प्रकृतिका अनुसन्धानमा सूचना नचुहियोस् र के हुँदै छ भनेर थाहा नहोस् भनी केही अपरेसनलाई विशेष नाम दिने गरिन्छ, अपरेसन ब्राभो गल्फ त्यस्तै एक नाम थियो ।

पत्रकार सम्मेलनका क्रममा एसएसपी सन्तोष खड्का लगायतका प्रहरी अधिकारीहरु

प्रहरीले निगरानी गरिरहेकामा बिहानको समयमा सुनको डेलिभरी दिने गरेको खुल्यो । प्रहरी टोलीले निरन्तर निगरानी गरेकामा असोज २२ गते बिहीबार बिहान ५ बजेतिर सुन कारखाना खोलिएको बुढानीलकण्ठ नगरपालिका २ मा रहेको माथिल्लो भंगालको बाहिर प्रहरी टोली पहिले नै तैनाथ थियो ।

उक्त घरबाट एउटा कार बाहिर निस्किन लाग्यो । दुई चिनिया नागरिकमध्ये एक जनाले गेट खोल्यो भने अर्को कारमा थियो । त्यति नै बेला प्रहरीको टोली घरभित्र प्रवेश गर्न खोज्यो । तर चिनिया टोलीले रोक्न खोजेपछि केही समय धकेलाधकेलसमेत भयो ।

घरभित्रै पसेर प्रहरीले सुरुमा गाडीभित्र खानतलासी गर्‍यो । गाडीको आर्म रेस्टको ठिक तल लुकाएर राखेको अवस्थामा करिब २ किलो सुनका ढिक्का बरामद गर्‍यो ।

त्यसपछि गाडीसमेत नियन्त्रणमा लिई प्रहरी टोली घरभित्र पूरै खानतलासी गर्न पुग्यो । जब प्रहरी घरभित्र छिरे, तब देखियो अचम्मको दृश्य । घरभित्र त सुन पगाल्ने र प्रशोधन गर्ने कारखाना नै रहेछ ।

शुक्रबार पत्रकार सम्मेलनका क्रममा कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने, ‘हामीलाई ४ किलो सुनको सूचना आएको थियो । तर छापा मार्दा ठुलो परिमाणमा सुन भेटियो ।’ ४ किलो सुनको सूचनाका आधारमा छापा मार्दा २१ किलो ७५० ग्राम अवैध सुन बरामद गर्न प्रहरी सफल भयो ।

उक्त अवैध सुनको सूचना पाएका एक प्रहरी अधिकृतका अनुसार सुरुमा ४ देखि ६ केजी सुन रहेको सूचना आएको थियो । तर घरभित्रै खानतलासी गर्दा ठुलो परिमाणमा सुन भेटिएको हो ।

तीन चिनियाँ नागरिक पक्राऊ

अवैध सुनको आयात, प्रशोधन र विक्री वितरणमा संलग्न रहेका तीन जना चिनिया नागरिकलाई समेत कार्यालयले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय झोऊ लङकिङ र ३७ वर्षीय वाङ जियानजिन रहेका छन्, जो चीनको जियाङ्सु र ग्वाङडोङका बासिन्दा हुन् । उनीहरूका लागि घरको व्यवस्था गर्ने र सुन कहाँ कसलाई कसरी दिने भन्नेचाहिँ छु क्यान नाम गरेका व्यक्ति रहेको खुलेको छ ।

प्रहरीका अनुसार हान फेई र झोऊ लङकिङ सेप्टेम्बर २७ मा नेपाल आएका थिए भने छु क्यान अक्टोबर १ मा नेपाल आएको पाइएको छ । पक्राउ परेका हान फेईले नेपाल आउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बीवाईडी एट्टो–३ कार भाडामा लिएका थिए । उनले उक्त कार सेप्टेम्बर २७ देखि अक्टोबर १८ सम्मका लागि भाडामा लिएको अनुसन्धानमा खुलेको छ ।

मासिक ३ लाख ३० हजार दिएर साधारण घर भाडामा !

तस्करीको सुन ल्याई गालेर विभिन्न आकारमा बेच्नका लागि चिनियाँ नागरिकले घर नै भाडामा लिएका थिए । चिनियाँ नागरिक छु क्यानले हाल अमेरिका बस्ने विष्ट थरका एक व्यक्तिको घर मासिक ३ लाख ३० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएर सुनको कारखाना सञ्चालन गरेका थिए । उनले चार महिनाका लागि अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानीसमेत गरिसकेको पाइएको छ ।

चिनिया नागरिकले भाडामा लिएको घर

घर भाडामा लिने जेन जीया ली २०२६ अगस्ट १५ मा चीन गएको र हालसम्म नेपाल फर्किएको नदेखिएको अनुसन्धानबाट खुलेको छ । ली ले चीनमा रहेका जेन जिया ली लाई घरको चाबी दिएको र जेन जियाले हान फेईलाई चाबी दिएर पठाएका थिए । पक्राउ परेका हान फेई तथा झोऊ लङकिङलाई पनि घरको चाबी दिएर नेपाल पठाएको अनुसन्धानमा खुलेको छ ।

चीनबाट वीच्याटमै निर्देशन

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङनाऊमा बस्ने जेन जिया ली नाम गरेका व्यक्तिले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्‍याउने निर्देशन दिने गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा ल्याइने लेसिलो तथा अर्धप्रशोधित अवस्थामा रहेको सुनलाई प्रशोधन गरी तयार पार्ने र तोकिएको स्थानमा पुर्‍याउने गरेका थिए । नेपालमा कहाँ सुन पुर्‍याउने र कसलाई बुझाउने भन्ने निर्देशन जेन जियाले वीच्याटमार्फत दिने गरेको उनीहरूले पक्राउ परेकाहरुले बताएका छन् ।

अहिले हिरासतमा रहेका हान फेईको भनाई उद्धृत गर्दै अपरेसनमा खटिएका एक अधिकृतले भने, ‘चीनको ग्वान्जाओमा रहेका छु क्यानले जेन जिया लीको निर्देशनअनुसार अहिले पक्राउ परेकाहरूले काठमाडौँमा बसेर काम गरेको देखिन्छ ।’ ग्वान्जाओबाट निर्देशन दिने भनिएका जेन जिया ली तिनै व्यक्ति हुन्, जसले सुन कारखानाकै लागि माथिल्लो भंगालमा भाडामा लिएको सिंगो घरको चाबी छु क्यानमार्फत चीनमै बुझेका थिए ।

नेपालको बजार बुझेर चीन फर्किएका थिए छु क्यान

अहिले ग्वान्जाओमा बसेर सुन कारोबार गर्ने जेन जिया लीकै निर्देशनमा काठमाडौं आएर सुरुमा छु क्यानले यहाँको सुनको बजार र कारोबार अवस्थाबारे बुझेका थिए । चाडपर्वमा सुन बढी खपत हुने भएकाले त्यसैलाई लक्षित गरी नेपाली बजारमै खपत गर्ने उद्देश्यले सुन तस्करी गरेको हुनसक्ने प्रहरीले विश्लेषण गरेको छ ।

छु क्यान काठमाडौँ आएर यहाँको सुन बजार बुझेर सबै व्यवस्थापन गर्दै घरसमेत भाडामा लिएर ३० साउनमा चीन फर्केका थिए । उनी त्यसपछि भने काठमाडौं आएका थिएनन् । कार्यालयका एसएसपी खड्काले भने, ‘छु क्यानले काठमाडौँको सुन बजार र ग्राहक खोजिसकेपछि घर भाडामा लिएर चीन फर्केको देखिन्छ । त्यसपछि अर्को टोली काठमाडौँ आएर सुन कारखाना सञ्चालन गरेको देखिन्छ ।’

हवाई मार्गबाटै सुन भित्रिएको आशंका

अहिले बरामद भएको सुन हवाई मार्गबाटै काठमाडौँ भित्रिएको प्रहरीको आशंका छ । पक्राउ परेका तीनै जना चिनियाँ नागरिक पनि हडकङ हुँदै काठमाडौँ आएका थिए । उनीहरूमध्ये २ जना ११ असोजमा र १ जना १५ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अध्यागमनको रेकर्डमा देखिन्छ ।

काठमाडौँ ओर्लिएपछि उनीहरू तीन देखि चार पटकसम्म एयरपोर्ट जाने र आउने गरेको प्रहरीले पत्ता लगाएको छ । काठमाडौँमा रहँदा पनि विमानस्थलमा ओहोर–दोहोर भइरहेको र उनीहरू हवाई रुट हुँदै काठमाडौँ भित्रिएकाले बरामद सुन पनि हवाई मार्गबाटै काठमाडौँ भित्रिएको आशंका प्रहरीको छ । लेसिलो आकार बनाएर सुन ल्याउँदा सहज हुने, लुकाउन मिल्ने भएकाले उनीहरूले उक्त स्वरूपमा हवाई रुटबाटै सुन ल्याएको हुनसक्ने प्रहरीले आशंका गर्दै त्यस सम्बन्धमा थप छानबिन गरिरहेको छ ।

भाडाको घरबाट के के भयो बरामद ?

प्रहरीले घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको पहेँलो धातु बरामद गरेको छ । साथै, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरण, नगद, ओसारपसारमा प्रयोग भएको गाडी र विभिन्न कागजातसमेत नियन्त्रणमा लिइएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीले जनाएको छ ।

सुन प्रशोधन गर्न प्रयोग भएका मेसिनहरूमा ड्राई मेसिन, सुन गलाउने मेसिन, मेल्डिङ मेसिनलगायतका उपकरण बरामद भएका छन् । यसै गरी नेपाली तथा विदेशी मुद्रा, फोन, पासपोर्ट तथा अन्य कागजात पनि बरामद गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस