खगेन्द्र सुनार अडियो प्रकरण : पूर्वराज्यमन्त्रीका पिएको ‘१२ करोडको डिल’, दुबईमा २ अपार्टमेन्ट’ ! [भिडियो]

दियोपोस्ट संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बोलेको भन्दै प्रसारित अडियोले यति बेला नेपाली समाज तरङ्गित भएको छ। खास गरी महिलाप्रतिको उनको दृष्टिकोण र हिंस्रक प्रस्तुतिको विषयलाई लिएर उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समेत गरिरहेको छ। तर, अडियो प्रकरणमा मुछिएकी एक महिलाले उक्त अडियो आफूहरूको नभएको भन्दै न्युज २४ टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि यो प्रकरण थप रहस्यमयी बनेको छ।

बागमती प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी ती महिलाले उक्त अडियो आफूले सञ्चार माध्यमलाई नदिएको र त्यसमा बोल्ने व्यक्ति आफूहरू नभएको बयान दिएपछि छानबिन प्रभावित हुने देखिएको छ। यसैबिच, उनकै भाइ नाता पर्ने एक युवाले अर्को विवादास्पद दाबी गरेको भिडियो दियो पोस्टलाई प्राप्त भएको छ। रास्वपा सांसद सुनारको अडियो सार्वजनिक हुनुअघि, उक्त अडियो ल्याउनका लागि आफूले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग १२ करोड रुपैयाँ लिएको विवादास्पद दाबी ती युवाले गरेका छन्।

आफूलाई दीपक मनाङेको धर्मपुत्र बताउने किरण नेपाली, अडियो प्रकरणमा मुछिएकी महिलाका भाइ नाता पर्ने व्यक्ति हुन्। स्रोतका अनुसार २०७९ सालमा ती महिला स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदा किरण उनका स्वकीय सचिव (पिए) समेत नियुक्त भएका थिए। भिडियोमा उनले आफूलाई खगेन्द्र सुनारको अडियो उपलब्ध गराएबापत दुबईमा २ वटा अपार्टमेन्ट समेत उपलब्ध गराइएको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। भिडियोमा उनका साथीहरूबिच भएको संवादमा, प्रमाण चाहिए अपार्टमेन्ट बुकिङको कागजात र दुबईको बैङ्कमा रकम जम्मा भएको विवरण समेत देखाउने सम्मका कुराकानी भएका छन्। कुराकानीको रेकर्ड नगर्न उनले पटक-पटक आग्रह गरेका छन्।

नेपालीले आफू नेपालमा लरेन्स बिश्नोई समूहको आधिकारिक व्यक्ति रहेको र अन्डर वर्ल्ड डन दाउद इब्राहिमका लागि समेत काम गर्ने गरेको दाबी गरेका छन्। भिडियोमा कुराकानी गरिरहेका युवाहरूलाई आफूले दाउद इब्राहिमसँग भेट गराइदिने सम्म उनले बताएका छन्। तर, उताबाट उनीसँग संवाद गर्ने युवाहरूले भने आफूहरू भेट्न नचाहेको बताइरहेको देखिन्छ।

अडियो सार्वजनिक हुनुअघि उनले आफ्नी दिदीलाई समेत अडियो सन्देश पठाएका छन्। “दिदी, मैले तपाईँलाई कहिले पनि नराम्रो सोच्दिनँ। तपाईँले समेत मलाई अविश्वास गर्दा जिन्दगीमा तपाईँलाई सहयोग गर्नुको के अर्थ? किन सहयोग गर्ने मैले तपाईँलाई, भन्नु त?,” उनले पीडित महिलालाई भनेका छन्, “यसको प्रमाण मसँग ५० जनाको छ। स्वयम्भू चौकी जाँदै गर्दा कति जना केटा थिए। तपाईँसँग बोलिनँ दिदी। दिने भए पहिले मन्त्री हुन लाग्दा दिन्थेँ होला। कहाँबाट के भयो, म सपनामा छु। तैपनि मलाई यो लेभलको टर्चर भयो नि दिदी। म एकदम टर्चरमा छु, कसम से। म बौलाएँ भने सत्य बोल्छु दिदी।”

नुवाकोटको किस्पाङ गाउँपालिका घर भएका किरण विमानस्थलको भिआइपी (VIP) कक्ष प्रयोग गरेर भारत पुगेको समेत खुलेको छ। “यत्तिको पैसा बोकेर जीवनमा पहिलो पटक विमानस्थलमा बिनाजाँच पास हुँदाको आनन्द नै अर्कै हुँदो रहेछ,” किरणले आफ्ना एक मित्रलाई भनेका छन्।

स्रोतका अनुसार उनी अहिले भारतको मुम्बईमा रहेका छन्। नेपालका पत्रकारहरूलाई भारतीय नम्बरबाट खगेन्द्र सुनारको विवादित अडियो प्राप्त भएको थियो। ५ वटा अडियोमध्ये केही अडियो मात्र पत्रकारहरूले प्रसारण गरेका छन्। अडियोमा उल्लेखित प्रकाशशरण महतको नाम र सम्बन्ध विच्छेद लगायतका विषय हटाइएको थियो।

अडियोमा बोल्ने खगेन्द्र सुनार भनिएका पुरुष र ती महिलाबिच वैवाहिक सम्बन्ध रहेको र सम्बन्ध विच्छेद गर्ने क्रममा विवाद भएको जस्तो सुन्न सकिन्छ। पुरुष पात्रले महिलालाई अत्यन्त हिंस्रक र आपराधिक रूपमा ज्यानै मार्ने धम्की दिएका छन्। यो प्रकरण सार्वजनिक भएपछि हाल भारतमा रहेका किरणले सामाजिक सञ्जालमा आफूले नै बोल्नुपर्ने हो भन्दै साङ्केतिक प्रतिक्रिया समेत दिएको स्क्रिन सट फेला परेको छ।

अडियाे सुन्नुहाेस् :

 

अडियो प्रकरणसम्बन्धी मेरो स्पष्ट धारणा

पछिल्लो समय मेरो नाम जोडेर एउटा अडियो सार्वजनिक गरिएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अडियो “नारन समाजसेवी” नामबाट सार्वजनिक गरिएको र त्यसलाई विभिन्न रूपमा व्याख्या गरी मलाई अनावश्यक रूपमा विवादमा तान्न खोजिएको देखिन्छ।

स्पष्ट रूपमा भन्न चाहन्छु—मैले कुनै पनि व्यक्तिबाट पैसा लिएको छैन र आर्थिक अनियमिततासँग मेरो कुनै पनि सम्बन्ध छैन। सम्बन्धित व्यक्तिहरूसँगको कुराकानीका क्रममा पटक–पटक दबाब तथा आरोप लगाइएपछि आवेशमा आएर वा सामान्य कुराकानीका क्रममा बोलिएका शब्दहरूलाई सम्पादन गरी फरक अर्थ लाग्ने गरी प्रस्तुत गरिएको भए त्यसको सम्पूर्ण वास्तविकता छानबिनबाट स्पष्ट होस् भन्ने मेरो माग छ।

ममाथि कुनै आरोप वा शंका छ भने नेपाल सरकारले, नेपाल प्रहरीले वा सम्बन्धित निकायले आवश्यक सम्पूर्ण छानबिन गर्न सक्छ। मेरो बैंक कारोबार, आर्थिक विवरण, फोन कल, सम्बन्धित व्यक्तिहरूसँगको सम्पर्क तथा आवश्यक अन्य विषयसमेत कानुनबमोजिम छानबिन गरियोस्। सत्य बाहिर ल्याउन आवश्यक सम्पूर्ण विवरण र प्रमाण उपलब्ध गराउन म पूर्ण रूपमा तयार छु।

विगतमा खगेन्द्रसँग मेरा कुनै पनि आर्थिक वा गैरकानुनी सम्बन्ध थिएनन्। हामी समुदायको हितका विषयमा आवाज उठाउँदै आएका व्यक्ति हौँ। त्यसै सन्दर्भमा भएका कुराकानीलाई अन्यथा अर्थ लगाएर मलाई बदनाम गर्ने प्रयास स्वीकार्य छैन।

साथै, मेरो व्यक्तिगत कुराकानी वा अडियो कसरी र कुन उद्देश्यले रेकर्ड गरियो, त्यसलाई कसरी सम्पादन वा सार्वजनिक गरियो र त्यसबाट व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा असर पार्ने काम भएको हो कि होइन भन्ने विषयमा पनि कानुनबमोजिम छानबिन हुनुपर्छ भन्ने मेरो माग छ।

म यो विषयबाट विचलित छैन। सत्य के हो भन्ने कुरा निष्पक्ष छानबिनबाट प्रमाणित होस् भन्ने मेरो स्पष्ट धारणा हो। मलाई जोडेर लगाइएका कुनै पनि आरोप प्रमाणित हुन्छन् भने कानुनअनुसार प्रक्रिया अघि बढोस्, तर गलत आरोप वा भ्रमपूर्ण प्रचार गरिएको हो भने त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले पनि कानुनअनुसार लिनुपर्छ।

म निष्पक्ष छानबिनको पक्षमा छु र सत्य स्थापित गर्न सम्बन्धित निकायलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छु।