
काठमाडौँ । दसैँ बिदामा पनि काठमाडौँ जिल्ला अदालतको लेखा शाखा खुला राखिएपछि धरौटी वा जरिवाना बुझाउन नसकेर थुनामा रहेका सात जना रिहा भएका छन् । अदालतले दसैँका बेला थुनामा रहेका प्रतिवादीलाई धरौटी वा जरिवाना बुझाएर थुनामुक्त हुने सुविधा दिन लेखा शाखासमेत खुला राखेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार अदालतले नियमित सेवाबाहेक अतिरिक्त सेवाका रूपमा लेखा शाखा पनि सञ्चालनमा ल्याएको छ । यसअघिका वर्षहरूमा दसैँ बिदाका बेला पक्राउ अनुमति, म्याद थप, बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र कल डिटेल (सीडीआर) का लागि अनुमति दिनेजस्ता सेवा उपलब्ध गराइँदै आएको थियो । तर, यस वर्षदेखि धरौटी तथा जरिवाना बुझाउने प्रयोजनका लागि लेखा शाखासमेत खुला राखिएको हो ।
विभिन्न मुद्दामा अदालतले धरौटी माग गरे पनि रकम बुझाउन नसकेर थुनामा रहेका प्रतिवादीलाई दसैँमा घर जान सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको सूचना अधिकारी खतिवडाले दियोपोस्टलाई बताए ।
लेखा शाखा खुला भएपछि धरौटी रकम बुझाउन नसकेर थुनामा रहेका तथा फैसला बमोजिमको जरिवाना तिरेर छुट्न पाउने अवस्थाका प्रतिवादीले आवश्यक रकम बुझाई थुनामुक्त हुन सक्नेछन् । खतिवडाका अनुसार बुधबार साँझसम्म यस सुविधाको उपयोग गर्दै सात जना थुनामुक्त भइसकेका छन् ।

काठमाडौँ जिल्ला अदालतले असोज २३ गते सार्वजनिक सूचना जारी गर्दै दसैँ बिदाका दिनमा पनि घटस्थापना, शनिबार, फूलपाती र विजया दशमीबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा सञ्चालन हुने जनाएको थियो ।
अदालतका अनुसार बिदाका दिनमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन, सोही क्रममा उपस्थित गराइएका व्यक्तिको म्याद थप, कल डिटेल (सीडीआर) का लागि अनुमति, पक्राउ अनुमति तथा धरौटी र जरिवाना रकम बुझ्ने काम हुनेछ ।
यसअघि दसैँ बिदामा अदालतको लेखा शाखा बन्द रहने गरेकाले धरौटी वा जरिवाना बुझाएर छुट्न सक्ने अवस्थामा रहेका कतिपय थुनुवाले तत्काल थुनामुक्त हुने सुविधा पाउँदैनथे ।
यस वर्ष लेखा शाखासमेत खुला राखिएपछि त्यस्ता थुनुवालाई दसैँमा परिवारसँग बस्न सहज भएको छ ।