जेनजी आन्दोलनका क्रममा फरार भएका बाबु थापा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बाबु थापा पक्राउ परेका छन् । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका ४८ वर्षीय थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थापालाई बुधबार राति सर्लाहीस्थित घरबाट पक्राउ गरिएको हो । उनी जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए ।

जेलबाट भागेपछि उनी विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

थापाको साथबाट प्रहरीले दुई थान पेस्तोलसमेत बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका थापालाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

सम्बन्धित खबर