भरतपुरमा ईभी कारमा आगलागी प्रकरण : सिजी मोटर्सले तिर्‍यो १२ लाख अन्तरिम क्षतिपूर्ति

मदन ढुङ्गाना

काठमाडौँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरको महानगरपालिका-९, बसन्तचोक नजिकै भएको सिजी मोटर्सको आयोन कार दुर्घटनामा मृत्यु भएका अमर पराजुलीको परिवारलाई कम्पनीले १२ लाख अन्तरिम क्षतिपूर्ति दिएको छ । सिजी मोटर्सले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाउँदै पीडित परिवारलाई १२ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवन स्रोतका अनुसार पछि कानुन बमोजिम हुन आउने दायित्व बेहोर्ने गरी तत्कालका लागि सिजी मोटर्सले १२ लाख रुपैयाँ राहत वा अन्तरिम क्षतिपूर्तिका रूपमा पीडित परिवारलाई बुझाएको हो । पछि प्राविधिक परीक्षणका कारकै कमजोरीका कारण दुर्घटना भएको पाइएमा थप क्षतिपूर्ति दिने प्रतिबद्धता समेत जनाइएको हो ।

भएको के थियो ?

गत भदौ २६ गते बिहान करिब ६ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका-९, बसन्तचोक नजिक पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको कारमा एक्कासि आगलागी भएको थियो । बागमती प्रदेश-०१-०३० च ५५७९ नम्बरको जिएसी ब्रान्डको सेतो आयोन विद्युतीय कारमा अचानक आगोको झिल्को र धुवाँ देखिएको थियो । केही सेकेन्डमै उक्त झिल्को र धुवाँ आगोको लप्कामा परिणत भएको थियो । त्यसपछि उक्त कारमा सवार रहेका भरतपुर महानगरपालिका १२ का ५६ वर्षीय अमर पराजुलीको कारबाट बाहिर निस्कन नसकेर जलेरै मृत्यु भएको थियो ।

घटनाको एक महिना बितिसक्दा पनि आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन । पीडित परिवार र प्रहरी प्राविधिक टोलीको रिपोर्ट कुरिरहेको छ भने आयातकर्ता कम्पनी सीजी मोटर्सले ‘ब्याट्रीबाट आगलागी नभएको’ दाबी गरिरहेको छ ।

यो घटनामा सबैभन्दा मर्माहत पक्ष के छ भने कारमा आगो लागेपछि चालकले ढोका खोल्न खोजेपछि कारको ढोका खुल्न सकेको थिएन । बाहिरबाट पनि कसैले ढोका खोल्न नसकेपछि कारभित्र रहेका अमरको जलेरै मृत्यु भएको थियो ।

आगो कहाँबाट सुरु भयो ?

घटनाका प्रत्यक्षदर्शी घनश्याम पौडेल र अर्का प्रत्यक्षदर्शी एक महिलाका अनुसार सुरुमा कारको पछाडिको भागबाट आगो लाग्न सुरु भएको थियो । ‘सुरुमा कारको पछाडिको भागमा मात्र आगो लागेको थियो अगाडिको भागमा थिएन; खोल्सोमा अड्किएपछि अगाडि पनि आगो फैलियो,’ उनले भनेका छन् ।

पीडित परिवारका एक सदस्यले प्रत्यक्षदर्शीको एक महिलाको भनाई उद्धृत गर्दै उस्तै प्रकृतिको विवरण दिएका छन् । उक्त दिन बुवाको मुख हेर्ने औँसीसमेत परेकाले एक महिला सोही बाटो भएर उक्त गाडीको पछाडिपछाडि कतै जाँदै थिइन् । ती महिलाका अनुसार सुरुमा गाडीको पछाडिको देब्रेपट्टिको तल्लो भागमा आगोको झिल्का देखिएको थियो । त्यसपछि गाडीबाट धुवाँ आउन थालेको थियो ।

प्रत्यक्षदर्शीकोले आगो दन्किरहेको अवस्थामा कार रोक्न आग्रह गरे पनि कार नियन्त्रणबाहिर गई सडकको डिभाइडरमा ठोक्किएको थियो । प्रहरीका अनुसार गाडी पूर्वबाट भरतपुरतर्फ आउँदै थियो र कोकाकोला कारखानादेखि पश्चिम करिब ५०० मिटर पर राजमार्गको मुख्य लेन नाघेर दक्षिण मोडिएको थियो ।

कारको ढोका नै खुलेको थिएन

पीडित परिवारका सदस्यका अनुसार गाडी रोकिएपछि सोही गाडीको पछिपछि अर्को सवारीसाधनमा आएकी एक महिलाले गाडी नजिक गएर ढोका खोल्न खोजेकी थिइन्, तर ढोका खुलेको थिएन । कारमा भित्रैबाट लक भएको थियो । भित्र रहेका अमर पराजुली आत्तिएका थिए गाडी भित्रसमेत धुवाँ गएको कारण उनी त्यसको केही समयमै अचेत बनेका थिए । गाडीमा बिस्तारै आगो बढ्न थालेपछि गाडी आफै गुडेको थियो र आगोसमेत लागिरहेको थियो । हारगुहार गर्दा पनि ढोका खोल्न नसकिएपछि अमरको गाडीभित्रै जलेर मृत्यु भएको थियो ।

जीएसी आयोनको २०२४ वा २०२५ मोडेलको कारमा बाहिरबाट ढोका खोल्ने ह्यान्डल भए पनि त्यो अटोमेटिक हुन्छ । पहिले डिन हुने वा नदेखिने हुने र ढोका खोल्न खोज्दा मात्रै पप अप हुने वा निर्देशन दिएपछि मात्रै खुल्ने हुन्छ । त्यस कारण बाहिरबाट ढोका खोलेर उद्धार गर्न सकिएको थिएन ।

अहिले युरोप लगायतका सबैजसो देशले बाहिरबाट ढोका खोल्न ह्यान्डल नभएका कारहरू विक्रीमा प्रतिबन्ध नै लगाइसकेका छन् । नेपालमा भने त्यस्ता कारहरू निर्बाध रुपमा चलिरहेका छन् ।

यो घटनाले नेपालमा समेत आधुनिक विद्युतीय सवारी साधनको सुरक्षा डिजाइनमाथि गम्भीर प्रश्न उठाएको छ । आधुनिक ईभीहरूमा विद्युतीय डोर ह्यान्डल हुन्छन् जुन सामान्यतया १२ भोल्टको लो-भोल्टेज सर्किटबाट सञ्चालन हुन्छन् । दुर्घटना वा आगलागीमा यो सर्किटमा पनि क्षति पुगेमा विद्युतीय लक खुल्न सक्दैनन् । यही कारण युरोपेली मुलुकहरूले प्रतिबन्ध लगाएपछि पछिल्लो समय कार निर्माताहरूले विद्युतीय प्रणालीबाट स्वतन्त्र मेकानिकल इमर्जेन्सी डोर लिभर राख्ने गर्छन् ।

प्रहरी प्राविधिक टोली कुर्दै, आयोनको बेवास्ता

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले गाडीको प्राविधिक पक्षको परीक्षण गर्नुपर्ने भएकाले विज्ञ टोलीको प्रतीक्षामा रहेको दियोपोस्टलाई बताए ।

पौडेलका अनुसार उक्त गाडी दुर्घटनाका सम्बन्धमा निर्माता कम्पनी जिएसी आयोनबाटै प्राविधिकहरू नेपालमा आउने भनेकाले आफूहरू उनीहरूको प्रतीक्षामा रहेको बताए । उनीहरू आएपछि नेपालकै प्राविधिकहरूसमेत राखेर अनुसन्धान गर्ने र प्रतिवेदनका आधारमा अगाडि बढ्ने उनले बताए । पीडित परिवारले घटनाको निष्पक्ष छानबिन माग गर्दै जुन पक्ष दोषी देखिन्छ उक्त पक्षलाई कारबाही र क्षतिपूर्तिको समेत माग गरी जाहेरी दिएका छन् ।

चितवन प्रहरीले आयातकर्ता कम्पनी सिजी मोटर्ससँग सामान्य सोधपुछ र कुराकानी गरेको थियो । त्यसपछि प्रहरीकै समन्वयमा आयातकर्ता सिजी मोटर्स र पीडित परिवारबिच छलफल गराइदिएको थियो ।

अनुसन्धानबिनै सिजीको दाबी, आगलागी ब्याट्रीका कारण भएको होइन

यता दुर्घटना लगत्तै सिजी मोटर्सले एक विज्ञप्ति जारी गर्दै कारमा आगलागीको कारणमा ब्याट्री सर्ट भएको नपाइएको दाबी गरेको थियो ।

सिजी मोटर्सका कर्पोरेट कम्युनिकेसन तथा पब्लिक रिलेसन जनरल म्यानेजर मधुसूदन पौडेलले कम्पनीको प्राविधिक टोलीको भएको प्रारम्भिक अध्ययनमा आगलागी ब्याट्रीबाट सुरु नभएको संकेत पाइएको बताएका थिए । विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा पौडेलले आगलागी ब्याट्रीबाट नभएको जिकिर गरेका थि । उनले भनेका छन्, ‘धेरैजसो ईभी आगलागी संसारभर ब्याट्रीबाट सुरु हुने गरेको छ । ब्याट्री गाडीको तल हुन्छ । तर चितवनको घटनामा आगो चालकको विपरीत सिटको पछाडिको भागबाट सुरु भएको देखिन्छ । हाम्रो प्राविधिक टोली गाडीको खराबीका कारण आगो लाग्यो भन्नेमा विश्वस्त छैन । त्यस क्षेत्रमा आगो लागेको भए चालकलाई भाग्न केही सेकेन्डको मौका हुनुपर्ने थियो । तर गाडी रोकिएन र निस्कने प्रयास पनि भएको देखिँदैन ।’

यसअघि चीनमा पनि जीएसी आयोनका केही कार गुडिरहेको अवस्थामा आगलागी भएका घटना बाहिर आएका थिए, जहाँ ब्याट्री सेल फुल्ने, लिकेज हुने र पावर सिस्टममा गडबडी देखिने जस्ता समस्या औँल्याइएको थियो । तर विज्ञहरूका अनुसार ब्याट्री आगलागी निकै दुर्लभ घटना हो । अस्ट्रेलियाली रक्षा मन्त्रालयको सहयोगमा सञ्चालित ईभी फायरसेफका अनुसार सन् २०१० देखि २०२४ सम्म विश्वभर सञ्चालनमा रहेका ४ करोडभन्दा बढी ईभीमध्ये जम्मा ५११ वटा ब्याट्री आगलागी पुष्टि भएका छन् ।

१२ लाखको अन्तरिम क्षतिपूर्ति : दबाउने रणनीति कि जिम्मेवारी स्वीकार ?

मृतकका परिवारले अदालत जाने चेतावनी दिएपछि सीजी मोटर्सले अन्तरिम क्षतिपूर्तिका रूपमा १२ लाख रुपैयाँ दिएको छ । परिवारका एक सदस्यका अनुसार कम्पनीले १२ लाख क्षतिपूर्ति दिएर तत्कालका लागि हल्ला नगरिदिन आग्रह गर्दै पछि मेकानिकल वा टेक्निकल फेलिएर देखिए थप क्षतिपूर्ति दिने जनाएको छ । त्यसबाहेक सिजी मोटर्सले किस्ताबापत तिर्न बाँकी रहेको ५ लाख ५० हजार रुपैयाँ पनि छुट दिएको जनाएको छ ।

कम्पनीले गाडीको कारण नै दुर्घटना भएको हो भने कम्पनीबाटै क्षतिपूर्ति प्राप्त हुने र उक्त क्षतिपूर्ति पीडित परिवारलाई दिने प्रतिबद्धता समेत जनाएको परिवारका एक सदस्यले दियोपोस्टलाई बताए । यद्यपि परिवारका सदस्यहरू भने उचित सम्बोधन नगरिए कानुनी लडाइँमा जाने बताउँदै छन् । तर पहिले चीनबाट नै प्राविधिक ल्याएर अनुसन्धान गर्ने भनेकाले उनीहरू त्यही अनुसन्धान र प्रतिवेदनको प्रतीक्षा गरिरहेका बताउँछन् ।

सिजी मोटर्सले भदौ ३० गते जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘यस्ता दुर्घटनाहरूमा सरकारी निकायको अनुसन्धानलाई सहयोग पुर्‍याउनु र धैर्यतापूर्वक प्रतीक्षा गर्नु हाम्रो कर्तव्य हुन आउँछ । भरतपुरमा आगलागी भएको गाडीको निर्माता कम्पनीले पनि उक्त गाडीको परीक्षण, अनुसन्धान गरी अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने नै छ । यस प्रकारका दुर्घटनाहरूको अनुसन्धान गर्ने विश्वव्यापी प्रोटोकल अनुसार अनुसन्धान भई सत्य तथ्य बाहिर आउनेछ भन्नेमा हामी विश्वस्त हुनु पर्दछ ।’

थप छानबिनका लागि के हुँदै छ ?

प्रहरीका अनुसार अब प्राविधिक टोलीको रिपोर्ट आउने बित्तिकै आगलागीको मुख्य कारण खुल्नेछ । रिपोर्ट आएपछि गाडीको ब्याट्री, इलेकट्रिकल सिस्टम, वायरिङ र अन्य सम्भावित कारणहरूको विस्तृत विश्लेषण गरिनेछ । साथै, निर्माता कम्पनीको प्राविधिक टोलीले पनि छुट्टै परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।