तिब्बती भाषा पढ्न भारत लगिँदै गरेका २५ बालबालिकाको उद्धार

दियोपोस्ट संवाददाता

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासाबाट नेपाल फर्काइएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गर्न लागेका उनीहरूलाई बनबासास्थित चेकपोस्टले रोकेर नेपाल फर्काएको हो ।

प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका-८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले गड्डाचौकी नाका हुँदै भारत लैजान लागेका थिए । फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ ।

बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूलाई तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको भनिए पनि त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन ।

त्यस्तै, बालबालिकालाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।