झुटो उजुरी गर्नेलाई २ हजार जरिवाना

दियोपोस्ट संवाददाता

काठमाडौँ । अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपैयाँ जरिवाना गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ निवासी दीपक पुन मगरले आङबाबु राई (एबी राई) को नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दिएको पुष्टि भएपछि आयोगले उनलाई जरिवाना गरेको हो ।

आयोगका अनुसार पुन मगरले एबी राईको नामबाट नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा रहेको व्यक्तिले सहकारीको ऋणसम्बन्धी विवाद मिलाइदिने भन्दै ४० लाख रुपैयाँ मागेको उल्लेख थियो । र त्यसमध्ये १५ लाख रुपैयाँ नगद लिएको र आफ्नी कान्छी श्रीमतीको नाममा थप चेक लिई धम्की दिएको पनि उल्लेख थियो ।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको बताएका थिए ।

यस्तै, पुन मगरले आयोगसमक्ष बयान दिने क्रममा आफूले नै राईको नामबाट उजुरी दिएको स्वीकार गरेका थिए । अनुसन्धानका क्रममा राई र पुन मगर दुवैले उजुरीमा उल्लेख भएअनुसारको घटना नभएको, कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकम नमागेको बयान दिएको आयोगले जनाएको छ ।

राईको नाम र हस्ताक्षर दुरुपयोग गरी उनलाई समेत दुःख तथा हैरानी दिने बदनियतले झुटो उजुरी दिएको पुष्टि भएपछि पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर