
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा ‘१२ करोड रुपैयाँको डिल’ गरेको दाबी गर्ने एक युवाले आफूलाई विभिन्न आपराधिक समूहसँग नजिक रहेको बताएका छन् । नेपाली काँग्रेस निकट रहेको बताउने किरण नेपालीले देशका गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत एक मिनेटमा सिद्ध्याउने धम्की दिएको भिडियो फेला परेको छ ।
दियो पोस्टलाई प्राप्त भिडियोमा उनले आफूलाई खगेन्द्र सुनारको अडियो उपलब्ध गराए बापत दुबईमा दुई वटा अपार्टमेन्टसमेत उपलब्ध गराएको दाबी गरेका थिए । भिडियोमा उनका साथी नारायण भण्डारीसँग संवाद भएको देखिएको छ । दियो पोस्टको सम्पर्कमा आएका किरणले आफूले नारायण भण्डारीसँग संवाद गरेको बताएका छन्, यद्यपि आफूलाई करकापमा पारेर भिडियो रेकर्ड गराएको उनको दाबी छ ।
यता भण्डारीले भने आफ्नो फेसबुक म्यासेन्जरमा किरण नेपालीले नै फोन गरेर यो सबै विवरण सुनाएको र सरकारले आवश्यक ठानेमा सबै प्रमाण उपलब्ध गराउने बताएका छन् । सामाजिक सञ्जालमार्फत नै उनले यो घोषणा गरेका हुन् ।
उनीहरूबिचको अडियो संवादमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले दुबईमा अपार्टमेन्ट खरिद गरिदिएको र १२ करोड रुपैयाँ डिल गरेर खगेन्द्र सुनारको अश्लील अडियो बाहिर ल्याएको बताएका छन् ।
उनीहरूबिच भेटेर अपार्टमेन्ट बुकिङको कागजातसमेत देखाउने र दुबईको बैङ्कमा रकम जम्मा भएको विवरणसमेत देखाउनेसम्मका कुराकानी भएका छन् । कुराकानीको रेकर्ड नगर्न उनले पटक पटक आग्रह गरेका छन् ।
नेपालीले आफू नेपालमा लरेन्स विश्नोई समूहको आधिकारिक व्यक्ति रहेको र अन्डर वर्ल्ड डन दाउद इब्राहिमका लागि समेत काम गर्ने गरेको खुलाएका छन् । भिडियोमा बोल्ने युवाहरूलाई आफूले दाउद इब्राहिमलाई भेटाउन सक्ने समेत उनले बताएका छन् । तर, यताबाट उनीसँग संवाद गर्ने युवाहरूले भने आफूहरू भेट्न नचाहेको बताइरहेको देखिन्छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका-२ घर भएका नेपालीले कतिपय विषय आफूले मदिराको तालमा बोलेको भनी दियो पोस्टलाई बताएका छन् । उनले आफू काठमाडौँको कुनै क्याफेमा रहेको बेला भारतीय नम्बरबाट मास्टर थापा नाम गरेका व्यक्तिले फोन गरेर मुम्बई बोलाएको बताएका छन् ।
अडियो सार्वजनिक हुनुअघि आफूलाई नेपाल प्रहरीका विमानस्थल प्रमुख एसएसपी वसन्त रजौरेले विमानस्थलमै कोट र पाइन्टको व्यवस्थापन गरिदिएको र भिआइपी कक्षबाट बिजनेस क्लासको टिकटमा मुम्बई पुगेको बताएका छन् । दियो पोस्टले विभिन्न स्रोतसँग सम्पर्क गर्दा प्रहरी महानिरीक्षक कार्कीका सालो हुँ भन्ने प्रहरी सुवेदार मेजर युवराज केसीले विमानस्थलसम्म पुर्याउने काम गरेको पुष्टि भएको छ ।
“अफर त मलाई १२ करोड रुपैयाँ हो । मलाई मास्टर थापाको कल आयो । ‘कम टु मुम्बई’ भन्यो । ‘आई कुड नट ह्याभ मनी’ भनेँ मैले । ‘आई सेन्ड यू टिकेट एण्ड के भन्छ यो घुम्ने पैसा’ भन्यो । ‘ओके यू क्यान सेन्ड मि’ भन्यो । ‘सेन्ड मि योर बैङ्क डिटेल्स’ भन्यो । ‘आई डोन्ट ह्याभ बैङ्क डिटेल्स’ भनेँ । हुन्डीमार्फत पैसा पठायो, नेपालमा अशोकसिंह नेपालीले पैसा पठायो । चुपचाप लिएर म हिजो राति ९ बजेसम्म मुम्बई आएँ । यहाँ बसेँ । आमा कसम रेकर्ड छैन नि सर,” उनले भनेका छन् ।
उनले आफू घरमा बस्ने ट्र्याक र जुत्ता लगाएर विमानस्थल पुगेको समेत बताएका छन् ।
“कपडा छैन । घरमा बस्ने ट्र्याक र जुत्ता लगाएर म हिँड्ने ? म व्यापारी हो । दुई-तीन वटा देशमा कम्पनी छ । क्यानडामा समेत कम्पनी छ । नपत्याए सुरेशलाई सोध्दा पनि हुन्छ । म ८ बजेसम्म एवान क्याफेमा हुक्का तान्दै छु । ९ बजेर १० मिनेटको फ्लाइट छ । मलाई एसएसपी रजौरेको फोन आयो (हाल विमानस्थल प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे) । सर, मैले तपाईंलाई सर्ट, पाइन्ट, कोट रेडी गरिदिएको छु । तपाईँ एयरपोर्ट आउनुस् भन्नुभयो । त्यसपछि म हिँडे,” उनले भनेका छन्, “त्यसपछि सिधै मलाई एउटा सईले रिसिभ गर्यो र डाइरेक्ट भिआइपी कक्षमा पुर्यायो । गफ गर्दै छु, पेन्ट लगाउँदै छु, पाइन्ट पनि लगाउँदै छु । म कुन संसारमा छु ? म साउथ फिल्मको हिरो हुँ भइरहेको छ । मा कसम क्या, मेरो पासपोर्ट कहाँ छ, कसले छाप लगायो, बोर्डिङ कसले गर्यो मलाई केही थाहा छैन । म कपडा फेर्दाफेर्दै सिधै गेट नम्बर ५ मा पुगेँ । त्यहाँ ‘सरजी आपका बिजनेस क्लास में ट्रान्सफर हुवा’ भनियो र बोर्डिङ गरेर ६ सी भनेर लेखिसकेपछि म प्लेनमा बसेँ । प्लेनमा बसेपछि मार्सल थापा भन्नेले एक लाख रुपैयाँ भारु ल्याएर दियो,” उनले सुनाएका छन्, “मार्सल थापा भनेको राज ठाकरेको खास मान्छे हो । म चिलसँग मुम्बई बसेँ । म आफैँ साउथ फिल्मको हिरो हुँ कि जस्तो लागेको थियो । मलाई किन भगाउँछ भनेको मैले यहाँ (मुम्बई) पुगेपछि न्युज हेरेर थाहा पाएँ । म ढाँटदिनँ, खगेन्द्र र नेपाल सरकारका अगाडि पनि भन्दिन्छु, मैले दुई पटक खगेन्द्रको मन्त्री खाएकै हुँ ।”
उनले एउटा भिडियोमा खगेन्द्र र प्रहरी प्रमुख दानबहादुर कार्की मात्र होइन, गृहमन्त्री सुधन गुरुङलाई समेत एक मिनेटमै सक्ने प्रमाण आफूसँग रहेको बताएका छन् ।
“मसँग प्रमाण छ, दुई मिनेटमा सिद्ध्याइदिन्छु । खगेन्द्रलाई सेकेन्डमा सकाएँ, त्यसलाई पनि सक्छु । लरेन्स विश्नोईको मान्छे हुँ । भोलि इन्डिया आउनु, म भेटाइदिन्छु । तिहाड जेलमा भेटाइदिन्छु, ‘आई लभ यू’ भन्न सकिनँ भने,” उनले भनेका छन्, “दाउदसँग म भेटाइदिन्छु । फैसल मोहम्मद भन्ने रसुवा जेलमा छ छैन बुझ्नु, म भेटाइदिन्छु ।”
यता उनीसँग संवाद गर्ने नारायण भण्डारीले आफूलाई पाउरोटी बेच्ने दिनुस् भन्दै याचना गरेका छन् । त्यसपछि पुनः किरणले भनेका छन्:
“आइजीले रुँदै मेरो हात समाएको हो । आमा कसम ! त्यो त मैले देख्ने बित्तिकै थाहा पाएँ । किनभने म थिएटर आर्टिस्ट हुँ नि सर । मैले नेपालमा १३ वटा फिल्म बनाएको छु । कसको औकात क्या हो, म बुझ्छु नि ।”
उनीसँग संवाद गर्ने नारायणले केही मुद्दा मिलाउन आइजी दानबहादुरलाई भेटाउन प्रस्ताव गरेका छन् । जवाफमा उनले एक-दुई वटा होइन, सय वटा मुद्दा मिलाउन सकिने बताएका छन् ।
“हाम्रो रेकर्ड त छैन नि ? भोलि बसेर जाँड खाने, तपाईँको फोन तपाईँसँग हुँदैन । एसपीले लैजान्छ । मेरो फोन पनि एसपीले लैजान्छ । तीन भाइ रुममा चुकुल लगाएर झगडा गर्ने, हात हालाहाल गर्ने र म जिम्मा लिन्छु,” उनले भनेका छन्, “तपाईंमाथि तलमाथि भयो भने मलाई गोली चलाउन मिल्छ । भोलि आउँछु । इन्डियाको रअ (RAW) प्रमुख र म नेपाल आउँछु । मेरा मरेको बाबुको कसम । रअ प्रमुख र म आउँछु, बाँकी गेम म खेल्छु ।”
त्यसपछि भण्डारीले तपाईँले दानबहादुरलाई आफ्नो बनाउनु भन्दै आग्रह गरेका छन् ।
“आफ्नो बनाउनु ? बनाउनु ? बनिसक्यो । तपाईँको खुट्टामा समातेर ‘तँ बाच्छस्’ भन्दिउँ भोलि ? समाएन भने मेरा नाम कुकुर ? मसँग रुँदै हात जोडेपछि मैले सहयोग गरेको हुँ । आँखाबाट आँसु झार्यो के ? तपाईँले खगेन्द्र बचा भने पनि बचाउँदिनँ, दानबहादुर बचा भने पनि बचाउँदिनँ,” उनले भनेका छन् ।