एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार, डिआइजी भूपेन्द्र खत्रीलाई प्रहरी जर्नेल

दियोपोस्ट संवाददाता

काठमाडौँ । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले विभिन्न व्यक्ति तथा इकाईलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् । समारोहमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले यस वर्षको पूर्णशान्ति पुरस्कार प्राप्त गरेका छन् भने प्रहरी नायब महानिरीक्षक (डिआइजी) भूपेन्द्र खत्रीले पुलिस ब्याटन प्राप्त गरेका छन् ।

बाँके जिल्ला प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत एसपी अंगुर जिसीले उत्कृष्ट अनुसन्धान, अपराध नियन्त्रण तथा प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा उल्लेखनीय काम गरेको भन्दै प्रहरीले पूर्णशान्ति पुरस्कार प्रदान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको कमान्ड सम्हालेपछि जिसीले इन्तजार मोहम्मद अरबी खाँको हत्या, सिर्जना बुढामगरको जलेर मृत्यु भएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्यामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्दै सफल अनुसन्धान गरेका थिए ।

आर्थिक वर्ष २०८२।०८३ मा उनको नेतृत्वमा रहेको बाँके प्रहरीले ३८२ जना विरुद्ध लागुऔषध मुद्दाको अनुसन्धान गरेको थियो । सोही अवधिमा बाँके प्रहरीले ३ करोड ४७ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान, ४७ वटा गाडी र तस्करीमा संलग्न ६२ जनालाई नियन्त्रणमा लिएको थियो । गत आर्थिक वर्षमा जिसी नेतृत्वको टिमले ५७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्णशान्ति पुरस्कार बापत जिसीले नगद र प्रशंसा पत्र प्राप्त गरेका छन् ।

डिआइजी खत्रीलाई प्रहरी जर्नेल

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भूपेन्द्र खत्रीले प्रहरी जर्नेल (पुलिस ब्याटन) प्राप्त गरेका छन् । प्रहरी जर्नेल सेवारत प्रहरी अधिकृतले पाउने सर्वोच्च सम्मान हो । आफ्नो पूरा सेवा कालमा उच्च व्यावसायिकता, अनुशासन तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै खत्रीलाई सो सम्मान प्रदान गरिएको हो ।

७१औँ प्रहरी दिवसका अवसरमा गृहमन्त्री सुधन गुरुङले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकृत, जवान तथा विभिन्न प्रहरी इकाईलाई पनि पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका छन् । समारोहमा दीर्घ सेवा पदक, उत्कृष्ट सेवा पदक, राष्ट्रपति पुलिस पदक लगायतका पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसै गरी, विभिन्न जिल्ला प्रहरी कार्यालय तथा प्रहरी इकाईलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको छ । आर्थिक अपराध, लागुऔषध नियन्त्रण, साइबर अपराध, मानव बेचबिखन तथा तस्करी नियन्त्रणमा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा टिमलाई पनि सम्मान गरिएको छ ।

नेपाल प्रहरीको स्थापना दिवसका रूपमा प्रत्येक वर्ष प्रहरी दिवस मनाइन्छ । ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री, प्रहरी महानिरीक्षक लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।