
सिन्धुली । मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-६, नागथानस्थित सुनकोसी नदीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
आइतबार बिहान अन्दाजी २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को१ज २९७६ नम्बरको टाटा सुमो जिप अनियन्त्रित भई करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा परेर तीन जना यात्रीको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । घटनामा चालकसहित अन्य चार जना घाइते भएका छन् ।
दुर्घटनामा परेको टाटा सुमोमा चालकसहित १० जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाले दुई जनाको उद्धार गरेको र सुमो सुनकोसी नदीमा खसेको सूचना प्राप्त भए लगत्तै सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको १० जनाको उद्धार टोली र इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी टोलीबाट उद्धारको काम भइरहेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी डिएसपी शैलेन्द्र थापाले बताए ।
उद्धार टोलीले सुमोमा सवार चार जना घाइतेलाई उद्धार गरी प्राथमिक उपचारका लागि उदयपुरको घुर्मीस्थित स्थानीय मेडिकलमा पठाएको थियो । प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल रिफर गरिएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार घाइते हुनेहरूमा खोटाङको दिक्तेल नगरपालिका-३ की सम्झना राई, सोही स्थानकी सिवानी राई, दिक्तेल नगरपालिका-१ का १३ वर्षीय अंकित विक र टाटा सुमोका चालक ओखलढुंगाका २९ वर्षीय आशीष विष्ट रहेका छन् ।

दुर्घटनापछि उद्धारका क्रममा सुनकोसी नदी किनारमा तीन जनाको शव भेटिएको थियो । उक्त शवको उद्धार गरी बिहान ७ बजे नै गोलन्जोर अस्पतालमा पठाइएको छ । टाटा सुमोका चालकका अनुसार जिपमा कुल १० यात्रु रहेकामा ३ जना अझै बेपत्ता छन् ।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जनाको टोली र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली दुर्घटना स्थलमा खटिएको छ । संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
घटनास्थलमा प्रहरी चौकी रत्नावली र प्रहरी चौकी खाङसाङबाट पनि प्रहरी टोली पुगेर उद्धार कार्य जारी राखेको छ ।
दुर्घटनामा परेको टाटा सुमोलाई यति बेला सुनकोसी नदीबाट किनारमा ल्याइएको छ ।