‘सेनाले सत्ता लिन्छ जस्तो मलाई कहिल्यै लागेन’ : पूर्व मन्त्री सिन्हा

मदन ढुङ्गाना

काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवम् नेपाल सरकारका पूर्व मन्त्री अनिलकुमार सिन्हाले सेनाले सत्ता कब्जा गर्छ जस्तो आफूलाई कहिल्यै नलागेको बताएका छन् । गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि सेनाले सत्ता कब्जा गर्ने हल्ला चलेपछि पनि मन्त्री बनेका सिन्हाले सेनाले कहिल्यै त्यस्तो दबाब नदिएको दाबी गरेका हुन् ।

दियोपोस्टका समाचार संयोजक मदन ढुङ्गानासँगको कुराकानीमा उनले सेनाले सत्ता कब्जा गर्ने मनसाय कहिल्यै नदेखाएको र सेना आफैँले चुनावलाई विकल्पका रूपमा अघि सारेको खुलासा गरे ।

भदौ २३ र २४ गतेको घटनापछि देशमा देखिएको राजनीतिक तरलताबिच सेनाले राति १० बजेदेखि सुरक्षाको जिम्मेवारी लिएको थियो । त्यसपछि सरकार र सेनाबिच निरन्तर संवाद भएको थियो । सिन्हाका अनुसार सेनाको नेतृत्व वर्गले राजनीतिक तरलतालाई धेरै दिन राख्न नहुने र सेना प्रत्यक्ष रूपमा अघि बढ्न नचाहने स्पष्ट धारणा राखेको थियो ।

‘सेनासँग हामीले कुरा गर्दा त्यसका नेतृत्व वर्गले भन्नुहुन्थ्यो, यो राजनीतिक तरलतालाई धेरै दिन राख्न दिनु हुँदैन । सेना यसरी प्रत्यक्ष रूपमा हामी अगाडि बढ्न चाहन्नौँ, चुनाव मात्रै विकल्प हो भन्दथे,’ सिन्हाले भने ।

त्यस बेला बाहिर सेनाले देशै लिन्छ, कब्जा गर्छ भन्ने हल्ला चलेको थियो । तर सिन्हाले त्यस्तो कुनै अनुमान वा संवाद आफूहरूसँग नभएको स्पष्ट पारे । सिन्हाले भने, ‘सेनाले सत्ता कब्जा गर्छ जस्तो अनुमान पनि हामीले गरेनौ, त्यस्तो संवाद पनि भएन । त्यस्तो कुनै इन्डिकेसन पनि दिनु भएन ।’

सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि पनि जेलबाट निस्केका कैदी बन्दीहरूको अवस्थाले सरकारलाई चुनौती थपिएको सिन्हाको भनाइ छ । सिन्हा भन्छन्, ‘उनीहरूलाई न लगाउन लुगा छ, न खानको जुत्ता छ । घरसम्म पुग्नको निमित्त सरकारको उपस्थिति छैन । त्यस्तो अवस्थामा वास्तविक अपराधीले अपराध गरेर दुई पैसा खोज्नेबाहेक के विकल्प थियो र ? त्यही कारण उनीहरूको डरचाहिँ हामीलाई धेरै थियो ।’

सेनाको भूमिकाका सम्बन्धमा आफूलाई त्यति बेला पनि कुनै त्रास नभएको सिन्हाले बताए । उनी भन्छन्, ‘मेरो दिमागमा एउटै कुरा आइराखेको थियो, एउटा कारणलाई लिएर सरकार गठन भएको छ । त्यो कारण अनुसार शान्ति सुरक्षा कायम गर्नुपर्‍यो । देशमा संविधानलाई मरिहाल्न दिनु हुँदैन भन्ने नै थियो ।’

संविधानबारे सिन्हाले आफू त्यसलाई उत्कृष्ट संविधान भन्ने पक्षमा नभए पनि त्यो बेलाको अवस्थाअनुसारको दस्ताबेज भएको बताए । उनी भन्छन्, ‘त्यो बेलामा स्वीकार्य प्रकृतिबाट राजनीतिक शक्तिहरूको बिचबाट उब्जेको थियो । तर अन्तिम मस्यौदा लिएर जनतामा जान सकिएन, अलिकति हतार भयो । त्यसैले मैले पटक पटक भनेको छु, त्यो डकुमेन्ट अफ कन्भिनियन्स थियो ।’

‘भदौ २४ कै घटना फेरि फर्कन्छ कि भन्ने डर थियो’

मन्त्री सिन्हा सिंहदरबारबाट बाहिर निस्किएको लामो समयपछि भएको कुराकानीमा आफूलाई त्यति बेलाको ठुलो डर भनेको भदौ २४ कै घटना दोहोरिन्छ कि भन्ने मात्रै रहेको बताए । उनले भने, ‘मलाई आशंका के थियो भने २४ गतेको घटना पुनः फर्केर त आउँदैन ? किनभने त्यत्रो घटना १२ घण्टाभित्रमा सामसुम होला भन्ने मलाई विश्वास नै थिएन ।’

त्यसले गर्दा त्यसको प्रतिक्रान्ति हुन सक्छ भन्ने डर रहेको सिन्हाले बताए । उनले भने, ‘कि त्यही समूह वा अर्को समूह बाहिर निस्कन्छ कि भन्ने डर थियो ।’

राजनीतिक शब्द क्रान्ति र प्रतिक्रान्तिबारे आफूले विस्तृत अध्ययन नगरेको भन्दै सिन्हाले मान्छेहरूमा बदलाको भाव आउन सक्ने र कुनै घटना भएपछि राजनीतिक रूपमा सक्रिय व्यक्तिहरू निष्क्रिय भएर बस्ने, उनीहरूको सम्पत्ति जल्ने, परिवार छिन्नभिन्न हुने जस्ता कुराले कुण्ठा, आकांक्षा र रिस जम्मा हुन सक्ने डर रहेको स्वीकार गरे ।

मन्त्रीका रूपमा आफूलाई विभिन्न दबाब दिइएको समेत उनले स्वीकार गरे । उनी भन्छन्, ‘दबाब त छँदै थियो । आन्दोलनका क्रममा भएका घटना र टार्गेट गरिएका व्यक्ति तथा आपराधिक तरिकाबाट काम गरेकाहरूलाई छुट्टाएर कानुनी प्रक्रियामा लैजाने सम्बन्धमा सबैभन्दा ठुलो दबाब आएको उनले बताए ।

सिन्हा भन्छन्, ‘आन्दोलनसँग सम्बन्धित रहेका केहीको दबाब कस्तो थियो भने, होइन यो त आन्दोलनको क्रममा भएको घटना हो; यसमा केही पनि गर्नु हुँदैन भन्ने पनि कुराहरू आउँथ्यो । सबै प्रकृतिको दबाब थियो ।’

प्रधानमन्त्रीको कार्यालय वा राष्ट्रपति भवनमा छलफलका क्रममा सबैको अगाडि धम्कीका शब्द सुन्नुपरेको सिन्हाले खुलासा गरे । सिन्हा भन्छन्, ‘तपाईँहरू यहाँबाट बाहिर निस्किएपछि खुट्टामा डोरी बाँधेर घिसार्छौँ भन्ने शब्द पनि सुनिएकै थियो ।’

मन्त्री सिन्हाले जेन–जीका नाममा केही व्यक्तिहरू लाभ लिनका लागि दौडिएको समेत उनले बताए । मन्त्रालय धाउने केही जेन-जी भन्नेहरू व्यक्तिगत फाइदा कसरी उठाउन सकिन्छ भनेर सोच्नेहरू रहेको तर अधिकांशले परिवर्तन गराउनुपर्ने र फेरि पहिलेकै प्रकृतिबाट देश सञ्चालन हुन लाग्यो भने क्रान्ति-प्रतिक्रान्ति हुने, देश अस्थिर हुने भनेर बताएको सिन्हाले सुनाए ।

सिन्हाका अनुसार केही व्यक्तिले त ज्यान मारेर थुनामा रहेका अपराधीलाई छुटाउन न्यायाधीशलाई तत्काल फोन गर्नुस् भन्दै धम्कीसमेत दिएको बताए ।

सिन्हा भन्छन्, ‘कसैले औँला ठड्याएर पनि भन्थ्यो कि फलाना ठाउँमा फलाना मुद्दा चलिराखेको छ । ज्यान मुद्दा छ, डाँका मुद्दा छ, चोरी मुद्दा छ । त्यो थुनामा रहेको व्यक्ति निर्दोष हो, त्यसलाई छुटाउन अहिले नै न्यायाधीशलाई फोन गर्नुस् भन्ने पनि आयो ।’

त्यस्ता व्यक्तिहरूलाई आफूले सिस्टम बुझाउने प्रयास गरेको सिन्हाले बताए । सिन्हाले भने, ‘पछि हामीले बुझाइदियौँ । तपाईँ अहिले तातो रगतमा बोलिराख्नु भएको छ, यस्तो चिज हुँदैन । संविधानअन्तर्गत बोल्नु पर्छ भनेर भनेको थिएँ ।’

सिन्हाले अगाडि भने, ‘कतिपयले त आफूहरूले मन्त्री बनाइदिएका हौँ भनेर पनि धम्की दिए । तपाईँलाई हामीले बनाउन सकेका छौँ भने, तपाईँलाई बाटोमा कसरी घिसार्ने हामीलाई थाहा छ समेत भन्थे । कसैले यहीँ सिंहदरबारभित्र लगेर बाल्दिन्छु भनेर पनि भन्थे ।’

ती व्यक्तिहरू अहिले कहाँ छन् आफूलाई थाहा नभएको सिन्हाले बताए । ‘म देख्दिन, नाम पनि सुन्दिन आजकाल उनीहरूको । अहिले तीमध्ये धेरै कम भेटिने र भेट्दा पनि वयस्क तरिकाबाट कुरा गर्ने गरेको उनले बताए । ‘अब अलिकति राजनीतिक संस्कृति र राजनीतिक नैतिकता आउन थालेको जस्तो लागेको छ,’ उनले भने ।

सम्बन्धित खबर