
काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारका पूर्व मन्त्री अनिल कुमार सिन्हाले लगातारको आन्दोलन र क्रान्तिले जनताले दुख मात्रै पाउने बताएका छन् । जेन–जी आन्दोलनपछि संविधान संशोधनको विषय उठेको भन्दै छिटो छिटो हुने परिवर्तनले जनताले दुख पाउने बाहेक अन्य केही नहुने बताएका हुन् ।
दियोपोस्ट डटकमका समाचार संयोजक मदन ढुङ्गानासँगको अन्तरवार्ताका क्रममा सिन्हाले छिटो छिटो हुने परिवर्तनले जनतालाई सुख दिने नभई दुख मात्रै पाउने बताउँदै जनतालाई विकास चाहिएको बताएका हुन् ।
आफूले ३४ वर्ष कानुन व्यवसाय र त्यसपछि न्यायपालिकाको अनुभव लिएको बताउँदै आफू राजनीति गर्न मन्त्री नबनेको स्पष्ट पारेका छन् । सिन्हाले देशको विषम परिस्थितिका कारण आफूले जिम्मेवारी लिनुपरेको स्पष्ट पारे । सिन्हाले भने, ‘मैले कहिल्यै राजनीतिक पदको आकांक्षा राखिनँ । तर देशको अवस्था र आवश्यकताले गर्दा मन्त्रीको जिम्मेवारी स्वीकार गरेँ ।’
सिन्हाले अन्तरवार्ताका क्रममा संविधानको मर्म र मनसायअनुसार निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘संविधानलाई यति चाँडै परिवर्तन गर्नु हुँदैन । यो चाँडो परिवर्तनले जनताले दुख पाउने बाहेक केही हुँदैन । विकास भयो भने पो जनताले सुख पाउने हुन् । अर्थतन्त्र चल्नुपर्छ, हाम्रो भनाइ त्यति मात्रै थियो ।’

पूर्व न्यायाधीश सिन्हाले न्यायपालिका र कार्यपालिकाबिच समन्वयको कमी रहेको पनि स्वीकार गरे । अदालतका फैसला कार्यान्वयनमा प्रतिबद्धताको कमी देखिएको उनको भनाइ छ ।
सिन्हाले भने, ‘न्यायपालिकाले संविधानको मात्र सहयोग गर्नुपर्छ, सरकारले गरेको निर्णयलाई अदालतले फरक दृष्टिकोणले हेर्यो भन्दैमा त्यसलाई असहयोग भन्ने भाष्य सुन्न नपरोस् भन्ने आशा गर्छु ।’
जेन-जी आन्दोलनपछिको सुरक्षा चुनौतीबारे बोल्दै उनले प्रहरीसँग लगाउने जुत्ता, खाने चामल र पकाउने भाँडा समेत नरहेको अवस्थामा पनि ६ महिनाभित्र चुनाव गराउनु ठुलो उपलब्धि भएको बताए । ‘हाम्रो पहिलो उद्देश्य सुरक्षाको प्रत्याभूति दिनु थियो, कानुन बनाउने होइन’, सिन्हाले भने ।
राजनीतिक दल र आन्दोलनरत समूहसँगको संवादमा आफू संयोजक रहेको र सबैसँग सद्भावपूर्ण छलफल भएको उनले जनाए । चुनाव सार्ने विषयमा मन्त्रिपरिषद्भित्र एक पटक पनि छलफल नभएको उनको दाबी छ ।
युवा पुस्तालाई सन्देश दिँदै उनले सकारात्मक सोच राख्न र देशको उद्योग-व्यवसाय चल्न दिन आग्रह गरे । ‘देशको आर्थिक समृद्धि नभएसम्म विदेश जाने नेपालीको भिड कम हुँदैन,’ उनले भने ।
सिन्हासँगको अन्तरवार्ताको पूरा अंश दियोपोस्ट डटकमको युट्युब च्यानल र फेसबुक पेजमा हेर्न सकिने छ ।