
काठमाडौँ । जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूले चुनावको मिति सार्न दबाब दिएको खुलासा गरेका छन् । दियोपोस्टसँगको कुराकानीका क्रममा सिन्हाले राजनीतिक दलहरूले चुनावको मिति सार्न दबाब दिएको खुलासा गरेका हुन् ।
जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मुख्यतः निर्वाचन गराउने जिम्मेवारी बोकेको थियो । तर त्यो बेला राजनीतिक दलहरूले निर्वाचनको तयारीलाई एकै प्रकारले हेरेका थिएनन् ।
पूर्व मन्त्री सिन्हाका अनुसार केही राजनीतिक दलले चुनाव चाँडै गर्न नहुने भन्दै सार्न दबाब दिएका थिए भने केहीले निर्वाचन हुँदैन भनेर धम्कीसम्म दिएको बताएका हुन् ।
सिन्हाका अनुसार राजनीतिक दलहरूले सुरुमा निर्वाचन चाहेका थिएनन् । उनीहरूको भनाइ थियो- ‘अलि चाँडै भयो, धेरै हतार नगर्नुस्, केही समय लगाउनुस् । तपाईँहरूको सरकारले नै बरु केही समय चलाए पनि हुन्छ, हामीलाई त्यसमा आपत्ति छैन । तर अहिले तत्काल चुनाव नगरौँ, अलिकति सारौँ ।’ सिन्हाका अनुसार दलका नेताहरूले सरकारको तयारी नपुगेको र सुरक्षा दिन नसक्ने भन्दै चुनाव सार्न दबाब दिन्थे ।
तर सबै दलको एउटै भनाइ थिएन । सिन्हाका अनुसार केही बाह्य शक्तिहरूको भनाइ अझ फरक थियो । सिन्हाले भने, ‘बाह्य शक्तिहरू अहिले चुनाव गर्न दिनु हुँदैन, पहिले संविधान संशोधन गर्नुपर्छ भन्ने गरेका थिए भने केही शक्तिहरू कार्यकारी राष्ट्रपति बनाउनुपर्ने, केही कार्यकारी प्रधानमन्त्री बनाउनुपर्ने, कसैले सर्वदलीय-सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र यो सरकार विघटन गर्नुपर्ने अडान राखेका थिए ।’

सिन्हाका अनुसार यो सरकारले चुनाव गर्न जान्दैन, गर्न सक्दैन भन्ने आरोप पनि लागेको थियो । सिन्हाका अनुसार यसले सरकारमा समेत शंका उत्पन्न भएको थियो ।
राजनीतिक संवादका क्रममा आन्दोलनरत पक्षका करिब २०-२२ वटा समूहसँग आफूहरूले छलफल गरेको सिन्हाले बताए । ‘कससँग के कुरा गर्ने भन्ने कुराको पनि हामीसँग कहिलेकाहीँ ठेगान हुँदैनथ्यो, तैपनि सबैलाई चित्त बुझाउनु पर्ने अवस्था थियो,’ सिन्हाले भने ।
निर्वाचनको मिति नजिकिँदै जाँदा पनि निर्वाचन हुँदैन भन्नेहरू सक्रिय रहेको सिन्हाले बताए । सिन्हाका अनुसार निर्वाचनको एक दिन अघिसम्म पनि केहीले फोन गरेर भनेका थिए, ‘तपाईँ किन बेकारमा लागि राख्नु भएको छ ? हामीलाई थाहा छ भोलि बिहान निर्वाचन हुँदैन, तपाईँ स्थगित गर्नुस् भन्थे ।’

जेन-जी अभियन्ताहरूबाट पनि निर्वाचन पोस्टपोन्ड गर्न धम्की आएको सिन्हाले स्वीकार गरेका छन् । सिन्हाले भने, ‘चुनाव हामी गर्नै दिँदैनौँ भन्ने पनि थियो, त्यस्ता धम्की आउँथे ।’ केही व्यक्तिहरूले आफ्ना व्यक्तिगत माग राख्दै औँला ठड्याएर धम्की दिने गरेको पनि उनले बताए । तर निर्वाचन आयोगले तयारी सुरु गरेपछि भने आफूलाई चुनाव सर्छ कि भन्ने नलागेको सिन्हाले बताए । उनले भने, ‘निर्वाचन आयोगले चुनावको तयारी सुरु गर्यो, त्यसपछि मलाई एक दिन पनि लागेन कि चुनाव सार्नु पर्छ भनेर ।’
मन्त्रिपरिषद्भित्र भने चुनाव सार्ने विषयमा कहिल्यै छलफल नभएको सिन्हाले बताए । ‘हिमाली क्षेत्रमा पानी पर्यो, हिउँ पर्यो, कुनै दुर्घटना भयो भने के गर्ने भन्ने कुराको छलफल भएको हो, तर चुनाव सार्ने विषयमा एक पटक पनि छलफल भएन,’ सिन्हाले स्पष्ट पारे ।
सिन्हासँगको अन्तरवार्ता पूरा अंश दियोपोस्ट डटकमको युट्युब र फेसबुक पेजमा सुन्न र हेर्न सकिने छ ।