लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति रद्द गर्न जेनजी नागरिक अभियानको माग

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल रद्द गर्न माग गरेको छ।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा आनी छोइङलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको अभियानले जनाएको छ।

लुम्बिनीजस्तो पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र व्यवस्थापन गर्ने निकायमा कानुनी अनुसन्धानको घेरामा रहेकी व्यक्तिलाई नियुक्त गर्नु विधिको शासन र सुशासनको सिद्धान्तविपरीत भएको अभियानको दाबी छ।

अभियानका अनुसार आनी छोइङमाथि २०७५ सालदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान विचाराधीन छ । त्यस्तै, नक्कली छोरी बनेर नागरिकता लिएको आरोपमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा छानबिन भइरहेको अभियानले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण र नागरिकतासम्बन्धी विषयमा छानबिन भइरहेका बेला गरिएको नियुक्तिले सरकारको सुशासन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको अभियानको भनाइ छ। यसले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथि समेत चुनौती खडा गरेको अभियानले जनाएको छ ।

अभियानले नियुक्तिको निर्णय तत्काल रद्द गर्न सरकारसँग जोडदार माग गरेको छ। माग सम्बोधन नभए बृहत् नागरिक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने अभियानका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सिफारिस