
काठमाडौँ । दसैँमा धेरैले लामो बिदा पाउँछन् । लामो बिदालाई परिवार, आफन्त तथा साथीभाइसँग घुमघाम गरेर बिताउने योजना पनि धेरैको हुन्छ । तर, लामो यात्रा र धेरै खर्च गर्न नसक्नेहरूका लागि काठमाडौँबाट नजिकैका पर्यटकीय गन्तव्य उपयुक्त विकल्प बन्न सक्छन् ।
काठमाडौँ उपत्यकाबाट केही घण्टामै पुग्न सकिने धेरै रमणीय स्थान छन् । छोटो दूरी, सहज यातायात र तुलनात्मक रूपमा कम खर्चमा एक दिनदेखि दुई-तीन दिनसम्मको घुमघाम गर्न सकिने भएकाले दसैँको बिदामा यी स्थान रोज्न सकिन्छ ।
नगरकोट
काठमाडौँबाट करिब ३२ किलोमिटर उत्तर-पूर्वमा रहेको नगरकोट आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने प्रमुख गन्तव्य हो । भक्तपुर हुँदै सजिलै पुग्न सकिने नगरकोट विशेष गरी सूर्योदय र हिमाली दृश्यका लागि प्रसिद्ध छ ।

नगरकोटबाट धौलागिरि, कञ्चनजंगा, मनासलु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से लगायतका हिमाल देख्न सकिन्छ । यहाँ साना-ठुला विभिन्न स्तरका होटेल तथा रिसोर्ट छन् । एकदेखि दुई दिनसम्म बस्न सकिने नगरकोटबाट रातको समयमा काठमाडौँ उपत्यकाको झिलिमिली दृश्यसमेत हेर्न सकिन्छ । अहिले यहाँ जिपलाइन लगायतका साहसिक गतिविधिको सुविधा पनि छ ।
सुन्दरीजल र धाप ड्याम
प्रकृतिसँग रमाउन चाहनेका लागि सुन्दरीजल काठमाडौँबाट नजिकको राम्रो गन्तव्य हो । काठमाडौँबाट करिब १५ किलोमिटर दूरीमा रहेको सुन्दरीजल सार्वजनिक यातायातबाट सहजै पुग्न सकिन्छ ।
सुन्दरीजलबाट करिब १३ किलोमिटरको दूरीमा धाप ड्याम पुग्न सकिन्छ । सुन्दरीजलबाट हाइकिङ गर्दै धाप ड्याम पुग्नेहरू पनि धेरै छन् । बाटोमा होटेल तथा रेस्टुरेन्टहरू भेटिन्छन् । सुन्दरीजललाई शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा समेत लिइन्छ ।
कम खर्चमा प्रकृति, खोला, झरना र हाइकिङको आनन्द लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य हुन सक्छ ।
धुलिखेल
काठमाडौँबाट करिब ३१ किलोमिटर पूर्वमा रहेको धुलिखेल दसैँको छोटो घुमघामका लागि धेरैको रोजाइमा पर्ने स्थान हो । परिवार तथा साथीभाइसँग एक दिन वा दुई दिन बिताउन धुलिखेल उपयुक्त मानिन्छ ।
धुलिखेलबाट नमोबुद्ध, हजार सिँढीलगायतका स्थान घुम्न सकिन्छ । यहाँबाट गणेश, लाङटाङ, ल्होत्से, गौरीशङ्करलगायत हिमाल देखिन्छन् । हाइकिङ, पिकनिक तथा जिपलाइनका लागि समेत धुलिखेल रोज्न सकिन्छ । सार्वजनिक यातायातको सहज सुविधा र विभिन्न स्तरका होटेलका कारण कम बजेटमा समेत यहाँ घुम्न सकिन्छ ।
ककनी
काठमाडौँबाट करिब २२ किलोमिटर दूरीमा रहेको नुवाकोटको ककनी छोटो यात्राका लागि उपयुक्त गन्तव्य हो । समुद्री सतहबाट करिब १ हजार ८२८ मिटर उचाइमा रहेको ककनीको मुख्य आकर्षण भ्यूटावर, ट्राउट माछा र स्ट्रबेरी खेती हुन् । ककनीबाट लाङटाङ, अन्नपूर्ण, मनासलु, गणेश, गौरीशंकर र जुगल हिमश्रंखलाका दृश्य देख्न सकिन्छ । एकै दिनमा पुगेर फर्किन सकिने भएकाले लामो समय र धेरै बजेट खर्च गर्न नचाहनेका लागि यो राम्रो विकल्प हो । यहाँ हाइकिङ गर्न र होटेलमा बसेर एक-दुई दिन रमाउन पनि सकिन्छ ।

चित्लाङ
मकवानपुरको चित्लाङ काठमाडौँबाट करिब २९ किलोमिटर दूरीमा रहेको रमणीय गन्तव्य हो । चिसो मौसम, हरियाली र ग्रामीण वातावरणका कारण चित्लाङमा केही दिन बिताउन चाहनेहरूका लागि यो उपयुक्त छ ।
चित्लाङमा होटेल तथा होमस्टेको सुविधा छ । यहाँका भेडा फार्म, नास्पाती फार्मलगायतका ग्रामीण आकर्षणले पर्यटकलाई तान्ने गरेका छन् । दुईदेखि तीन दिनसम्मको यात्रा योजना बनाउन सकिने चित्लाङमा अहिले पाराग्लाइडिङ लगायतका साहसिक गतिविधिसमेत गर्न सकिन्छ ।
कुलेखानी
एक वा दुई दिनको घुमघामका लागि मकवानपुरको कुलेखानी पनि राम्रो विकल्प हो । काठमाडौँबाट करिब ४५ किलोमिटर दूरीमा रहेको कुलेखानी विशेष गरी इन्द्रसरोवरमा डुङ्गा सयर र पिकनिकका लागि परिचित छ ।

कुलेखानीमा बसेर अर्को दिन बिहान हाइकिङ गर्दै मोहिनी झरनासम्म पुग्न सकिन्छ । यहाँ विभिन्न होटेल तथा रेस्टुरेन्टको सुविधा छ । स्थानीय माछाका परिकारको स्वाद लिनसमेत पाइने भएकाले परिवार तथा साथीभाइसँगको छोटो यात्राका लागि कुलेखानी रोज्न सकिन्छ ।
सुकुटे
काठमाडौँबाट करिब ६५ किलोमिटर दूरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो । विशेष गरी सुनकोसीमा र्याफ्टिङका लागि परिचित सुकुटे अहिले विभिन्न साहसिक गतिविधिको केन्द्र बन्दै गएको छ ।

र्याफ्टिङसँगै बन्जी, क्यानोइङ, रक क्लाइम्बिङ, जंगल सफारी, जिपलाइन, ३६० डिग्री स्वीङर स्काई साइक्लिङजस्ता गतिविधि गर्न सकिन्छ । एक दिनमै घुमेर फर्किन सकिने भए पनि रात बिताउने योजना बनाउनेका लागि खोलाको किनारमा होटेल, रेस्टुरेन्ट तथा टेन्टमा बस्ने सुविधा पनि छ ।
फुलचोकी
हाइकिङ मन पराउनेका लागि फुलचोकी राम्रो विकल्प हो । गोदावरीबाट सुरु हुने फुलचोकी हाइकिङ काठमाडौँ उपत्यका नजिकको लोकप्रिय हाइकिङ रुटमध्ये एक हो ।
घना जंगल हुँदै जाने यो बाटोमा विभिन्न प्रजातिका चराचुरुंगी अवलोकन गर्न सकिन्छ । फुलचोकी डाँडामा मन्दिरसमेत रहेको छ । बाटोमा होटेल तथा रेस्टुरेन्टको सुविधा सीमित भएकाले खानेकुरा गोदावरीबाटै लैजानु उपयुक्त हुन्छ । माथि बस्ने पर्याप्त व्यवस्था नभएकाले बिहानै हिँडेर सोही दिन फर्किने योजना बनाउनुपर्छ ।
कालिन्चोक
दुई दिनको समय निकाल्न सक्नेहरूका लागि दोलखाको कालिन्चोक अर्को आकर्षक गन्तव्य हो । काठमाडौँबाट करिब १५९ किलोमिटर दूरीमा रहेको कुरी बजार हुँदै कालिन्चोक पुग्न सकिन्छ ।

समुद्री सतहबाट ३ हजार ८४२ मिटर उचाइमा रहेको कालिन्चोक भगवती मन्दिरसम्म पुग्न कुरीबाट करिब २.५ किलोमिटर लामो केबलकार प्रयोग गर्न सकिन्छ । काठमाडौँबाट चरिकोट हुँदै कुरी पुग्न सार्वजनिक यातायातको सुविधा छ । कालिन्चोकमा हिमाली दृश्यसँगै धार्मिक पर्यटनको आनन्द लिन सकिन्छ । चरिकोट र कुरीमा विभिन्न स्तरका होटेल तथा बस्ने सुविधा उपलब्ध छन् । काठमाडौँबाट गएर फर्किन कम्तीमा दुई दिन छुट्टाउनुपर्ने हुन्छ भने सामान्यतया ६ देखि ७ हजार रुपैयाँसम्मको बजेट छुट्टाएर यात्रा योजना बनाउन सकिन्छ ।
कम दूरी, कम खर्च र रमाइलो यात्रा
दसैँको बिदामा घुम्नका लागि धेरै टाढा जानै पर्छ भन्ने छैन । काठमाडौँ वरिपरिका यी गन्तव्यमा आफ्नो बजेट र समयअनुसार एक दिनदेखि दुई-तीन दिनसम्मको यात्रा योजना बनाउन सकिन्छ ।