व्यवसायीलाई गरिने धरपकड र बदला भावले विकास हुँदैन : पूर्वन्यायाधीश सिन्हा

मदन ढुङ्गाना

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा पूर्वमन्त्री अनिलकुमार सिन्हाले व्यवसायीलाई धरपकड गरेर, बदलाको भावनाले दुख दिए विकास नहुने बताएका छन् । सिन्हाले राष्ट्रिय पुँजी र स्वदेशी उद्योगको संरक्षण नभएसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा राखेका हुन् ।

दियोपोस्टसँगको कुराकानीका क्रममा सिन्हाले सरकारले व्यवसायीका सानो त्रुटिलाई पनि ठुलो बनाएर देखाउने गरेको भन्दै त्यसलाई बहादुरी भन्न नमिल्ने बताए । उनले भने, ‘व्यवसायीमाथि ज्यादै बदमासी भएको छ, सानो कुरालाई पनि ठुलो बनाएर देखाउनु बहादुरी होइन ।’

सिन्हाले कर प्रशासनको सन्दर्भमा पनि कमजोरी रहेको भन्दै सानो बुटीकै कारण व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन नहुने बताए । उनले भने, ‘सानो त्रुटिकै कारण व्यवसाय नै समाप्त गर्ने प्रवृत्ति अघिल्लो समयमा देखिएको र त्यसले व्यवसायीमा त्रास सिर्जना गरेको थियो तर मेरो ६ महिनाको कार्यकालमा अर्थ मन्त्रालयको नेतृत्वले ड्यु प्रोसेसबाट गर्नुस्, सानोतिना कुरालाई ठुलो बनाउने होइन भन्ने सकारात्मक सोच र निर्देशन दिएको थियो ।’

सिन्हाले जेन-जी आन्दोलनपछिको अवस्थामा आफ्नै घर नजिकको वर्णवास होटेल जल्दा आगोको राप आफ्नो घरसम्मै आएको स्मरण गरे । तर त्यस्तो विषम परिस्थितिबाट गुज्रेर आफ्नो फ्याक्ट्री जलेका व्यवसायीहरूले ‘हामी पीडामै छौँ, तर चलिराखेको फ्याक्ट्रीमा कसैलाई राख्नुपर्ने छ भने बायोडाटा पठाइदिनुस्’ भनेर सहयोगको हात बढाएको उनले बताए । सिन्हा भन्छन्, ‘यसले नेपालीहरू धेरै रेजिलियन्ट छन् भन्ने देखाउँछ ।’

सिन्हाले एक दुई जना व्यापारीले नेपालबाट सम्पत्ति लगेको हुनसक्ने भए पनि धेरै उद्योगी नेपालमै रहेको बताए । सिन्हाले भने, ‘व्यवसायीको उद्योग जल्यो, घर जल्यो, केही दिनसम्म छाना थिएन, जहाँ गए पनि असुरक्षित महसुस गर्नुहुन्थ्यो । उहाँहरूले देश छोडेर जानुभयो, क्यापिटल फ्लाइट भयो भनियो । तर त्यस्तो केही थिएन र छैन ।’

सिन्हाले अगाडि भने, ‘देशको हितमा काम गर्ने भनेको यही बसेका, यही भएका प्रतिष्ठानहरूले हो, भाटभटेनी, केबलकार र होटेलहरू पुनः सञ्चालनमा आएका छन् र केही आउँदै छन् । ती प्रतिष्ठानले अझै नेपालमै अवसर देखेर लगानी गरिरहेका छन् । यसको अर्थ उनीहरू यहीँ छन् र अझै सम्भावना छ भन्ने नै हो ।’

सिन्हाले कर व्याख्याका सन्दर्भमा कर न्यायशास्त्रले करदाताको हितमा व्याख्या गर्नुपर्ने सिद्धान्त राखे पनि नेपालका अदालतका केही निर्णय करमुखी भएको आफूलाई लागेको बताए । अनि न्यायपालिकाको ठुलो चुनौती भनेको नै निर्णयहरूको सिद्धान्तमा एकरूपता नहुनु र नजिर परिवर्तन हुने प्रवृत्ति रहेको उनले बताए ।

जेन-जी आन्दोलनका क्रममा युवा पुस्ताको धारणा नजिकबाट बुझेका सिन्हाले युवाहरूलाई सकारात्मक सोच राख्न सुझाव दिएका छन् । सिन्हाले भने, ‘सोचमा परिवर्तन ल्याउनुस्, सकारात्मक सोच राख्नुस् । देशको उद्योग व्यवसायलाई चल्न दिनुस् ।’

यदि उद्योग र प्रतिष्ठानहरू चल्ने वातावरण नबनाए नेपालको आर्थिक समृद्धि नहुने, विमानस्थलबाट बाहिर जानेको भिड कम नहुने र रोजगारीको खोजीमा हिँडेका नेपालीहरू ठगिने अवस्था कायमै रहने सिन्हाको चेतावनी छ ।

सिन्हासँगको कुराकानीको पूरा अंश दियोपोस्ट डटकमको युट्युब र फेसबुकमा हेर्न र सुन्न सकिन्छ ।

सिफारिस