
जाजरकाेट । जाजरकोटको कुशे गाउँपालिका-२ की १७ वर्षीय एक किशोरीमा जटिल प्रसूति समस्या देखिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको । जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उनको उद्धार गरी सुर्खेतस्थित अस्पतालमा पुराइएको हो ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो ।
१७ वर्षीय किशोरी गर्भवती भई प्रसूतिको समस्यामा उनमा जटिल स्वास्थ्य समस्या देखिएको थियो । आइतबार साँझदेखि स्वास्थ्यमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराई सोमबार उनलाई सेनाको हेलिकोप्टरबाट सुर्खेतस्थित सुविधा सम्पन्न अस्पतालमा लगिएको थियो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार किशोरीलाई सोमबार नै उद्धार गरी सुर्खेत पठाइएको र हाल किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बरालले बताए । गर्भमा रहेको शिशुको तौल बढी भएको कारण स्वास्थ्य समस्या देखिएको भए पनि शिशुको स्वास्थ्य अवस्थाबारे भने आफूलाई थप जानकारी नरहेको बरालले बताए ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवन रक्षाको महत्त्वपूर्ण माध्यम बन्दै आएको छ । जाजरकोटजस्ता दुर्गम जिल्लामा सडक यातायातको पहुँच सीमित हुने र आकस्मिक अवस्थामा समयमै अस्पताल पुर्याउन कठिन हुने भएकाले हवाई उद्धार सेवा अझ महत्त्वपूर्ण मानिएको छ ।
मन्त्रालयले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न सम्बन्धित निकायसँगको समन्वयमा हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।