
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले उपलब्ध गराएको विवरणअनुसार कैलालीमा मात्रै तीन वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै धनुषा, काभ्रेपलान्चोक, नुवाकोट, झापा, मकवानपुर र रुपन्देहीमा एक–एक वटा दुर्घटनामा मानिसहरूको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार कात्तिक २ गते बिहान साँढे २ बजेको समयमा कैलालीको कैलारी गाउँपालिका-७, रामपुरस्थित हुलाकी राजमार्गको जंगल क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसी यात्रा गरिरहेका भजनी नगरपालिका-९, पचमुडियाका २५ वर्षीय शिवलाल चौधरीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल सञ्जय चौधरीले चलाएका थिए । दुर्घटनामा मोटरसाइकल चालक सञ्जयसमेत सामान्य घाइते भएका थिए ।
दुर्घटनापछि घाइते भएका चौधरीलाई घोडाघोडी अस्पताल, सुखडमा प्राथमिक उपचार गराई थप उपचारका लागि चटकपुरस्थित केयरटेकर अस्पताल लगिएकोमा अस्पतालले त्यहाँ उपचार सम्भव नहुने बताएको थियो । त्यहाँबाट थप उपचारका लागि भारत लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी कात्तिक २ गते नै बिहान ९ बजेको समयमा धनुषाको कमला नगरपालिका-६ स्थित भित्री सडक खण्डमा ई–रिक्सा दुर्घटना हुँदा २ वर्षकी बालिकाको मृत्यु भएको छ । मधेस प्रदेश ०१-००१ ह ३४६९ नम्बरको ई-रिक्सा जागिर टोलबाट सुखवामडानतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्थानीय सरोज महतोकी २ वर्षकी छोरी करिश्मा महतोको मृत्यु भएको हो ।
त्यसै गरी कात्तिक २ गते सोमबार बिहान १०:५० बजे काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-७, भकुण्डेबजारस्थित बिपी राजमार्गको सडक खण्डमा बोलेरो गाडीबाट लडेर घाइते बनेका एक जनाको मृत्यु भएको छ ।
बनेपाबाट महाभारततर्फ जाँदै गरेको बोलेरोमा पछाडि सवार रहेका महाभारत गाउँपालिका-३ का ४६ वर्षीय दीपक विक गाडीबाट लडेर सडकमा बजारिएका थिए । त्यसपछि उनको उद्धार गरी सुरुमा धुलिखेल अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि केएमसी अस्पताल काठमाडौं ल्याइएकामा उपचारका क्रममा साँझ साँढे ६ बजे मृत्यु भएको हो ।
त्यस्तै सोमबार दिउँसो साँढे २ बजे नुवाकोटको बट्टारमा ईभी गाडी र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक राजन दाहालको मृत्यु भएको छ । नुवाकोटको विदुर नगरपालिका-४, बट्टारस्थित भित्री सडक खण्डमा बागमती प्रदेश ०१-००६ ख ९११२ नम्बरको ईभी गाडी र बा ३८ प ३२४३ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनापछि गम्भीर घाइते बनेका विदुर नगरपालिका-४, बट्टारका स्कुटरचालक ४४ वर्षीय राजन दाहाललाई उपचारका लागि सुरुमा चक्रदेव अस्पताल र त्यहाँबाट थप उपचारका लागि काठमाडौं ल्याइएकामा अपराह्न पौने ५ बजे ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

त्यसै गरी सोमबार नै झापामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो पौने ४ बजे झापाको अर्जुनधारा नगरपालिका-६, पुष्पलाल चोक नजिकको भित्री सडक खण्डमा प्रदेश १-०२-०२० प ६७६ नम्बरको मोटरसाइकलले आफ्नै घर अगाडि हिँडिरहेकी स्थानीय जीवन दनुवारकी सात वर्षीय छोरी जलशा दनुवारलाई ठक्कर दिएको थियो ।
ठक्करपछि घाइते बनेकी जलशालाई स्थानीय बीएन्डसी अस्पताल पुराइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै सोमबार नै अपराह्न ४:५० बजे मकवानपुरमा पिकअप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१, सामरीस्थित हेटौँडा-भैँसे सडक खण्डमा पिकअप र मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनापछि गम्भीर घाइते बनेका हेटौँडा उपमहानगरपालिका-१०, बुद्धचोकका ४२ वर्षीय विनोद लामालाई उपचारका लागि अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
त्यस्तै सोमबार राति ८:३० बजे कैलालीमै गोरु गाढामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-१, डाडापुल नजिक पूर्व-पश्चिम राजमार्गमा अम्मर सिंह ऐरले चलाएको गोरु गाढामा सोही दिशातर्फ जाँदै गरेको बा८८प ५१५६ नम्बरको मोटरसाइकल गोरु गाडाको पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१७ का २९ वर्षीय विक्रम राना घाइते बनेका थिए । उनको पनि उपचारकै क्रममा राति १०:५० बजे निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
सोमबार राति १०:१० बजे कैलालीमै मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-४, मोरनियामा आयुष चौधरीले चलाएको से४प ६५७९ नम्बरको मोटरसाइकलले पैदल यात्री मोरनियाका ५३ वर्षीय लक्षीराम थारुलाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते बनेका उनको पनि उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यस्तै सोमबार नै रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राति १०:४५ बजे जिल्लाको देवदह नगरपालिका-१०, भुलही गौशाला नजिक पूर्व-पश्चिम राजमार्गमा लु १६ प ५७१९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा मोटरसाइकल चालक नवलपरासीको सुनवल नगरपालिका-८ का ३६ वर्षीय सुरेन्द्र गुरुङ घाइते बनेका थिए । उपचारका क्रममा उनको लुम्बिनी सिटी अस्पताल, बुटवलमा मृत्यु भएको हो ।
प्रदेशगत तथ्यांकअनुसार हेर्दा सबैभन्दा बढी मधेस प्रदेशमा दुर्घटना भएको छ र घाइतेहरू बढी छन् । मधेस प्रदेशमा भएका दुर्घटनाहरूमा ६२ जना घाइते भएका छन् । त्यसपछि कोसी प्रदेशमा ३३ जना, लुम्बिनी प्रदेशमा २२ जना, काठमाडौं उपत्यकामा १५ जना, सुदूरपश्चिम र बागमती प्रदेशमा १०-१० जना तथा कर्णालीमा १० जना सवारी दुर्घटनामा परी घाइते भएका छन् । गण्डकी प्रदेशमा भएको दुर्घटनामा ४ जना घाइते भएका छन् ।