टीकाको दिन पनि नेपाल प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने, यी हुन् रुट र समय

दियोपोस्ट संवाददाता

काठमाडौँ । बडादसैँको दिन पनि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक सवारीसाधनको अभावमा यात्रुलाई गन्तव्यसम्म पुग्न कठिन हुन सक्ने भन्दै नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

नेपाल प्रहरीले कात्तिक ३ र ४ गतेका लागि उपत्यकाका तीन मुख्य रुटमा यो सेवा सञ्चालन गरेको हो । प्रहरीले नक्साललाई मुख्य केन्द्र मानेर रुट तय गरेको छ ।

प्रहरीका अनुसार रुट नम्बर १ ले नक्सालबाट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्ण पाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ । यसले सहरको पश्चिमी र दक्षिणी भेगलाई जोड्नेछ ।

त्यस्तै, रुट नम्बर २ ले नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्य विनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्कनेछ। यसले पूर्वी क्षेत्र र एयरपोर्ट क्षेत्रलाई समेट्नेछ ।

यसै गरी, रुट नम्बर ३ ले नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क र महाराजगंज हुँदै पुनः नक्साल फर्किनेछ ।

प्रहरीका अनुसार बडादसैँको दिन अर्थात् कात्तिक ४ गते दुई सिफ्टमा उपलब्ध हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो साँढे ३ः३० बजे बाट सुरु हुनेछ । यसले दसैँको टीका तथा भेटघाटका लागि हिँड्नेहरूलाई समयको पनि बचत गराउने अपेक्षा गरिएको छ ।

आवागमनमा सहजता ल्याउन निःशुल्क सटल बस : प्रहरी

नेपाल प्रहरीले दसैँको समयमा सार्वजनिक यातायातका साधनहरूले भाडा बढाउने वा पूर्ण क्षमतामा नचल्ने गुनासो सधैँ आउने भएकाले निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ । गत वर्षहरूकै निरन्तरताका रूपमा यस वर्ष पनि प्रहरीले यो सेवा दिएर यात्रुहरूलाई मान्यजनको हातबाट टीका थाप्न जान र आवागमनलाई सहज बनाउन प्रयास गरेको हो ।

सम्बन्धित खबर

सिफारिस