घटस्थापनादेखि कात्तिक ४ गते सम्म ८१६ सवारी चालक कारबाहीमा, मापसेमा मात्रै ७४२ जना

दियोपोस्ट संवाददाता

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि कात्तिक ४ गते अर्थात् टीकाको दिनसम्म ८१६ सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये अधिकांशले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश राज सुवेदीका अनुसार घटस्थापना अर्थात् असोज २५ गतेदेखि टीकाको दिनसम्ममा कुल ८१६ जना सवारी चालक कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेकामध्ये ७४२ जनाले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको कसुरमा कारबाही गरिएको हो । त्यसै गरी ३१ जना सवारी चालकले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ ।

त्यसै गरी सडक नियम उल्लंघन गर्ने ५५ जना सार्वजनिक सवारीसाधनका चालकलाई समेत कारबाही गरिएको छ ।

घटस्थापनापछि सबैभन्दा बढी असोज ३० गते शुक्रबारका दिन १ सय जना सवारी चालक मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् ।

घटस्थापनापछि सबैभन्दा कम असोज २७ गते मंगलबार ४७ जना सवारी चालकले मापसे सेवन गरी सवारीसाधन चलाएको पाइएको थियो ।सोही दिन ८ जनाले भने लागूपदार्थ सेवन गरी सवारीसाधन चलाएपछि कारबाहीमा परेका छन् ।
विजयादशमी अर्थात् टीकाको दिन ७९ जना सवारी चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको भेटिएको छ ।

घटस्थापनादेखि टीकाको दिनसम्म कुल ८१६ सवारी चालक कारबाहीमा पर्दा मादक पदार्थ सेवन अर्थात् मापसेमा ७४२ जना, लागूपदार्थ सेवन अर्थात् लापसेमा ३१ जना र सडक नियम उल्लंघन गर्ने सार्वजनिक सवारीसाधनका ५५ जना चालकलाई कारबाही गरिएको हो ।

सिफारिस