
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक ६ गते एकै दिन २७७ चालकलाई कारबाही गरेको छ । कार्यालयले कात्तिक ५ गते बिहानदेखि कात्तिक ६ गतेको बिहानसम्म २४ घण्टाको अवधिमा यो कारबाही गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा कुल २७७ वटा ट्राफिक नियम उल्लंघनका घटना भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार यो २४ घण्टाको अवधिमा सबैभन्दा धेरै मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेहरू कारबाहीमा परेका छन् । कात्तिक ५ गते बिहानदेखि कात्तिक ६ गते बिहान ६ बजेसम्मको अवधिमा कुल ८४ जना सवारी चालक मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको कसुरमा कारबाहीमा परेका हुन् ।

त्यसै गरी सिसिटिभी मोनिटरका आधारमा तीव्र गति, लेन अनुशासन कायम नगरेको लगायतका कसुरमा ४१ जनालाई कारबाही गरिएको छ ।
त्यसै गरी तीव्र गतिमा सवारी चलाउने ४४ जना कारबाहीमा परेका छन् ।
त्यस्तै रेड लाइटमा सडक पार गर्ने १५ सवारी चालकलाई कारबाही भएको छन् भने निषेधित क्षेत्रमा हर्न बजाउने एक सवारी चालक कारबाहीमा परेका छन् ।
सवारीसाधनको अवस्था ठिक नभई चलाएको कसुरमा ९ वटा सवारीसाधनलाई कारबाही गरिएको छ भने अन्य ८३ सवारी चालक र सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।