
काठमाडौँ । पर्साको वीरगञ्जबाट ४२ दशमलव ७२० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार वीरगञ्ज महानगरपालिका-१६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका-६ ठेगाना भएका २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका-२ ठेगाना भएका २९ वर्षीय दीपक परियार रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनसँगै दुई थान मोबाइलसमेत बरामद गरिएको छ ।
बरामद लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता जीवन निरौलाले जानकारी दिएका छन् ।