काठमाडौं । नक्कली अनुभव पत्रको आधारमा नियुक्ती लिएको भन्दै सरकारद्वारा स्पष्टिकरण समेत सोधिएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतबारे प्रेस काउन्सिल नेपालले मुद्दा विचाराधिन रहेको स्विकार गरेको छ ।
यसअघि अदालतमा मुद्दा चलिरहेको विषयमा अप्रमाणित भएको भन्दै फैसला सुनाएको काउन्सिलले अहिले फेरी दियोपोस्टलाई गरेको २४ घण्टे पत्राचारमा भने मुद्दा विचाराधिन रहेकोले उक्त विषयमा समाचार किन सेयर गरिएको भन्ने प्रश्न गरेको छ । दियोपोस्टलाई यसअघि काउन्सिलले सोधेको २४ घण्टे स्पष्टिकरणमा काउन्सिल अध्यक्ष जोडिएको समाचारमा उल्लेखित प्रमाणहरु अप्रामाणित रहेको ठहर गरेको थियो । तर, आजै अर्थात ९ गते काउन्सिलबाट प्राप्त २४ घण्टे निर्देशनमा भने अदालतमा मुद्दा विचाराधिन रहेको र समाचार सेयर गर्दा मुद्दा प्रभावित हुने आरोप लगाइएको छ ।
एकै समाचारमा प्रेस काउन्सिलले दुई वटा स्पष्टिकरण र निर्देशन दिएको संभवत नेपाली संचार माध्यमको ईतिहासमा यो नै पहिलो पटक हो । आज काउन्सिलले ३ वर्षअघि प्रकाशित यो समाचार हाल सेयर गर्दा अदालतमा विचाराधिन मुद्दा प्रभावित हुने ठहर गरेको छ । तर, यसअघि सोधिएको स्पष्टिकरणमा भने उक्त विषय अप्रमाणित भइसकेको ठहर गरिएको थियो ।