बालकृष्ण बस्नेतको किर्ते कागजात मुद्दा गिजोल्दै प्रेस काउन्सिल : फैसला नहुँदै दुई थरी पत्राचार !

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पेश गरेको अनुभव पत्रबारे प्रश्न उठेपछि तत्कालिन सरकारले २०७८ पुस १३ गते स्पष्टिकरण सोधेको थियो । तत्कालिन मुख्यसचिव बैकुण्ठ अर्यालले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफ अनुसार उनले ‘पेश गरेको जवाफ चित्त बुझ्दो नभएको, बस्नेतले नियुक्तीका लागि तोकिएको योग्यता नभएको भन्ने सम्बन्धमा योग्यतालाई प्रमाणित गर्ने प्रमाणिक कागजात पेश गर्न नसकेको, खुलाई पेश गर्न भनिएका विषयहरु स्पष्ट खुलाई पेश गर्न नसकेको’ भनि आरोप लगाएका छन् ।

यता बस्नेतले भने अदालत समक्ष आफूले विभिन्न पत्रपत्रिकामा काम गरेको, आफूलाई ४ वर्षका लागि तत्कालिन सरकारले नियुक्त गरेकाले सरकार परिवर्तन भएसँगै आफूलाई हटाउन खोजिएको भन्दै प्रतिवाद गरेका थिए । यो मुद्दा अहिले विचाराधिन छ ।

पत्रकार आचारसंहिता अनुसार विचाराधिन मुद्दालाई प्रभावमा पार्ने कार्य कसैले पनि गर्नुहुँदैन । तर, पत्रकार आचारसंहिता पालना गराउने प्रेस काउन्सिल नेपालले नै अदालतमा विचाराधिन यो मुद्दालाई गिजोल्ने र अन्तिम फैसला सुनाउने सम्मको कार्य गर्न थालेको छ ।

 

 

२०८१ मंसिर ३ गते दियोपोस्ट डटकमलाई सोधिएको २४ घण्टे स्पष्टिकरणमा काउन्सिल अध्यक्ष जोडिएको र किर्ते कागजात पेश गरेको भनिएको समाचारलाई अप्रमाणित सामग्री ठहर गरिएको छ । त्यतिमात्रै होइन बस्नेतको तर्फबाट अदालतमा बहस गर्ने अधिवक्ता अनन्त लुइँटेलले पनि दियोपोस्टको समाचारमा कमेन्ट गर्दै अदालतमा विचाराधिन यो मुद्दामा अन्तिम टुंगो लागि अप्रमाणित भएको र समाचार झूटो भएको समेत ठहर गरेका थिए ।

तर, आज २०८१ मंसिर ९ गते दियोपोस्ट डटकमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालले दिएको २४ घण्टे निर्देशनमा भने उक्त मुद्दा विचाराधिन रहेकाले अदालतलाई प्रभाव पार्न सक्ने दाबी गरिएको छ । ३ वर्षअघि प्रकाशित समाचारलाई सामाजिक सञ्जालमा सुनुवाई गर्दा विचाराधिन मुद्दाको स्वच्छ सुनुवाई प्रक्रियामा प्रतिकुल असर पार्ने किसिमबाट सेयर भएको र अनुगमनमा समेत देखिएको ठहर गरिएको छ ।

जबकी दियोपोस्टले उक्त समाचार अदालतमा मुद्दा पर्नुभन्दा ६ महिना अघि नै प्रकाशित गरेको हो । उक्त समाचार सामाजिक सञ्जालमा शुरुमा सेयर गर्दा अप्रमाणित भइसकेको ठहर गरेको काउन्सिलले दियोपोस्टलाई कालोसुचीमा राख्ने उद्देश्यले नै अहिले भने अदालतमा विचाराधिन रहेको भनि अर्को आक्षप लगाएको छ ।