नेपाली कांग्रेसका ५७ सांसद प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा, पुरक निवेदनमा हस्ताक्षर

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा थप बल पुर्‍याउने उद्देश्यले कांग्रेसका ५७ जना सांसदहरूले हस्ताक्षर गरी पुरक निवेदन पेश गर्ने तयारी गरेका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा विचाराधीन रिटमा तत्कालीन प्रतिनिधिसभाका बहुमत सांसदहरूको स्पष्ट धारणा प्रस्तुत गर्न पुरक निवेदनका लागि कांग्रेसका संघीय संसद्का ५७ सांसदहरूले हस्ताक्षर गरेका हुन् ।

प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संविधानको मर्मविपरीत रहेको भन्दै उनीहरूले प्रतिनिधिसभा पुनःस्थापनामार्फत संविधान, लोकतन्त्र र जनताको सार्वभौमिकताको रक्षा हुने बताएका छन् ।

पुरक निवेदनमा हस्ताक्षर गर्ने सांसदहरूले संसद्‌भित्र बहुमत कायम रहँदा पनि प्रतिनिधिसभा विघटन गरिनु गम्भीर संवैधानिक विचलन भएको उल्लेख गरेका छन् ।

साथै, संसद पुनःस्थापना गरेर संविधानअनुसार सरकार गठनको प्रक्रिया अघि बढाइनु नै मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लैजाने एकमात्र विकल्प भएको उनीहरूको निष्कर्ष छ ।

नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा विघटनको विरोधमा प्रारम्भदेखि नै स्पष्ट मत रहँदै आएको छ । पार्टी नेतृत्वले पनि संसद विघटनविरुद्ध कानुनी र राजनीतिक दुवै तहबाट संघर्ष गर्ने निर्णय गरिसकेको छ ।

यसै सन्दर्भमा सांसदहरूको हस्ताक्षरसहितको पुरक निवेदनलाई कांग्रेसको संस्थागत धारणा अनुरूपको कदमका रूपमा हेरिएको छ ।