संस्कृत माविमा पौष प्रसादको भ्रष्टाचारकाण्ड : विद्यालयको जग्गा आफ्नै नाममा राखेर बैंकबाट लाखौँ झ्वाम !

संस्कृत माविमा पौष प्रसादको भ्रष्टाचारकाण्ड : विद्यालयको जग्गा आफ्नै नाममा राखेर बैंकबाट लाखौँ झ्वाम !

दियोपोस्ट संवाददाता


धादिङ, १५ मंसिर । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर २ मैदीमा रहेको संस्कृत तथा साधारण माविका तत्कालिन प्रधानध्यापक पौष प्रसाद तिवारीले विद्यालयको जग्गा आफ्नो नाममा पास गरी बैंकबाट ऋण निकालेको खुलाशा भएको छ ।


हाल संस्कृत मावीमै शिक्षकको रुपमा कार्यरत तिवारीले २०६७ साल पौष १३ गते विद्यालयका लागि खरिद गरिएको कित्ता नम्बर ९९३ को जग्गाधनी सोम कुमारी ‘ठूलीकान्छी’ गन्द्रमालाई झुक्यानमा पारि आफ्नै नाममा राजिनामा पास गरेको जिल्ला स्थित मालपोत कार्यालयको रेकर्डमा देखिन्छ ।

ज्वालामुखि गाउँपालीका २ गैरीगाउँका स्थायी बासिन्दा समेत रहेका तिवारीले विद्यालयको नाममा आउनुपर्ने कुल क्षेत्रफल (१ रोपनी १४ आना ३ पैसा) जग्गा तत्कालिन आफ्नै नाममा राजिनामा पास गरी सो जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखेर ऋण समेत निकालेका छन् ।

तिवारीले बैंकबाट ऋण निकालेको जग्गामा बनेको विद्यालयको २ वटा भवन


उक्त जग्गामा हाल संस्कृत तथा साधारण माविको २ वटा भवन रहेका छन् । विद्यालय स्रोतका अनुसार उक्त भवन रुम टु रिड र जाइका नामक संस्थाले निर्माण गरिदिएको छ । तिवारीले भवनसहितको जग्गा बैंक तथा वित्तिय संस्थामा राखेका छन् ।


सोही भवन रहेको जग्गालाई साना किशान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड र ज्वालामुखि २ मा कार्यालय रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा धितो राखी पटक – पटक ऋण लिएको पाइएको छ ।


दियोपोस्टले फेला पारेको प्रमाण अनुसार तिवारीले केही वर्षअघि साना किसान कृषि सहकारीबाट ५ लाख रुपैयाँ ऋण निकालेका थिए । त्यस्तै मैदीमै रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले भने विद्यालयकै जग्गा धितोमा राखेर ३ लाख रुपैयाँ ऋण दिएको प्रमाणमा देखिन्छ ।


तिवारीले आफू प्रधानाध्यापक हुँदा विद्यालयमा रहेको बैंक मुद्दती खाताबाट रु ४ लाख, अक्षय कोषबाट रु १ लाख, विद्यालय आन्तरिक कोष तथा विद्यालयको चल्ती खाताबाट रु. पौने २ लाख समेत गरी जम्मा ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको संस्कृत तथा साधारण उमाविको लेखा परिक्षण प्रतिवेदनमै उल्लेख छ ।


तिवारीले विद्यालयमा आफू प्रअमा कार्यरत रहँदा गरेको भ्रष्टाचारबाटै धादिङवेशी स्थित बजार क्षेत्र भित्र भब्य महल समेत खरिद गरेका छन् ।


अख्तियारले माग्यो कागजपत्र


तिवारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाले विभिन्न निकाय मार्फत कागजात माग गरेको छ । स्रोतका अनुसार धादिङको ज्वालामुखि गाउँपालिका कार्यालय मार्फत केहि दिनअघि मैदीमा रहेको साना किसान सहकारी र स्वस्तिक सहकारीबाट कागजात जफत गरेको छ ।

के भन्छन् तिवारी ?

तिवारी भने नवराज मल्ल ठकुरीले ३५ हजार रुपैयाँमा विद्यालयका लागि भनेर किनिदिएको १ रोपनी ७ आना जग्गा विभिन्न कारणले आफ्नो नाममा पास गरेको बताउँछन् । व्यक्तिको नाममा रहेको जग्गा सरकारीकरण गर्न विभिन्न बाधा रहेकोले आफू प्रधानाध्यापक हुँदा त्यो जग्गा आफ्नो नाममा गरिएको उनी स्वीकार्छन् । उनले यो जग्गा सहकारीमा राखेर ऋण निकालेको भन्ने कुरा चाँही झुट रहेको बताए ।

भ्रष्टाचार अभियोगमा छानबीनमा तानिएका पौष प्रसाद तिवारी


‘सहकारीमा कारोबार त भैहाल्छ नै, मैले मेरो आफ्नै अरु जग्गा राखेर ऋण निकालेको हुँ’, तिवारी भन्छन्,–‘यो सरासर झुट हो मबाट यस्तो काम भएको छैन, केही व्यक्तिले पूर्वाग्रह राखेर मलाई फसाउन खोजिएको हो ।’


तिवारीले नवराज मल्लले ३५ हजार रुपैयाँमा विद्यालयका लागि जग्गा किनिदिएको बताएपनि कागजातले भने अर्कैको परिचय खुलाउँछ । उनले १ रोपनी ७ आना जग्गा बताएपनि लालपुर्जामा भने १ रोपनी १४ आना ३ पैसा देखिएको छ ।

उनको भनाई र दियोपोष्टलाई प्राप्त प्रमाण बाझिएको छ । यसले थप संका उत्पन्न गरेको छ । तिवारीले सहकारीमा राखेको कित्ता नम्बरको जग्गा र विद्यालयको नाममा हुनुपर्ने लालपुर्जाको कित्ता नम्बर मेल खान्छ । तर, उनले भने मिडियासँग झूट बोलेका छन् ।

Trending News