‘वाद’ बिनाको राजावादी आन्दोलन ‘टाई टाई फिस’!

रीता बुढाथोकी  

काठमाडाैँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्धिमा फर्काउने भन्दै विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजधानी काठमाडौंमा आइतबार निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंङदेनको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले नै निषेधित क्षेत्र तोड्ने निर्णय गरेपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

संसद भवन, सिंहदरबार, बालुवाटार र शितल निवासमा व्यापक सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो । जस्तोसुकै आन्दोलनमा पनि खुला रहने सिंहदरबार परिसर बाहिरको बाटो समेत आइतबारको प्रदर्शन हिंसात्मक हुनसक्ने आंकलन गरि बन्द गरिएको थियो ।

गत चैत्र १५ गते तिनकुनेमा राप्रपासहितको समर्थनमा भएको हिंसात्मक घटनाले त्रसित बनेको सरकारले सुरक्षा व्यवस्था निकै कडा गरेको थियो । उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरिक्षक (एआइजी) टेक बहादुर तामाङले त सार्वजनिक संचार माध्यमबाटै निषेधित क्षेत्र तोडे प्रहरीले बलप्रयोग गर्ने चेतावनी नै दिएका थिए । तर, आइतबार राप्रपा नेतृत्वमा भएको प्रदर्शन न हिंसात्मक बन्न पुग्यो न त प्रभावकारी नै ।

देशभित्र भएको चरम निराशामाथि खेलेर आफ्नो राजनीतिक अभिष्ठ पुरा गर्न सकिन्छ कि भनेर धमिलो पानीमा माछा मार्ने प्रयत्नमा रहेको राजावादी समर्थक दल राप्रपाप्रति राजधानी काठमाडौंमा खासै जनसमर्थन देखिएन । किनकि राप्रपाले आह्वान गरेजस्तो जनता सडकमा आएनन् । अर्थात राप्रपाकै समर्थकले समेत पार्टको आह्वानलाई मौन विरोध जनाइदिए ।

काठमाडौं उपत्यकामा अन्य जिल्लाको तुलनामा राप्रपाको समर्थक बढी छन् । किनकी पञ्चायतकालदेखि सत्तामा रहेकाहरुको बाहुल्यता काठमाडौं उपत्यकामा छ । तर, आधारभूत वर्गले राप्रपालाई चिन्दैन । सम्भ्रान्त वर्ग सडकमा आएरै प्रतिरोधमा उत्रने सामर्थ्य राख्दैन । त्यसैले पनि राप्रपाको आन्दोलन ‘टाई टाई फिस’ भएको छ भन्दा फरक नपर्ला ।

नेपालमा दुई सय चालिस वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रको प्रतिनिधि ज्ञानेन्द्र शाहले ७२ औँ ‘प्रजातन्त्र दिवस’को अवसरमा पोखराबाट भिडियो सन्देश सार्वजनिक गर्दै ‘अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पूर्याई रहेको छ?’ भन्दै गणतन्त्रप्रति कटाक्ष गरेका थिए । त्यति मात्र होइन, उनले नजानिदोँ शैलीमा आफु सत्तामा आउन चाहेको मनशाय समेत व्यक्त गरेका थिए ।

दुई सय चालिस वर्षसम्म शासन गर्दा समेत कुनै ‘विचार वा वाद’को विकास गर्न नसके पनि नेपालमा राजावादीको नाममा राजनीति भने चलिरहेको छ । विचारको हिसाबले कुनै पनि ‘वाद’ आविस्कार नै नभएपनि संसदमा राजावादी हुँ भन्दै कुर्लनेहरुको प्रतिनिधित्व राप्रपाले गरिरहेको छ ।

गत फागुन १५ गते ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भिडबाट हौँसिएर राजा फर्कााएर छाड्ने भन्दै राप्रपाले निरन्तर शक्ति प्रदर्शन तथा आन्दोलन गरिरहेको छ ।

केही समयदेखि पोखरामा बस्दै आएका ज्ञानेन्द्र शाह २०८१ फागुन २५ गते काठमाडौँ फर्किँदै थिए । त्यही छेको पारेर राजावादी भनिने दल र उनका समर्थकहरुले काठमाडौँमा बृहद शक्ति प्रदर्शनको तयारी गरे । सो दिन ज्ञानेन्द्र शाहलाई त्रिभुवन बिमानस्थलमा स्वागत गर्न राजावादीहरु बिमानस्थल वरीपरी जम्मा भएका थिए ।
विमानस्थलमा पूर्वराजालाई स्वागत गरेर त्यहीँबाट नारावाजीसहित निर्मल निवास पुर्याउन मोटरसाइकल ¥याली आयोजना गरिएको थियो । ‘राजा आउ देश बचाउ’को नारासहित राजावादीको उपस्थिति बाक्लो देख्न सकिन्थ्यो । ज्ञानेन्द्र शाहको स्वागतमा लाखौँको संख्यामा उपस्थिति रहेको भनि उनका समर्थकहरुले दाबी गरेका थिए । यद्यपी, अन्तराष्ट्रिय संचारमाध्यमहरुले मनोमानी तथ्यांक प्रस्तुत गरेपनि मूलधारका नेपाली संचारमाध्यमले कुनै स्थान दिएका थिएनन् ।

ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रम भनिएता पनि जुलुसको बीचमा उत्तर प्रदेश, भारतका मुख्य मन्त्री आदित्यनाथको तस्वीरमा ‘राजसंस्था पुनस्र्थापना गरौं’ भनेर लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा आदित्यनाथको तस्बिरको निकै आलोचना समेत भयो । ‘भारतीय नेताको तस्वीर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको’ भनी सामाजिक सन्जालमा प्रशस्तै प्रतिक्रिया समेत आएका थिए ।

त्यतिमात्रै होइन, पूर्व राजा ज्ञानेन्द्र र राजावादी संघ–संगठनहरु भारतबाटै परिचालित भएको अड्कल काट्नेहरु पनि धेरै थिए । त्यसो त, ज्ञानेन्द्र शाहले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेको र भेटमा आफु सत्तामा आउन चाहेको भन्दै याचना गरेका थिए । जे होस, फागुन २५ गतेको प्रदर्शन देखेर ज्ञानेन्द्र शाह निकै हौसिएका थिए ।

चैत्र १५ ले देखाएको ज्ञानेन्द्र शाहको अनुहार
२०५८ सालमा भएको दरबार हत्याकाण्डपछि शासनमा आएका ज्ञानेन्द्र शाहले पटक–पटक विवादित र असक्षम व्यक्तिहरुलाई सरकारको जिम्मा लगाएका थिए । उनले छानेकै मन्त्री र सेनापतिबाट तत्कालिन माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धमा सबैभन्दा धेरै नागरिकको मृत्यु भएको तथ्यांक छ ।

हाल राजसंस्था पुनस्थापनाका लागि बनेको संघर्ष समितिका संयोजक समेत रहेका नवराज सुवेदीकै पुस्तकहरुमा ज्ञानेन्द्र शाहलाई भूमिगत धन्दा चलाउने गिरोह किटान गरिएको छ । आफू मन्त्री हुँदा ‘ओमेगा’ घडि कम्पनिको ५० प्रतिशत सेयर मागेको उनै सुवेदीले पुस्तक लेखेका छन् । शाहको धन्दा सार्वजनिक गर्ने सुवेदी नै यो आन्दोलनको संयोजक तोकिएका थिए ।

त्यस्तै, विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाई जनकमाण्डर घोषित भए । उनै जनकमाण्डरको नेतृत्वमा काठमाडौंमा गत चैत्र १५ गते विशाल जनप्रदर्शन आयोजना गरिएको थियो । चैत्र १५ मा प्रदर्शन हुनुअघि प्रबुद्ध समुहको नाममा राजावादीहरुको भेलाले बक्तव्य नै निकालिएको थियो । बक्तव्य निकाल्नेहरु मध्ये एक पूर्वप्रहरी अधिकारीले त चैत्र १५ मा गणतन्त्र विरुद्ध प्रदर्शन उग्र हुने र प्रदर्शनकारीले नेपालमा बंगलादेशमा जस्तै ‘सिंहदरबार’ र ‘बालुवाटार’ कब्जा गरेपछि बन्ने अन्तरिम सरकारको गृहमन्त्री मै हुँ भन्दै हिँडेका थिए ।

तर, विडम्बना उनले सोचे जस्तो त्यो दिन न भिड आयो । न त आन्दोलनकारीले सिंहदरबार कब्जा गर्न सके । जनकमाण्डर घोषित दुर्गा प्रसाइँले ‘आओ आओ’ भनि कराउँदै गाडी मार्फत प्रहरीलाई नै किच्ने दुष्प्रयास गर्दा समेत प्रहरीले भने संयमता अपनायो ।

तीनकुने घटनामा आन्दोलनकारीले तिनकुनेस्थित एक घरमा पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरे । प्रहरीको गोलीबाट सविन महर्जनको मृत्यु भयो । प्रदर्शनकारीले कान्तिपुरसहितका मूलधारका संचार माध्यममा आगो लगाउने कोशिस गरे । एपिवानमा त आगो झोसियो । भाटभटेनीमा लुटपाट मच्चाए । देशको एक मात्रै जडिबुटीबाट औषधी उत्पादन गर्ने सरकारी उद्योग जलाए । सयौँको संख्यामा गाडी जलाए । सो दिन तीनकुने, कोटेश्वर, सिनामङ्गल र एअरपार्ट क्षेत्र अस्त ब्यस्त बनेको थियो ।

यो घटनापछि नेपाली सेना सडकमा निस्कियो । राजावादीको आन्दोलनलाई सेनाले लुटपाट भएको भन्दै नियन्त्रणका लागि आफू सडकमा आएको वक्तव्य निकाल्यो ।

भोलीपल्ट काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई पत्रचार गरिदियो । त्यही दिन समाजवादी मोर्चाले गरेको आन्दोलन भने केही ओझेलमा पर्यो । शान्तिपूर्ण रुपमा हजारौँको संख्यामा प्रदर्शन भएको समाजवादी मोर्चाको सभा तिनकुनेको हिंसात्मक घटनाले ओझेलमा पारिदिएको थियो ।

तीनकुने घटनाले तीनवटा सन्देश दियो ।

पहिलो : २०६३ पछि जन्मिएको ‘जेन जि’ पुस्ताले राजावाद भनेको ज्युँदो पत्रकार जलाउनु, लुटपाट गर्नु र हिंसा भड्काउनु रहेछ भन्ने थाहा पाए ।
दोस्रो : सेनाले राजावादीको आन्दोलनलाई लुटपाटको रुपमा करार गरि सडकमा निस्कियो र गणतन्त्रप्रति प्रतिवद्ध रहेको सन्देश दियो ।
तेस्रो : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीका सहायक निरिक्षक (सई)को हस्ताक्षरमा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेर पत्राचार गराए, जसले गणतन्त्रमा पूर्वराजा नै हुँ भन्नेलाई पनि अपराध गरेको खण्डमा उन्मुक्ति हुँदैन भन्ने सन्देश दियो । बालेन शाहको पक्षधरता खुल्यो ।

बल्खुको सभापछि राजाबादीको घट्दो ओझ
फागुन २५ मा पूर्वराजाको स्वागत, चैत्र १५ मा तिनकुने प्रदर्शन हुँदैसम्म आइपुग्दा राजावादीहरुको उपस्थित न्यून हुँदै गएको थियो । राप्रपा र राजावादीहरुले चैत्र २६ मा बल्खुमा सभा आयोजना गरे । यद्धपी त्यो दिन राप्रपाले शान्तिपूर्ण तरिकाले सरकारमाथि तिखो टिप्पणी गरेको थियो । तिनकुनेमा भएको हिंसात्मक घटनामा दुर्गा प्रसाइँ संलग्न भए कारबही गर्न अध्यक्ष राजेन्द्र लिङ्देनले माग गरेका थिए ।

सरकारले गरेको गलत क्रियाकलापको आलोचना गरेका थिए । तर, त्यो दिन सम्हालिए जस्तै ७ वैशाखका प्रदर्शन पनि निषेधित क्षेत्र नतोड्ने र शान्तिपूर्ण खबरदारी गरेको भए राप्रपाको ओझ घट्दैन थियो । तर, त्यस्तो हुन सकेन । बल्खुको सभाले हौँसिएको राप्रपा ७ वैशाखको प्रदर्शनले भने थप खुम्चिएको छ । सायद आइतबारको प्रदर्शनले राप्रपाको भविष्य समेत संकटमा पर्ने देखिन्छ ।

 

prabhu bank Add

ट्रेन्डिङ