काठमाडौँ । प्रगति माबि बुटबलकी अनिशा तामाङ्ग केहिदिन यता दिनभरि खेलेर समय बिताउँछिन् । बिद्यालय बन्द छ ! घरमै पढ्नका लागि किताब छैन ! बिद्यालय खुल्ने टुङ्गो छैन ! त्यसैले पनि दिनभरि आफ्ना साथीसंग खेलेर समय बिताउनु उनको वाध्यता जस्तै बनेको छ ।
उनी मात्रै होइन यतिबेला देशभरका सरकारी तथा सामुदायिक बिद्यालयका बालबालिकाको अवस्था अनिशाको भन्दा फरक छैन । कारण हो, काठमाडौँमा केन्द्रित शिक्षकहरुको आन्दोलन !
विद्यालय ‘शिक्षा ऐन’ जारी गर्न माग राख्दै शिक्षकहरु करिब एक महिनायता काठमाडौँको सडकमा आन्दोलनरत छन् । बिद्यालयको पठनपाठन ठप्प पारेर शिक्षकहरु आन्दोलनमा उत्रिएका कारण बिद्यालय बन्द भए पछि बालबालिकाहरुको भविष्य अन्यौलमा परेको छ ।
बैशाखको पहिलो हप्ताभित्र देशभरका सबै नीजि बिद्यालय खुलिसकेका छन् । ति बिद्यालयमा पठनपाठन सुरु भई पाठ्यक्रम समेत अगाडी बढीसकेको छ । तर, सरकारी तथा सामुदायिक बिद्यालय भने समयमै खुल्न नसक्दा आफ्ना बालबालिकाको पढाईमा समस्या आउन सक्ने भन्दै अविभावकहरु चिन्तामा छन् ।
‘बिद्यालय खुल्ने निश्चित छैन । नानी बाबुहरु घरमै खेलेर समय बिताउँछन् । पैसा हुनेले शहरका महङ्गा स्कुलमा पढाएका छन् । हामीसंग पैसा पनि छैैन । त्यसैले पनि सरकारी स्कुलको बाटो हेरेर बस्नु परेको छ । आखिर, दुख पाउने हामी जस्ता गरिबले नै रहेछ ।’ प्रगतिनगरका राजु क्षेत्री (नाम परिवर्तन)ले दियो पोष्टलाई बताए ।
त्यसो त, देशभरिका सरकारी तथा सामुदायिक बिद्यालयका करिब ५५ लाख बिद्यार्थीको भबिष्य समेत अन्यौलमा परेको प्रति सरकार उदासिन देखिन्छ । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको माग आगामी अधिवेशनबाट पुरा गर्ने भन्दै सरकारले मौखिक बचन दिएको थियो । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरु विश्वस्त छैनन । त्यसैले पनि शिक्षकहरुले आन्दोलन छोडेका छैनन् ।
सरकारले तत्काल ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने भन्दै शिक्षकहरूको आन्दोलन चलिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिइसकेकी छन् । यसले शिक्षक आन्दोलनको भविष्य झनै अन्योलपूर्ण बनाएको छ ।
शिक्षकहरूले मंगलबार पनि काठमाडौंको माईतीघर–बानेश्वर सडकखण्डमा नाच्दै–गाउँदै प्रदर्शन गरेका छन् । यता शिक्षकहरू भने विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन् ।
सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ । शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबार भने एक जना अभिभावकलाई कुटपिट गरेका थिए । आन्दोलनको स्वरुप परिवर्तन गर्न माग गरेका अभिभावकमाथि शिक्षकहरू खनिएका थिए ।
शिक्षकहरूलाई विद्यालय फर्काउन भन्दै अभिभावकहरूले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण समेत गराइसकेका छन् ।