
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार विशेष अदालतले गोल्छासँग एक करोड धरौटी लिई तारेखमा राख्न आदेश दिएको हो ।
हिमालयन रि-इन्सुरेन्स कम्पनीको रकम दुरुपयोग गरी सेयरको मूल्यमा उतारचढाव ल्याउन र सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले ५२ करोड ५० लाख रुपैयाँ व्यक्तिगतरुपमा समेत दीपक भट्टलाई चलाउन दिएको कसुरमा उनीमाथि विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
मंगलबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग १ करोड रुपैयाँ धरौटी माग गरेको हो ।
शेखर गोल्छा लगायतका व्यक्तिहरुविरुद्ध बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०५९ अन्तरगत काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा चलिरहेको छ ।
मुख्यतः हिमालय रि-इन्सुरेन्स लिमिटेडको २ अर्ब ७३ करोड रुपैयाँ गैर कानुनी रूपमा विवादित व्यवसायी दीपक भट्टलाई चलाउन दिएको र नेपाल रि -इन्सुरेन्स कम्पनीको शेयर खरिद गरी मूल्य बढाइएको भन्दै यसलाई सम्पत्ति शुद्धीकरणको कसुर मानी मुद्दा चलाइएको थियो ।
सोही प्रकरणमा व्यवसायी शेखर गोल्छाले समेत ५२ करोड ५० लाख रुपैयाँ ब्रोकर नम्बर ५५ मा दीपक भट्टले चलाउने गरी दिएकामा सो कार्यलाई सम्पत्ति शुद्धीकरण गर्ने प्रयास मानी मुद्दा दायर भएको थियो ।
तर प्रतिवादी शेखर गोल्छाले शेयर खरिद गर्ने भनी रकम पठाएको भए पनि बजार अनुकूल नभएको कारण शेयर खरिद नगरेको, दीपक भट्टसँग कुनै साझेदारी नरहेको हिमालयन रि-इन्सुरेन्स कम्पनीमा अध्यक्ष रहँदा कार्यकारी भूमिकामा नभएको भन्दै आफूले अभियोग दाबीबाट सफाइ पाउनुपर्ने भनी बयान गरेका थिए ।
विशेष अदालतले प्राप्त तथ्य र प्रमाणका आधारमा अहिले नै निर्दोष हुन् भनी मान्न सकिने अवस्थामा नदेखेको भन्दै गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो ।