सेवाग्राहीसँग आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

दियोपोस्ट संवाददाता

काठमाडौँ । सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।

निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जमा कार्यरत जवानटोप बहादुर खड्का रहेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले २०८३ मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो मंसिर १० गते फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त भिडियोमा संलग्न दुवै प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) अनुसार मंसिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको समेत कार्यालयले जनाएको छ ।

×