
काठमाडौँ । सर्लाहीमा अर्कै व्यक्तिको नाममा रहेको जग्गा नक्कली कागजात तयार गरी अनधिकृत रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायव सुब्बा टुकराम कोइराला, तत्कालीन खरिदार राजेशकुमार, ईश्वरपुर नगरपालिका-१५ का तत्कालीन वडा सचिव राम गुलाम राय, तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी तथा जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्तिका लागि सिफारिस तथा निवेदन दिने भोसा धामी थारूविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार साविक सोकनाहा गाविस वडा नं.२ (ख) अन्तर्गत कित्ता नं.६२ को ०-११-२ जग्गा मालपोत कार्यालयका कर्मचारी र भू-माफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्ने उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा उक्त जग्गा दर्ता गर्ने प्रयोजनका लागि हुँदै नभएको तथ्य खडा गरी रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई किशोरी धामी थारू र भोसा धामी थारूको नाममा रहेको भनी कार्यालयको अभिलेख सच्याइएको पाइएको अख्तियारले जनाएको छ ।
जग्गामा कुनै समय हकभोग नै नभएका व्यक्तिको नाममा हक कायम रहेको देखाई स्रेस्ता तथा पुर्जा तयार गरी जग्गाको स्वामित्व अर्कैको नाममा कायम गरिएको अख्तियारको दाबी छ ।
अख्तियारले प्रतिवादीहरूले आपसी मिलेमतोमा गैरकानुनी लाभ लिने र वास्तविक जग्गाधनीलाई हानि पुर्याउने बदनियतले तथ्य लुकाई हुँदै नभएको जग्गाधनी खडा गरेको आरोप लगाएको छ । साथै, गलत व्यक्तिको नाममा जग्गा दर्ता गरी सरकारी कागजात अनधिकृत रूपमा हेरफेर तथा थपघट गरेको दाबी गर्दै उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।