
काठमाडौँ । स्रोत नखुलेको ५० लाख रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रा सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार (मंसिर ९) बुधबार दिउँसो करिब १ बजे काठमाडौँ महानगरपालिका-१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोतको रकम लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चेकजाँच गर्दा ५० लाख ५० हजार रुपैयाँ नेपाली, ४ हजार २१५ दशमलव ०९ ओमान रियाल र ५५ अरब दिरामसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन् ।
बरामद रकम तथा विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।